काठमाडौं । शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पहिलो वार्षिक साधारण सभा चैत १ गते गर्ने भएको छ । साधारण सभा नक्सालस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा उक्त दिन दिउँसो २ः३० बजे शुरू गर्ने कम्पनीले जानकारी दिएको छ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने र चालू आवको लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै सभाले कम्पनीको पूँजीको संरचना परिवर्तन हुने भएकोले प्रबन्धपत्र तथा नियमावलीबमोजिम सर्वसाधारणमा जारी गर्ने भनी छुट्याएको शेयरलाई संशोधन गरी प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले साधारण सभाबाट प्रस्ताव पारित गरेपछि आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिई उसको स्वीकृतिमा आईपीओ निष्कासन गर्नेछ ।