नेपालमा आयात बढेर व्यापारघाटा चुलिँदै जाँदा राष्ट्रिय चिन्ताको विषय बन्दै आएको छ तर चालू आर्थिक वर्ष (आव)को पुसमा तीन महीनायताकै न्यून आयात भएको छ । बैंकहरूको उच्च ब्याजदर, आयात निरुत्साहन गर्ने सरकारी नीति तथा आर्थिक गतिविधिमा कमी आउँदा आयात घटेको प्रारम्भिक विश्लेषण गरिएको छ । आयात घट्नु वा निर्यात बढ्नुमा आन्तरिक उत्पादनले जबसम्म भूमिका निर्वाह गर्दैन तबसम्म यस्ता क्षणिक तथ्यांकलाई लिएर उपलब्धि मान्नुको अर्थ देखिँदैन ।
उत्पादन बढाएर, उपभोग घटाएर जसरी भए पनि आयात घटाउनु एउटा सफलता होला तर आयात घट्दैमा अर्थतन्त्र सही दिशामा उन्मुख छ भन्ने हुँदैन ।
भन्सार विभागका अनुसार पुसमा नेपालले १ खर्ब २७ अर्ब ९१ करोड रुपैयाँ बराबरको सामान आयात गरेको छ । यो मङ्सिरको तुलनामा ४ अर्ब १४ करोडले कमी हो । त्यस्तै मङ्सिरको दाँजोमा पुसमा निर्यात बढेको देखिन्छ । मङ्सिरमा नेपालबाट १२ अर्ब ५३ करोड रुपैयाँ बराबरको निर्यात भएकामा पुस महीनामा बढेर १३ अर्ब ५० करोडको सामान निर्यात भएको छ । पुस महीनाको आँकडा हेर्दा आयात घट्नु र निर्यात बढ्नु सकारात्मक मान्नुपर्ने हुन्छ तर मुलुकमा उत्पादन बढेर आयात घटेको नहुँदा यो क्षणिक आँकडाको खासै अर्थ रहँदैन । बरु यसले अर्थतन्त्र सही दिशामा छैन कि भन्ने आशंकालाई मलजल गरेको छ ।
आयात बढ्दा व्यापारघाटा बढ्ने भएकाले सरकारको टाउको दुखाइ भएको हो । तर, आयात बढ्न पनि मुलुकभित्र उपभोग क्षमता बढ्नु आवश्यक हुन्छ । त्यस्तै सबै आयात खराब पनि हुँदैनन् । औद्योगिक कच्चा पदार्थको आयातले उत्पादन बढाउन सहयोग गर्छ जसले आयात प्रतिस्थापनमा मद्दत गर्छ । मुलुकभित्र रोजगारी सृजना गर्ने भएकाले उद्योगहरूका लागि आवश्यक सामान आयात हुनु राम्रो हो । त्यस्तै कृषिक्षेत्र र पूर्वाधार निर्माणका क्षेत्रमा हुने आयातले पनि मुलुकको अर्थतन्त्रलाई सकारात्मक नै बनाउँछ । अहिले घटेको आयात दैनिक उपभोग्य र केही मात्रामा औद्योगिक कच्चा पदार्थको पनि हो । साथै मङ्सिर/पुस महीना पूर्वाधार निर्माण हुने समय मानिन्छ तर अहिले पूर्वाधार निर्माणले गति लिएको छैन । पूँजीगत खर्च निकै कम रहेको छ । त्यसैले पनि आयात घटेको हुन सक्छ ।
आयात घटाउन सरकारले लिएको कडाइको नीतिको परिणामले पनि यस्तो तथ्यांक आएको हो । सवारीसाधन आयातमा प्रतिबन्ध लगाएकाले आयातको आँकडा घटेको हो । भन्सार विभागको विवरण हेर्ने हो भने उपभोग्य वस्तुकै आयात पनि घटेको छ । पेट्रोल डिजेलदेखि केही खाद्य वस्तुको समेत आयात घटेको पाइन्छ । मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने विप्रेषण आप्रवाह बढेको छ जसको ठूलो अंश उपभोगमा नै खर्च हुन्छ । तर, विप्रेषण रकम बढी भित्रिए पनि उपभोग्य वस्तुको आयात कम हुनुको अर्थ के हो स्पष्ट छैन । उपभोग घटाएर त्यो रकम बचतमा गएको पाइँदैन ।
मुलुकभित्रका धेरै आर्थिक गतिविधि सुस्त बनेका छन् । ब्याजदरसमेत उच्च रहेको समयमा बचत नहुँदा पैसा कहाँ गइरहेको छ भन्ने उत्तरको खोजी सरकारले गर्नैपर्छ । आवधिक निर्वाचनमा अवैध रकम चुनावमा परिचालित हुन्छ र त्यो रकम बिस्तारै बैंकिङ प्रणालीमा आउँछ भन्ने विश्लेषण पनि खेर गएको देखिन्छ । जेहोस्, आयात थोरै घटेको छ जुन सकारात्मक नै भन्नुपर्छ । उत्पादन बढाएर, उपभोग घटाएर जसरी भए पनि आयात घटाउनु एउटा सफलता होला तर आयात घट्दैमा अर्थतन्त्र सही दिशामा उन्मुख छ भन्ने हुँदैन । त्यसले अर्थतन्त्रमा कुनै अर्कै रोग छ कि भन्ने नै संकेत गर्छ । त्यसैले अर्थतन्त्रमा देखिएको दीर्घकालीन रोगको पहिचान गरी त्यसमा गम्भीर सुधार गर्नुको विकल्प देखिँदैन ।