भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८०/८१ को असोज मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांकले आयात सोही अवधिमा गत आर्थिक वर्ष (आव) को तुलनामा १ दशमलव ६९ प्रतिशतले बढेको देखाएको छ । गत आवमा सरकारले विलासिताका वस्तुमा लगाएको प्रतिबन्धका कारण केही वस्तुको आयात संकुचित भएको थियो । तर, चालू आवमा भने त्यस्तो प्रतिबन्ध हटेकाले आयात बढेको देखिन्छ । असोज महीनामा आयात बढ्नुको अर्थ वस्तुको उपभोग र माग बढ्नु हो भन्ने देखिन्छ । औद्योगिक कच्चा पदार्थको आयात बढेको छ भने त्यसले आन्तरिक अर्थतन्त्र बलियो हुन थालेको संकेत गर्छ । तर, तयारी वस्तुको आयातले भने राजस्व बढाई सरकारलाई राहत दिए पनि अर्थतन्त्रमा भने त्यसले खासै अर्थ राख्दैन । अहिलेको आयातको प्रवृत्ति हेर्दा केही औद्योगिक वस्तुको आयात बढेको छ र उपभोग्य वस्तुको आयात पनि बढेको छ । त्यसैले आन्तरिक अर्थतन्त्रमा केही आशावादी हुने ठाउँ देखिए पनि अहिले प्राप्त तथ्यांककै आधारमा अर्थतन्त्र लयमा फर्कने संकेत गरेको छ चाहिँ भन्न सकिँदैन ।
आयातमा सबैभन्दा ठूलो अंश खनिज तेलकै रहेको छ । तर, यसको आयात भने गत आवको सोही महीनाको तुलनामा केही घटेको देखिन्छ । यसो हुनुको कारण बिजुली प्रयोग बढ्नु हो भन्ने देखिन्छ । यसलाई सकारात्मक मान्नुपर्छ । त्यस्तै चालू आवको भदौ मसान्तसम्ममा २५५ विद्युतीय सवारीसाधन आयात भएकामा असोजमा त्यो संख्या १०३५ पुगेको छ । त्यसैगरी सुनको आयात झन्डै दोब्बर बढेको छ । स्मार्ट फोनको आयात पनि निकै बढेको देखिन्छ । स्मार्ट फोन र विद्युतीय सवारीसाधनको आयातले अर्थतन्त्रमा उल्लेख्य परिवर्तन ल्याउने देखिँदैन । यसले अर्थतन्त्र सकारात्मक बाटोमा अघि बढेको छ भन्ने पनि संकेत गर्दैन । केही औद्योगिक कच्चा पदार्थको आयात पनि अघिल्लो आवको यही अवधिको दाँजोमा केही बढेको छ । कच्चा फलाम तथा स्टीलको आयात बढेको छ भने तयारी फलाम तथा फलामजन्य सामग्रीको आयात घटेको देखिन्छ । मेशिनरी उपकरण तथा पार्टपुर्जाको आयात भने बढेको देखिन्छ । यसले अर्थतन्त्रमा झीनो आशा सञ्चार गर्ने देखिन्छ ।
अर्थतन्त्र सुधारमा सरकारले थप काम गर्नुपर्ने देखिन्छ । यसका लागि सबभन्दा पहिला सरकारले खस्केको मनोबल बढाउनुपर्छ नै, साथै आफू मितव्ययी भएको देखाएर सर्वसाधारणको विश्वास पनि जित्नुपर्छ ।
गत भदौसम्म आयात घट्दो क्रममा रहेकामा अहिले त्यसमा सुधार आउनु भनेको आन्तरिक माग बढ्नु हो । त्यसो त चाडपर्वकै कारण आयात बढेको पनि हुन सक्छ । दशैंलाई लक्षित गरी आयात गरिएका स्मार्ट फोन विक्री भएन भन्ने गुनासो पनि व्यवसायीको पाइन्छ । जे भए पनि यसले अर्थतन्त्रलाई चलायमान बनाउन भने केही न केही मद्दत गर्ने देखिन्छ । यद्यपि यस्तो सुधारले अर्थतन्त्रलाई दिगो सुधारमा लैजान भने खासै भूमिका निर्वाह गर्ने देखिँदैन ।
अहिले बजारमा निराशा छ । लगानीकर्ता पनि उत्पादन बढाउन तथा नयाँ लगानी गर्न उत्साहित छैनन् । हातमा पैसा भएका मानिससमेत खर्च गर्न डराइरहेका छन् । मन्दीका कारण आय गुमाउनेको संख्या पनि ठूलै छ । बजारमा कैयौं सटर खाली भएको पनि देख्न सकिन्छ । यसले अर्थतन्त्र मन्दीमा नै रहेको देखाउँछ । यस्तोमा आयात बढ्नुलाई सकारात्मक नै मान्नुपर्ने हुन्छ । यद्यपि सटर खाली हुँदै जानुमा कतै अनलाइन कारोबार बढेको त होइन भन्न थालिएको छ । यसबारे बिस्तारै वास्तविकता खुल्दै जाला । बजारमा छाएको निराशाले त अर्थतन्त्र सुधारमा गइरहेको देखाउँदैन । सरकारले आफ्ना कर्मचारीलाई आन्तरिक ऋण उठाएर दशैंखर्च वितरण गरेको समाचार आएको थियो । यसले राजस्व नउठेर दैनिक खर्च धान्न पनि सरकारलाई गाह्रो भएको देखाउँछ । सरकारको राजस्व आयातमा निर्भर रहेको हुँदा आयात बढ्नुको अर्थ राजस्व बढ्नु पनि हो । तर, अहिले जति राजस्व बढेको छ त्यसले सरकारी खर्च धान्न सक्ने भने देखिँदैन । अहिलेकै गतिमा आयात बढ्दै गयो भने चाहिँ राजस्वमा पनि यसले सकारात्मक असर पार्ने देखिन्छ । त्यसैले अर्थतन्त्र सुधारमा सरकारले थप काम गर्नुपर्ने देखिन्छ । यसका लागि सबभन्दा पहिला सरकारले खस्केको मनोबल बढाउनुपर्छ नै, साथै आफू मितव्ययी भएको देखाएर सर्वसाधारणको विश्वास पनि जित्नुपर्छ ।