केपी जोशी, मैले उहाँलाई पहिलो पटक यही नामले एउटा दाजुका रूपमा चिनेँ । भोजपुर बजारको भोटे पसल उहाँको घर थियो । उहाँकै घरमुन्तिर बग्ने तीनधारामा हरेक बिहान हामी अम्खोरा बोकेर मुख धुन जान्थ्यौँ, घर फर्कंदा एउटा–एउटा भरिएका अम्खोरा हुन्थे हाम्रा हातहातमा । म त्यसताका उहाँकै छिमेकी साथी डम्बर तामाङ दाइको घरमा डेरा गरेर बस्थेँ । छ कक्षाको विद्यार्थी म, डम्बर दाइकै भाइ गणेश र कुशलसँगै स्कुल जान्थेँ ।