दिल्ली-काठमाडौं हुँदै इन्डियन एयरफोर्सको जहाज गौतमबुद्ध विमानस्थलमा

२८ वैशाख, काठमाडौं । भारतीय सेनाको जहाज बुधबार भैरहवा विमानस्थलमा अवतरण गरेको छ । ‘आईएफसी १ एफ२२ ०२ डट ४३’ जहाज बुधबार बिहान भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौं विमानस्थलमा अवतरण गरेको थियो । काठमाडौं विमानस्थल स्रोतका अनुसार यो जहाज धावनमार्गमा अवतरण गरेसँगै काठमाडौंमा रोकिएन, लगत्तै टेकअफ लिएको जहाज भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको हो । […]

सम्बन्धित सामग्री

जहाज ‘ओभरसुट’ : जोखिम कि सुरक्षित ? के भन्छन् विज्ञहरू ?

काठमाडौं । यही वैशाख २७ गते भारतको नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाजले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टीआईए) मा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गर्‍यो ।  काठमाडौं विमानस्थलमा दिउँसो ‘मिस एप्रोच’ भएपछि उक्त जहाजले ओभरसुट गरेर सिमरामाथिको आकाशमा करिब एक घण्टा आकाशमा फन्को लगाउने ‘होल्ड’ भएर पुनः अवतरणको प्रयास गर्‍यो । जहाज अवतरण हुन नसकेपछि भारतको बनारस डाइभर्ट भएको विमानस्थल कार्यालयले जनाएको छ ।  त्यस दिन एयर इण्डियासहित अन्तरराष्ट्रिय उडानका तीन जहाज भारतको बनारस र लखनऊ डाइभर्ट भएका थिए । फ्लाई दुबई र इन्डिगो एयरको जहाज पनि लखनउ डाइभर्ट भएको थियो ।  विमानस्थलका एक एयर ट्राफिक कन्ट्रोलर (एटीसी) का अनुसार उक्त दिन ‘टेल वीन’ (पछाडिबाट लागेको हावा)का कारणले जहाज अवतरण समस्या आएको थियो । अन्तरराष्ट्रिय उडानका ठूला जहाज धावनमार्गको दक्षिणतर्फबाट मात्रै अवतरण हुन्छ । दक्षिणतर्फ तीव्र गतिको हावा चलेकाले जहाज अवतरण हुन नसकेको विमानस्थलको भनाइ छ ।  त्यस्तै वैशाख १६ गते दिउँसो नयाँ दिल्लीबाटै काठमाडौं आएको एयर इण्डियाको जहाजले ओभरसुट गरेको थियो । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार उक्त जहाज ‘अनस्टेबल एप्रोच’ भएकाले ओभरसुट गरेको हो ।   यसरी एक महिनामै एयर इण्डियाको जहाजले दुई पटक ओभरसुट गर्‍यो । जहाज अनस्टेबल एप्रोच भएर तथा कहिलेकाहीं एप्रोच प्रोफाइल नमिलेर, जहाज हाई अल्टिच्युट भएर आउँदा पनि ओभरसुट गर्नुपरेको विज्ञहरू बताउँछन् । जहाज ओभरसुट र होल्ड हुँदा सुरक्षाका हिसाबले निकै जोखिम हुने टिप्पणी हुँदै आएको छ । तर, जहाज ओभरसुट र होल्ड हुँदा जोखिम नभई थप सुरक्षित हुने उहाँहरूको भनाइ छ ।  नेपाल वायुसेवा गिनम (नेपाल एयरलाइन्स)का एक वरिष्ठ पाइलटका अनुसार ‘अनस्टेबल एप्रोच’ का कारण जहाजले ओभरसुट गर्छन् । ‘ओभरसुट सबैभन्दा बढी सुरक्षित हो, ओभरसुटलाई त हामीले ‘इन्करेज’ गर्नुपर्छ,’ उनले भने, ‘ओभरसुटलाई अनस्टेबलाइज एप्रोच भन्छ, ९० प्रतिशत धावनमार्गमा हुने दुर्घटना ओभरसुटका कारण हुन्छन् ।’  नेपालमा ओभरसुटलाई नकारात्मकरूपमा लिने गरिए पनि संसारभर ओभरसुटलाई सकारात्मक रूपमा लिइन्छ र सम्बन्धित मुलुकको ‘एभिएसन अथ्योरिटी’ले कारबाही गर्दैनन् । तर, नेपालमा ओभरसुट भएपछि नियामक निकायले स्पष्टीकरण लिने गरेको ती वरिष्ठ पाइलटको भनाइ छ ।  जहाज अनस्टेबल एप्रोच भएर तथा कहिलेकाहीं एप्रोच प्रोफाइल नमिलेर ओभरसुट हुन्छ । कहिलेकाहीं धावनमार्गमा केही वस्तु देखिएमा पनि जहाज ओभरसुट गरिन्छ ।  विसं २०७९ वैशाख १ गते भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान भरेर काठमाडौं फर्किएको नेपाल एयरलाइन्सको ‘वाइड बडी’ जहाज अवतरण हुनैलाग्दा ओभरसुट गरेको थियो । पाइलटले धावनमार्गमा प्लास्टिकको सामान देखेपछि एटिसी टावरलाई जानकारी गराएर जहाज ओभरसुट गरी पुनः अवतरण गरेका थिए ।  ‘पहिला म्यान्डेटरी एप्रोच पनि भनिन्थ्यो ओभरसुटलाई । तर, अहिले आएर सम्भावित जोखिम न्यूनीकरणका हिसाबलाई यसलाई सकारात्मक रूपमा लिइन्छ, त्यसैले अहिले संसारमा ओभरसुटको विषयलाई लिएर प्रश्न नै नगर्ने भन्ने प्रवृत्ति बनिसकेको छ,’ उनले भने ।   जोखिम मोलेर अवतरण गर्नुभन्दा ओभरसुट गर्नु बढी सुरक्षित भएकाले जहाजले ओभरसुट गर्ने गरेको वरिष्ठ पाइलटको भनाइ छ । विमानस्थलका प्रवक्ता सिटौलाको भनाइमा टीआईएमा दक्षिणतर्फबाट मात्रै ठूला जहाज अवतरण हुने भएकाले जहाज होल्ड हुने र ओभरसुट हुनेगरेको छ । जसका कारण विमानस्थललाई चाप परेको छ । एयर ट्राफिक जाम पनि हुन्छ ।  विशेष गरी चैत–वैशाखमा धावनमार्गको दक्षिणतर्फबाट बढी हावा चल्ने भएकाले टीआईएमा जहाजले ओभरसुट गर्ने र होल्ड हुने गरेका छन् ।  कतिपय अवस्थामा कम्पनीको नियम अनुसार पनि जहाजले ओभरसुट गर्छन् । यसरी ओभरसुट गरेको जहाजले एक राउन्ड लगाएर करिब २० मिनेटको समयावधिमा पुनः अवतरण गर्ने गरेको विमानस्थलले जनाएको छ । सिमरामाथिको आकाशबाट काठमाडौं विमानस्थलमा एप्रोच लिनुपर्ने हुन्छ । अन्तरराष्ट्रिय उडानका जहाजले काठमाडौं विमानस्थलमा अवतरण गर्दा सिमरामाथिको आकाशबाटै एप्रोच लिने गरेका छन् ।  यसरी ओभरसुट भएका जहाजका कारण एप्रोचका लागि विभिन्न गन्तव्यबाट आइरहेका अन्य जहाज होल्डमा पर्छन् । यसले अन्तरराष्ट्रिय विमानस्थलमा एयर ट्राफिक जाम पनि बढाउने गरेको छ । आन्तरिक उडानका जहाजलाई पनि चाप पर्छ । अहिले पनि अन्तरराष्ट्रिय विमानस्थमा दैनिक एक घण्टासम्म जहाज होल्ड हुने गरेका छन् । विमानस्थलको चापले आन्तरिक उडानका जहाजलाई पनि समस्या हुने गरेको छ ।  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टीआईए) अति व्यस्त विमानस्थलमा पर्छ । यो विमानस्थल स्थापनाको करिब ७२ वर्षपछि थप दुई अन्तरराष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । हाल मुलुकमा तीन अन्तरराष्ट्रिय विमानस्थल छन् । कुल ९२ लाख यात्रु क्षमताको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बर्सेनि बढिरहेको छ । यो विमानस्थलको विकल्पको रुपमा पनि गौतमबुद्ध विमानस्थललाई लिइएको थियो । उक्त विमानस्थलमा अत्याधुनिक उपकरणयुक्त छ ।  मौसम खराबी भएको अवस्थामा काठमाडौं विमानस्थलमा अवतरण गर्न नसकेका जहाज भैरहवा विमानस्थलमा सहजै अवतरण गर्नसक्ने गरी यान्त्रिक प्रणाली जडान गरिएको छ ।  तथापि यो विमानस्थलको भरपुर उपयोग हुन सकेको छैन । काठमाडौं विमानस्थलमा अवतरण हुन नसकेका जहाज र होल्ड भएका कतिपय जहाजले गौतमबुद्ध विमानस्थल अवतरण गरेका हुँदैनन् । डाइभर्ट भएका अन्तरराष्ट्रिय उडानका जहाज अझै पनि भारतको बनारस, लगनऊ, कोलकात्ता जाने गरेका छन् ।  गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा अन्तरराष्ट्रिय विमानस्थल बनेपछि टीआईएमा चाप कम हुने अनुमान गरिएको थियो । तर, तीन अन्तरराष्ट्रिय विमानस्थल भए पनि टीआईएको उडान चाप उत्तिकै छ । दुई विमानस्थलले विजनेश पाएका छैनन् ।       दैनिक एक घण्टा होल्ड       यही वैशाख १९ गते कतार एयरवेजको जहाज करिब एक घण्टा होल्ड भयो । दोहाबाटै काठमाडौं आएको नेपाल एयरलाइन्सको जहाजले तीन फन्का मारेको थियो । भारतको नयाँदिल्लीबाट आएको इण्डिगो एयर पनि केहीबेर होल्डमा बसेको थियो । कतिपय मौसमको खराबीले र कुनै कम्पनीको नियमअनुसार  ‘भिजिबिलिटी’ हेरेर मात्रै अवतरण गर्छन् ।     टीआईएमा दैनिक आन्तरिक र अन्तरराष्ट्रिय गरी दैनिक तीन सयभन्दा बढी उडान हुने गरेको छ । अन्तरराष्ट्रियमा तीन नेपालीसहित २९ एयरलाइन्सले अन्तरराष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ ११ हेलिकोप्टर कम्पनीसहित २० हवाई सेवा प्रदायक कम्पनीले सेवा सञ्चालन गरिरहेका छन् । रासस

लुम्बिनी आएका मोदीले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल किन प्रयोग गरेनन् ?

