काठमाडौं । लमजुङको दोर्दी खोलामा निर्माण सम्पन्न भएको सुपर दोर्दी ‘ख’ जलविद्युत् आयोजनाले शनिवारदेखि व्यापारिक उत्पादन शुरू गरेको छ ।
पिपुल्स हाइड्रोपावर कम्पनीद्वारा प्रवर्दित ५४ मेगावाटको सुपर दोर्दी आयोजनाले परीक्षणपछि व्यापारिक उत्पादन शुरू गरेको आयोजनाका निर्देशक अर्जुन गौतमले जानकारी दिए । उनका अनुसार, परीक्षण प्रसारण सकेर शनिवारदेखि व्यापारिक रुपमै आयोजनाको बिजुली केन्द्रीय ग्रीडमा जोडिएको छ ।
दोर्दी खोलामा निर्माण भएकामध्ये सबैभन्दा ठूलो आयोजनाको रुपमा लिइने सुपर दोर्दी ‘ख’ जलविद्युत् आयोजना नेपालमा निजी क्षेत्रको सहभागितामा निर्माण भएका ४५६ मेगावाटको माथिल्लो तामाकोशी, ८६ मेगावाटको सोलु दुधकोशी, ६० मेगावाटको खिम्तीपछिको चौथो ठूलो आयोजना हो ।
नेपाल विद्युत प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख शुरेस भट्टराईका अनुसार, शनिवारदेखि केन्द्रीय ग्रीडमा ५४ मेगावाट थपिएसँगै नेपालको कुल विद्युत उत्पादन क्षमता २ हजार ७०० मेगावाट पुगेको छ ।
२०७४ सालमा शुरू भएको आयोजनाको निर्माण कार्य २०७८ सालमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, कोभिड, नाकाबन्दी, दोर्दी खोलामा आएको बाढी लगायतका कारणले आयोजनाको निर्माणमा ढिलाई भएको आयोजना निर्देशक गौतमले जानकारी दिए ।
लमजुङको दोर्दी गाउँपालिकामा निर्माण भएको आयोजनाबाट हिउँदमा ५३.०३ गिगावाटआवरसहित बार्षिक ३१४.९८३ गिगावाट आवर ऊर्जा उत्पादन गर्ने लक्ष्य राखेको छ । भूमिगत विद्युत प्रणाली रहेको आयोजनाको २०७१ सालमा नेपाल विद्युत् प्राधिकरण र आयोजनाबीच विद्युत खरीद विक्री सम्झौता (PPA) भएको थियो ।