विराटनगर । उद्योग संगठन मोरङले मौद्रिक नीतिको अर्द्धवार्षिक समीक्षाका लागि सुझाव पेश गरेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको अर्द्धवार्षिक समीक्षाका लागि राय सुझाव माग गरे बमोजिम संगठनले ३६ ओटा बुँदामा उद्योग व्यवसायसम्बन्धी सुझाव पठाएको हो । नेपाल राष्ट्र बैंक, आर्थिक अनुसन्धान विभागलाई शनिवार पत्रमार्फत सुझाव पठाइएको संगठनले जानकारी दिएको छ ।
संगठनले यसअघि मौद्रिक नीति तयारीका बेला एवं विभिन्न समयमा औद्योगिक क्षेत्रलाई सहज हुनेगरी नीति अख्तियार गर्न नेपाल राष्ट्र बैंकलाई सुझाव पठाएको थियो । बढ्दो ब्याजदर, अन्तरराष्ट्रिय बजारमा भएको अत्यधिक मूल्य वृद्धि, वैदेशिक व्यापार असन्तुलन जस्ता कारण वित्तीय समस्या कायमै रहेको संगठनले बताएको छ ।
त्यसैगरी चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शनमार्फत चालू पूँजीमा गरिएको कडाइ र बजारमा देखापरेको मन्दीका कारण बजार चलायमान भइनसकेको संगठनले बताएको छ । निजीक्षेत्रले अनुमानयोग्य वित्तीय नीति एवं स्थिरता कायम गर्न गरिरहेको पैरवीको पृष्ठभूमिमा नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्द्धवार्षिक समीक्षा गर्दै छ । उक्त समीक्षामार्फत स्वदेशी उद्योग, निर्यातमूलक उद्योग र समग्र उत्पादनमूलक क्षेत्रलाई चलायमान बनाउँदै वित्तीय सन्तुलन कायम हुनेगरी ठोस नीतिगत व्यवस्था गर्न उद्योग संगठनले सुझाएको छ ।