आज बुद्ध जयन्ती । बुद्ध जयन्तीको अवसर पारेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी आईपुगेका छन् । बुद्धको नाममा नामाकरण गरिएको भैरहवास्थित नेपालको दोस्रो अन्तराष्ट्रिय विमानस्थलको पनि आज बुद्ध जयन्तीकै अवसर पारेर प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् ।गौतमबुद्ध विमानस्थल र गौतमबुद्धको जन्मस्थल लुम्बिनी बीचको दूरी करिब १५ किलोमिटर छ । तर, भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउँदा भैरहवा विमानस्थलमार्फत नभई सिँधै हेलिकप्टरमार्फत लुम्बिनी ओर्लिए ।भारतको राजधानी दिल्लीबाट उडेका मोदी नेपालको भैरहवाबाट २ सय किलोमिटर टाढा पर्ने भारतको उत्तर प्रदेशस्थित कुसीनगर अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएर त्यहाँबाट हेलिकप्टर चढेर लुम्बिनी आए । मोदी किन गौतमबुद्ध विमानस्थलमा ‘ल्याण्ड’ भएनन् ?भारतीय विदेशसचिव विनय मोहन क्वात्राले शुक्रबार दिल्लीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रधानमन्त्री मोदी नेपाल जाँदा र आउँदा कुसिनगर विमानस्थल भएर ओहोर दोहोर गर्ने जनाएको बताइन्छ । भारतीय सञ्चारमाध्यमले मोदीको भ्रमण रुट सुरक्षा संवेदनशीलतालाई ख्याल गरेर तय गरिएको पनि बताउने गरेका छन् । यति मात्रै नभई, भारतीय सञ्चारमाध्यमले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल चिनियाँ लगानीमा बनेको विमानस्थल भएकोले भारतीय प्रधानमन्त्री मोदीले त्यहाँ जाने कार्यक्रम नबनाएको ‘हल्ला’ पनि गर्न भ्याएका छन् ।तर, नेपाली अधिकारीहरू भने मोदीको सुरक्षा व्यवस्थाका लागि भारतीय वायु सेवाको जहाज नै गौतमबुद्ध विमानस्थलमा आएकाले यसमा अनेक शंका गर्न आवश्यक नरहेको बताउँछन् ।नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देव चन्द्रलाल कर्ण गौतमबुद्ध विमानस्थलमा भारतीय प्रधानमन्त्री मोदीको भ्रमणअघि सुरक्षा बन्दोबस्तीका सामग्री बोकेर दिल्लीबाट भारतीय वायु सेवाको विमान आएकोले चीनको लगानी भएकै कारण भारतीय प्रधानमन्त्रीले यो विमानस्थल प्रयोग नगरेको भन्ने हल्ला अनावश्यक भएको बताउँछन् ।‘मोदीले यो विमानस्थल प्रयोग गरेको भए हवाई रुट पाउन सकिन्थ्यो’ गौतमबुद्ध विमानस्थलको लागि भारतले आफ्नो आकाश हुँदै सीधा हवाई रुट दिएको छैन । नेपालको तर्फबाट झण्डै ४ वर्ष अघिदेखि यो विषय उठिरहेको छ । भारतले मौखिक रुपमा हवाई रुट दिन आफू तयार रहेको बताएपनि निर्णय गरेको छैन । पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली ‘भारतीय प्रधानमन्त्री मोदीले गौतमबुद्ध विमानस्थल प्रयोग गरेर लुम्बिनी आएको भए भारतले चाँडै हवाई रुट दिने कुरामा विश्वास गर्न सकिन्थ्यो’ भन्छन् । तर, यसका लागि सरकारले पर्याप्त पहल नगरेको उनको आरोप छ । ‘एकातिर हवाई रूट दिएको छैन, आफूले रुट नदिएको एयरपोर्ट प्रयोग गर्दा यसबारे पुनः कुरा उठ्यो भने के जवाफ दिने भनेर पनि भारतीय प्रधानमन्त्रीले अहिले यो विमानस्थल प्रयोग नगरेको हुनसक्छ’ ज्ञवालीले भने, ‘यसो हुनुमा नेपाल सरकारले पनि पर्याप्त पहल नगरेको देखिएको छ, आवश्यक पहल गरेर भारतीय प्रधानमन्त्री मोदीलाई गौतमबुद्ध विमानस्थल हुँदै लुम्बिनी लैजाने प्रवन्ध मिलाउनु पर्थ्यो, गौतमबुद्ध विमानस्थललाई हवाई रुट दिलाउन यो महत्वपूर्ण पहल हुन्थ्यो, यो अवसर सरकारले गुमायो ।’ यद्यपी, बौद्ध धर्मका जानकारहरु भने भारतले नेपालको लुम्बिनीलाई नभई भारतको कुसीनगरलाई बौद्ध सर्किटको केन्द्रबिन्दु बनाउन चाहेकाले मोदीले गौतमबुद्ध विमानस्थललाई वेवास्ता गर्दै भारतकै कुसीनगरको विमानस्थललाई आफूले प्राथमिकतामा राखेको स्पष्ट सन्देश दिएको बताउँछन् ।

