सोल्टी होटलको नाफामा उल्लेख्य वृद्धि, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । सोल्टी होटल लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार होटलको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २४१ प्रतिशत वृद्धि भएको छ । होटलले गत आवमा रू. १० करोड ८५ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा बढेर रू. ३७ करोड ११ लाख पुगेको हो । चालू आवमा होटलको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । गत आवको तुलनामा चालू आवमा होटलको आम्दानी १०२ प्रतिशत वृद्धि भएको छ । गत आवमा होटलको आम्दानी रू. ७४ करोड ३८ लाख रहेकोमा चालू आवमा बढेर रू. १ अर्ब ५० करोडभन्दा माथि पुगेको छ ।  चुक्तापूँजी रू. ८८ करोड ४७ लाख रहेको होटलले जगेडामा रू. १ अर्ब ३ करोडभन्दा बढी सञ्चित गरेको छ । नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । गत आवमा होटलको प्रतिशेयर आम्दानी १ रुपैयाँ २९ पैसा रहेकोमा चालू आवमा बढेर ४ रुपैयाँ २० पैसा पुगेको छ । त्यस्तै मूल्य आम्दानी अनुपात ५८ दशमलव ६१ गुणा र प्रतिशेयर नेटवर्थ रू. २१ दशमलव ७१ रहेको छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस 

सम्बन्धित सामग्री

पर्यटन व्यवसायमा सुधारसँगै होटल तथा पर्यटन समूहका कम्पनीको बढ्यो नाफा

काठमाडौं । पछिल्लो समय पर्यटन व्यवसायमा सुधार आएसँगै नेप्सेमा सूचीकृत होटल तथा पर्यटन समूहका कम्पनीको नाफा उल्लेख्य रूपमा वृद्धि भएको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणले देखाएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण शिथिल भएको पर्यटन क्षेत्र बिस्तारै पुरानै अवस्थामा फर्किन थालेको छ । नेपाल भ्रमणमा आउने पर्यटकहरूको संख्या वृद्धि भएकाले गत वर्ष नोक्सानीमा रहेका होटलहरू यस आवमा नाफामा गएका छन् ।  नेपाल स्टक एक्सचेन्जमा तीन ओटा होटल र टुरिजम समूहको चन्द्रागिरी हिल्स सूचीकृत छन् । यी चार ओटै कम्पनीले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । यी कम्पनीहरूमध्ये सबैभन्दा बढी नाफा सोल्टी होटल लिमिटेडको रहेको छ । यस होटलले चालू आवको दोस्रो त्रैमाससम्म रू. २५ करोड १४ लाख नाफा कमाएको छ ।  यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ४१२ प्रतिशतले बढी हो । गत आवमा कम्पनीले रू. ४ करोड ९० लाख नाफा कमाएको थियो ।  पछिल्लो समयमा पर्यटन व्यवसायमा सुधार आएकोले होटलको सञ्चालन आम्दानी पनि उल्लेख्य वृद्धि भएको छ । गत आवमा होटलको सञ्चालन आम्दानी रू. ५ करोड २४ लाख रहेकोमा चालू आवमा रू. ३० करोड ६२ लाख पुगेको छ । त्यस्तै दोस्रोमा तारागाउँ रिजेन्सी होटलले चालू आवमा मात्रै रू. १० करोड ६१ लाख नाफा कमाएको छ । गत आवमा यो होटल रू. १२ लाख ५९ हजार नोक्सानीमा थियो । चालू आवमा यस होटलको सञ्चालन आम्दानीमा वृद्धि भएको छ । गत आवमा यस होटलको सञ्चालन आम्दानी रू. २६ करोड ४७ लाख रहेकोमा चालू आवमा रू. ५३ करोड ११ लाख पुगेको छ ।  त्यसैगरी पर्यटन समूहको चन्द्रागिरी हिल्स लिमिटेडले चालू आवमा रू. ५ करोड १४ लाख नाफा कमाएको छ । गत आवमा कम्पनी रू. ५८ लाख ६ हजार नोक्सानीमा थियो । आन्तरिक पर्यटकहरूको भ्रमणमा भएको वृद्धिका कारण कम्पनीको आर्थिक क्रियाकलाप बढेर कम्पनीको व्यापार व्यवसायमा वृद्धि भएको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ । साथै नेपाल भ्रमण गर्ने तथा नेपालमा कार्यक्रम गर्ने विदेशी पर्यटकहरूको संख्यामा समेत सुधार भएको र पर्यटकहरूको गतिविधिमा वृद्धि भएकोले कम्पनीको नाफामा सुधार आएको हो । कम्पनीको सञ्चालन आम्दानी गत आवमा रू. २८ करोड ९२ लाख रहेकोमा चालू आवमा बढेर रू. ४० करोड ८२ लाख पुगेको छ ।  त्यस्तै ओरियण्टल होटल्सले चालू आवमा रू. ३ करोड ६५ लाख नाफा कमाएको छ । गत आवमा भने होटल्स रू. ८ करोड नोक्सानीमा थियो । यस होटल्सको पनि आम्दानी वृद्धि भएकाले नाफामा सुधार आएको हो । गत आवमा होटल्सको सञ्चालन आम्दानी रू. १५ करोड ९ लाख भएकोमा चालू आवमा बढेर रू. ४३ करोड ९० लाख पुगेको छ ।  कसको नाफा कति ? कम्पनीको नाम नाफा रू. हजारमा (दोस्रो त्रैमास)  फरक प्रतिशत     चालू आव             गत आव सोल्टी होटल  २५१४३८ ४९०३४ ४१३ तारागाउँ रिजन्सी होटल १०६१६७ – १२५९ – चन्दागिरी हिल्स ५१४८७ – ५८०६ – ओरियण्टल होटल्स ३६५७५ – ८००२७ –  स्रोत : कम्पनीद्वारा प्रकाशित चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण ।

पर्यटन व्यवसायमा सुधार आएसँगै सोल्टी होटलको नाफा उल्लेख्य वृद्धि

काठमाडौं । सोल्टी होटल लिमिटेडले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार होटलको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४१२ प्रतिशत वृद्धि भएको छ । गत आवमा होटलले रू. ४ करोड ९० लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा बढेर रू. २५ करोड १४ लाख पुगेको हो ।  पछिल्लो समयमा पर्यटन व्यवसायमा सुधार आएकोले होटलको सञ्चालन आम्दानीमा उल्लेख्य वृद्धि भएकोले नाफा बढ्न पुगेको छ । गत आवमा होटलको सञ्चालन आम्दानी रू. ५ करोड २४ लाख रहेकोमा चालू आवमा बढेर रू. ३० करोड ६२ लाख पुगेको हो ।  त्यस्तै कम्पनीको कुल आम्दानी ११४ प्रतिशत वृद्धि भएको छ । गत आवमा होटलको कुल आम्दानी रू. ४४ करोड ७८ लाख रहेकोमा चालू आवमा बढेररू. ९६ करोड १ लाख पुगेको छ । नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. शून्य दशमलव ५८ रहेकोमा चालू आवमा बढेर रू. २ दशमलव ९८ पुगेको हो । त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात ७४ दशमलव ३९ गुणा र प्रतिशेयर नेटवर्थ रू. २३ दशमलव ५१ रहेको छ । होटलको चुक्तापूँजी रू. ८४ करोड २५ लाख रहेको छ भने जगेडामा रू. १ अर्ब १३ करोड भन्दा बढी सञ्चित गरेको छ ।