अवतरण भयो भैरहवा विमानस्थलमा नेपाल एयरलाइन्सको वाइड बडी

वैशाख १६, काठमाडौ । संघीय राजधानी काठमाडौंको २२ डिग्री तापक्रम । बिहीवार अपराह्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवन अघिल्तर यात्रुको भीडभाड ।  समूह, समूहमा भलाकुसरी गरिरहेको दृश्य कुनै मेला महोत्सवकै भान दिन्थ्यो । सायद पहिलोपटक हुनुपर्छ यती धेरै भीडभाड आन्तरिक टर्मिनलमा तर, यो भीडभाड व्यवसायिक उडानका यात्रु नभई परीक्षण उडानका लागि वाइड बडी जहाज चड्न तम्तयार यात्रु थिए । आन्तरिक यात्रुले यसै पनि भीडभाड हुने आन्तरिक टर्मिनलमा एकैपटक धेरै संख्यामा उपस्थिति हुँदा विमानस्थलमा फरक माहोल देखिन्थ्यो । नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगमका कर्मचारी, पर्यटन क्षेत्रका अगुवा संगठनका प्रतिनिधि एवं व्यवसायी तथा सञ्चारकर्मीको भीडले विमानस्थलमा नयाँ रौनक छाएको थियो ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, पर्यटन सचिव महेश्वर न्यौपाने, प्राधिकरणमा महानिर्देशक प्रदीप अधिकारीलगायत विशिष्ठ व्यक्ति एवम् चालक दलका सदस्य २६० यात्रु सवार राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्सको) वाइड बडी जहाजमा थिए । काठमाडौं विमानस्थलबाट साँझ ५:१२ बजे मुलुकको दोस्रो अन्तरराष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा वाइड बडी जहाजले उडान भरेर ५:५५ बजे अवतरण भएको थियो । काठमाडौंबाट भैरहवा २७ मिनेटको उडान भएपनि ‘अप्रेशनल पर्फमेन्स टेस्ट फ्लाइट’  भएकाले जहाजले धावनमार्ग नजिकबाट ओभरसुट गरेर राउण्ड लाएपछि अवतरण गरेको थियो ।  भैरहवाको ३८ डिग्री तापक्रमको प्रबाह नगरी काठमाडौंबाट ओलिएएको भीडले विमानस्थलमा थप उल्लासमय बनायो । स्थानीयको उपस्थिति, संघ संस्थाका प्रतिनिधि, व्यवसायी, सुरक्षाकर्मी आदिको बाक्लो उपस्थिति थियो । वाइड बडी जहाजले प्रसिद्ध लुम्बिनी क्षेत्रलाई राउण्ड मारेर अवतरण गर्दा जहाजभित्र गडडडाहत ताली बजे ।  जहाज अवतरण भएपछि पानीका फोहोरालाई स्वागत गरियो । विमानस्थल वरिपरि र भित्र जहाज हेर्ने र फोटो, भिडियो, सेल्फी खिच्नेको भीड देखियो । सामान्य अवस्थामा ४० हजारभन्दा माथि फिटमा उडान भर्ने वाइड बडी जहाजलाई १७ हजार फिटबाट उडान भर्नु पनि चानचुने विषय थिएन । वाइड बडी जहाजको चालकदलका सदस्यको नेतृत्व गर्नुभएका वरिष्ठ क्याप्टेन श्रवण रिजाललाई दोस्रो अन्तरराष्ट्रिय विमानस्थलमा वाइड बडी जहाज अवतरण गराउन पाउँदा आनन्द अनुभूति भएको बताए ।  यसले गर्दा नेपालको लुम्बिनीलाई संसारभर चिनाउछ नै यसले नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने उनको भनाइ थियो । ‘यसले इन्धन वचतमा समेत सहयोग पुग्ने । हरेक उडानमा ३५० किलो हवाई इन्धन पनि बचत हुने भएकाले यो राज्यको बचत पनि गराउछ ।’ ‘अप्रेशनल पर्फमेन्स टेस्ट फ्लाईट’  सफलतापूर्वक सम्पन्न भएको छ । ‘गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा हवाई रुट, प्रोसिउडर डिजाइनिङ कुनैमा समस्या छैन’, क्याप्टेन रिजालले भने । विमानस्थलको धावनमार्ग काठमाडौंबाट आउने २–८ र पश्चिमतर्फ लुम्बिनीबाट आउने १–० रुटको दुवैतर्फबाट वाइड बडीले अवतरणको प्रयास गरेको थियो । दुवैतर्फबाट जहाज सहजरुपमै अवतरण गर्नसकिने क्याप्टेन रिजालको भनाइ छ ।  काठमाडौंबाट आएको वाइड बडी जहाज २–८ बाट अवतरण भएको थियो । अहिलेको लागि १–० रुट नै सहज हुने क्याप्टेन रिजालले बताउनुभयो । अब अन्तर्राष्ट्रिय उडानका जहाज नेपालको हवाई प्रवेशबिन्दु सिमराबाट नेपाल प्रवेश गरी नारायणघाट हुँदै गौतमबुद्ध विमानस्थलमा अवतरण गर्नेछन् । वाइड बडी जहाजको भैरहवा अवतरण सामान्य थिएन । नेपालको उड्डयन इतिहासमा दोस्रो अन्तरराष्ट्रिय विमानस्थलमा पहिलो पटक ठूलो जहाजले उडान गरेको क्षण नयाँ परिघटना नै थियो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि  अर्को नयाँ अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नेपालमा दोस्रो विमानस्थल औपचारिक रुपमा सञ्चालनमा आउनु मुलुकका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । उनले भने, ‘नेपालको भूमिमध्ये काठमाडौं बाहेक अन्य भूमिमा पहिलो पटक वाइड बडी जहाज अवतरण गर्दैछ । नेपालको हवाई क्षेत्रको इतिहासको ७४ वर्षे इतिहासमा यो कोसेढुंगा भएको छ । अहिलेसम्म ठूला जहाज काठमाडौंमा मात्र उडान अवतरण गरिरहेका थिए ।’ विमानस्थलमा करीब दुई घण्टाको औपचारिक कार्यक्रमपछि काठमाडौंबाट गएको मन्त्रीसहितको टोली वाइड बडी जहाजमार्फत राति १०ः३० बजे काठमाडौं फर्किएको थियो । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बहुप्रतिष्ठित गौतमबुद्ध गौतमबुद्ध विमानस्थल वैशाख १५ देखि दैनिक १८ घण्टा र आगामी जेठ २ गतेदेखि २४ घण्टा अन्तरराष्ट्रिय व्यावसायिक उडान सञ्चालन हुनेछ । महानिर्देशक अधिकारीले राष्ट्रिय गौरवको आयोजना सम्पन्न भएर पूर्ण कार्यान्वयनमा आएको पहिलो आयोजना भएको बताए । अन्तरराष्ट्रिय विमानस्थल गत जेठ ८ गतेदेखि विधिवत् रुपमा सञ्चालनमा आइसकेको छ । यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न भइसकेको यो विमानस्थलमा आगामी जेठ २ गते बुद्ध पूर्णिमाका दिनदेखि नियमित अन्तरराष्ट्रिय उडान सञ्चालन हुनेछ । जजीरा एयरले उडान अनुमति लिएर आवश्यक तयारी गरिरहेको छ । अन्य एयरलाइन्सले पनि विमानस्थलबाट उडान भर्न चासो देखाएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन हुने प्राधिकरणले जानकारी दिएको छ । गौतमबुद्ध विमानस्थल रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो । राष्ट्रिय गौरबका आयोजनामध्ये चाडो प्रगति हासिल गर्ने नमूना आयोजना भएको प्राधिकरणको बुझाइ छ । सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ को सुरूमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापर्बाहीले अवरोध भएको थियो । पछिल्लो पटक सन् २०२० को मार्च महीनासम्म निर्माण सक्ने योजना रहे पनि कोभीड महामारीका कारण करीब ५ वर्षपछि विमानस्थल व्यावसायिक रुपमा सञ्चालनमा आएको हो । विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको हो । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाको पहिलो चरणमा करीब रू. ११ अर्ब खर्च भएको प्राधिकिरणले जानकारी दिएको छ । हालसम्म विमानस्थलको मुआब्जासहित रू. ३१ अर्ब अर्च भएको प्राधिकरणले जानकारी दिएको छ ।  अब दोस्रो चरणको टर्मिनल भवन पनि छिट्टै निर्माण प्रक्रिया अघि बढाइने छ । कुल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ । रासस

५ महिनाभित्रै गौतमबुद्ध विमानस्थलबाट व्यावसायिक उडान शुरू गर्दै छौं

नेपालको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले २३औं वार्षिकोत्सव शुक्रवार मनाउँदै छ । कोरोना महामारीको दोस्रो लहरपछि अहिले उड्डयन क्षेत्र विस्तारै लयमा फर्किन लागेको छ भने यसले प्राधिकरणको आम्दानीमा पनि राहत पुगेको छ । यद्यपि अहिले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिँदा लयमा फर्किन लागेको उड्डयन क्षेत्रमा प्रभाव पार्ने आकलन गर्न थालिएको छ । ओमिक्रोनको प्रभाव, ढिलो गरी आएको बजेट कार्यान्वयन, हवाई सुरक्षा र गौतमबुद्ध विमानस्थलमा क्यालिबे्रसन उडानदेखि व्यावसायिक उडान, पोखरा, निजगढ विमानस्थल निर्माणलगायत योजनाका विषयमा केन्द्रित रहेर नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीसँग अभियान संवाददाता हिमा वि.कले गरेको कुराकानीको सार : चालू आर्थिक वर्षको ६ महिनापछि मात्रै प्रािधकरणको बजेट पारित भएको छ । प्राधिकरणका प्राथमिकता के के छन् ? मुख्यगरी विगत वर्षका बहुवर्षीय कार्यक्रम छन्, त्यसलाई नै प्राथमिकता दिइएको छ । यो वर्ष केही नयाँ कार्यक्रम अघि बढाउने उद्देश्यले एक/दुईओटा विमानस्थलमा काम अघि शुरू गरिनेछ । विमानस्थल विस्तार र त्यहाँको काम अघि बढाउने गरी धनगढी, डोटी, पूर्वको विराटनगर विमानस्थललाई केन्द्रित गरिएको छ । ती विमानस्थलमा कामै नभएको भने होइन । विगतमा सञ्चालन भएका हुन् । तर, धनगढी, डोटीका विमानस्थललाई अझ व्यवस्थित गर्ने र नयाँ ढंगले काम अघि बढाउने योजना छ । यसका साथै गौरवका आयोजना भैरहवास्थित गौतमबुद्ध, पोखरा विमानस्थल र काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई उच्च प्राथमिकता दिएका छौं । क्षेत्रीय विमानस्थल विराटनगर, नेपालगञ्ज, धनगढीमा पनि थप काम हुनेछन् । प्राधिकरणको करिब ४३ अर्ब ६० करोड बजेट छ । अबको बाँकी महिनामा विनियोजित बजेट खर्चिने अवस्था छ ? अहिले पनि प्राधिकरणको खर्च भइरहेको छ । गत वर्षको छैटौं भागको बजेट खर्च गरिरहेकै छौं । अहिले सुरुआती चरणमै भइरहेका कामको बिल आएकाले सोही आधारमा भुक्तानी दिने तयारीमा छाैं । प्राधिकरणबाट हुने काममा ढिलाइ भएको छैन । हाम्रा धेरै कार्यक्रम बहुवर्षीय भएकाले यो वर्ष खर्च हुन नसके पनि अर्र्काे वर्ष खर्च हुन्छ । कोरोना महामारीको त्रासकै बीच अहिले आएको नयाँ भेरियन्ट ओमिक्रोनले आउने राजस्व पनि गुम्ने हो कि भन्ने चिन्ता थपिएको छ । कोरोना महामारीको दोस्रो लहरपछि उड्डयन क्षेत्र चलायमान भएको छ । गत वर्ष १२ अर्ब गुमाएको प्राधिकरणको आम्दानीमा यसपटक सुधार हुने सम्भावना कत्तिको छ ? कोरोना महामारीले नेपालमा मात्रै नभई विश्वभरि नै प्रभाव पार्‍यो । विशेषगरी उड्डयन क्षेत्रमा निकै दबाब पर्‍यो । प्राधिकरणले १२ अर्बको आम्दानी गुमाएको अवस्था थियो । गुमाएको आम्दानीलाई तुरुन्तै फर्काउन सकिने अवस्था पनि अहिले देखिँदैन । तर, जुन हिसाबले हाम्रो हवाई चाप बढेको छ, यसले सकारात्मक लक्षण देखाएको छ । आन्तरिकतर्फ हामी शतप्रतिशत अवस्थामा पुगेका छौं र अन्तरराष्ट्रियतर्फ झन्डै–झन्डै ६० प्रतिशत हाराहारीमा छौं । केही समयपछि शतप्रतिशत व्यापार गर्ने लक्ष्य लिएका छौं । यसले विगतमा हुने व्यापारलाई पूर्ववत् अवस्थामा फर्काउन सकिने आस थियो । अहिले पुनः ओमिक्रोन नयाँ भेरियन्ट आएकाले यसमा केही धक्का पुग्ने हो कि भन्ने अवस्था छ । यद्यपि अहिलेसम्म डराइहाल्नुपर्ने अवस्था देखिएको छैन । उडानहरू पनि राम्रोसँगै भइरहेका छन् । चालू आर्थिक वर्ष ०७८/७९ मा राजस्व संकलनको लक्ष्य ९ अर्ब रुपैयाँ राखेका छौं । क्यालिब्रेसन उडानको तयारी भएको भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा किन ढिलाइ भइरहेको छ ? एरो थाईसँग ५ वर्षदेखि नै गौतमबुद्ध विमानस्थलमा क्यालिब्रेसन उडानका लागि सम्झौता भई सोहीअनुसार काम भइरहेको थियो । हाम्रो कमजोरी कहाँनेर भयो भने विद्युत् प्राधिकरणले हामीलाई दिनुपर्ने जुन डेडिकेटेड लाइन थियो, त्यसअनुसार भएन । यो विमानस्थलमा भारतबाट आएको डेडिकेटेड लाइन दिइयो । त्यसका कारण हामीले विद्युत् लाइनको सुनिश्चितता गर्न नसक्दा विलम्ब भएको हो । क्यालिब्रेसन (परीक्षण) उडान गर्दा विदेशमा ३० दिनसम्म २४ घन्टै निर्बाध बिजुली आउनुपर्छ । तर, नेपालको हकमा ७ दिन विमानस्थलमा २४ घन्टा बिजुली जान नहुने व्यवस्था छ । रनवे लाइट, इक्विपमेन्टजस्ता अन्य प्रणाली सञ्चालन गर्दा निरन्तर बिजुली आवश्यक हुन्छ । अहिले प्राधिकरणबाट नेपालकै डेडिकेटेड लाइनमार्फत विद्युत् पाएका छौं । अहिले लाइट परीक्षणमा राखिएको छ । त्यसको सुनिश्चितता भएपछि एरो थाईलाई बोलाउँछौं । प्राधिकरणले बोलाएको २ सातामै उनीहरू आउनेछन् भने अबको १ महिनाभित्र क्यालिब्रेसन उडानको डेट पाउनेछौं । क्यालिब्रेसन उडान गर्ने जिम्मा भारतलाई दिने चर्चा थियो । तर, अहिले एरो थाईलाई नै दिने भनिएको छ । किन यस्तो द्विविधा देखियो ? एरो थाईसँग ५ वर्षअघि नै सम्झौता भएको हो । एरो थाईले यसमा धेरै काम गरिसकेको थियो । त्यसबीचमा कोभिडका कारण उनीहरू आउन नसक्ने जानकारी गराए । तुरुन्तै क्यालिब्रेसन उडान गर्ने हो भने अरू कम्पनीसँग पनि गर्न सकिने एरो थाईले भनेपछि मअघिका महानिर्देशकले भारतसँग कुराकानी मात्रै गरेका हुन् । तर, कुनै सम्झौता भएको छैन । भारतले उडान गर्न नेपाललाई रेट पठाएकै बेला एरो थाईले पनि हामी पुरानै मूल्यमा क्यालिब्रेसन उडान गर्न तयार छौं भनेर पत्र पठाएको थियो । जहाज तयारी अवस्थामा छ र नयाँ रेट चाहिँदैन भनेपछि हामीले पुनः एरो थाईसँग गर्ने भएका हौं । भारतसँग गर्दा नयाँ मूल्य र रेट तय गर्नुपर्ने एवं महँगो पनि हुने भएकाले यसलाई स्थगित गरेर थाई एरोसँग गर्ने तयारी छ । उनीहरू यसबीचमा आएर अध्ययन गरेर फर्किइसकेका छन् । क्यालिब्रेसन उडान भएको ३ महिनामा हामीले अरू प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । त्यसपछि ढिलोमा ५ महिनाभित्र गौतमबुद्ध विमानस्थलबाट व्यावसायिक उडान शुरू हुन्छ । गौतमबुद्ध तथा पोखरा विमानस्थल छिट्टै सञ्चालनमा आउँदै छन्, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित यी विमानस्थद सञ्चालनमा आउँदा नेपालको उड्डयन क्षेत्रमा देखिने संकेत कस्तो हुनेछ ? त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विकल्प हामीलाई अपरिहार्य हो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कारणवश कुनै जहाज अवतरण हुन सकेन भने हामीले यहाँका जहाज भारत, बंगलादेश या चीनतिर पठाउनुपर्ने बाध्यता छ । हाम्रै देशमा विकल्प भए त्यहाँ अवतरण गराउन पाइयो । दोस्रो कुरा, काठमाडौंमा जसरी जनघनत्व बढ्दै गएको छ र यात्रु चाप बढेको छ, यस हिसाबले अबको १० वर्षभित्र काठमाडौंले थेग्न सक्दैन । त्यसैले पनि हामीलाई उपत्यकाबाहिर अन्तरराष्ट्रिय विमानस्थल निर्माण नगरी नहुने भएको हो । सोही विकल्पमा भैरहवा र पोखरा विमानस्थल बनेका छन् । यी विमानस्थल सञ्चालनमा आइसकेपछि यात्रु संख्या पनि बढ्छ र काठमाडौंमा हुने चाप कम हुनेछ । भैरहवा र पोखरा विमानस्थल सञ्चालनमा आउँदा समग्र पर्यटनलाई पनि टेवा पुग्छ । निजगढ विमानस्थल बनाउने घोषणा र गुरुयोजना बने पनि काम हुन सकेको छैन । यो विमानस्थल बूढीगण्डकी जलविद्युत्जस्तै हुने हो कि ? निजगढ विमानस्थल निर्माण बूढीगण्डकी आयोजना जस्तो नहोला । किनभने, हामीले निजगढमा आधारभूत काम गरिसकेका छौं । विमानस्थलको स्वीकृत ८ हजार ४५ हेक्टर क्षेत्रफलको सीमांकनमा तारबार गर्ने काम, रुख कटानका लागि वनले टाँचा लगाइसकेको छ भने सुकुमबासी समस्यालाई सरकारले व्यवस्थापन गर्ने र मुआब्जा दिनेलगायत काम भइसकेका छन् । बूढीगण्डकी जस्तो नहोस् भन्न सरकारले २ वटा काम तुरुन्तै गर्नुपर्ने हुन्छ । एउटा, मोडालिटी तय गर्ने र अर्काे लगानी सुनिश्चितता । निजगढ विमानस्थल न्यूनतम ३ खर्बभन्दा कम लागतमा बन्दैन । यति ठूलो रकम प्राधिकरणले जुटाउन सक्दैन । सरकारले नै व्यवस्थापन गर्ने हो । सरकारले यी दुई विषय छिटो व्यवस्थापन गरे प्राधिकरण विमानस्थल निर्माणका लागि तयारी अवस्थामा छ । तर, निजगढको वनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ । त्यसको निकास नहुँदासम्म निर्माण तथा अन्य कार्यमा हामी अघि बढ्न सक्दैनौं । वन विनाश गर्नुहुन्न भनेर निकै विवाद छ । त्यसको छिनोफानो नभई निजगढ विमास्थल निर्माण अघि बढ्न पाउँदैन । वन, मोडालिटी र लगानी सुनिश्चितता भई कुनै समस्या नभए ५ वर्षभित्र निजगढ विमानस्थल बनिसक्छ । जस्तो, भारतले उत्तर प्रदेशको नोयडामा विश्वकै चौथो ठूलो विमानस्थल बनाउने घोषणा गरिसकेको छ । नेपालले पनि काम अगाडि बढाए निजगढका लागि धेरै समय कुर्नुपर्दैन । निजगढ पनि त्रिभुवन विमानस्थलकै विकल्प हो ? हो । त्रिभुवन विमानस्थलको वैकल्पिक विमानस्थलको रूपमा यसलाई अघि बढाइएको हो । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल भए पनि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विकल्प होइन । अर्को पोखरा क्षेत्रीय विमानस्थल भइहाल्यो । निजगढलाई वैकल्पिक विमानस्थलकै रूपमा अघि सारिएको हो । मुख्य कुरा निजगढ विमानस्थल बनाएर मात्रै हुँदैन, यसको बजार व्यवस्थापनमा भने ध्यान दिनैपर्छ । जस्तो, निजगढ विमानस्थल बनेपछि भारतीय सीमावर्ती सहरका नागरिकलाई यहाँ तान्न सक्नुपर्छ । दोस्रो कुरा, नेपालबाट जाने ट्रान्स हिमालय रूटको अवधारणामा पनि यसलाई कार्यान्वयन गर्न सकिन्छ । यद्यपि यो रूटमा विवाद भइरहेको छ । ट्रान्स हिमालय रूट कार्यान्वयन सफल हुँदा नेपाली आकाश हुँदै आउ/जाउ गर्ने विमानका लागि निजगढ विमानस्थल ‘ट्रान्जिट हब’ बन्नेछ । दोहा, दुबई, सिंगापुरजस्ता देशहरू ट्रान्जिट रुटकै कारण राम्रो व्यापार गर्न सफल भएका छन् । यसका लागि नेपालले मार्केटिङ गर्न जरुरी हुन्छ । हवाई सुरक्षाको विषयमा ईयूले अझै पनि कालोसूचीबाट हटाएको छैन । यसमा नेपालले नसुधारेको हो वा ईयूले शर्त थप गरेको हो ? विगतमा हामीकहाँ केही ठूला हवाई दुर्घटना भएकै हुन् । त्यसलाई आधार बनाएर ईयूले सेफ्टी (ब्ल्याक लिस्ट नभनौं) लिस्टमा राखेकै हो । तर, दुर्घटनामा के हाम्रोमा मात्रै भएका छन् । भारतमा मात्रै हरेक महिना दुईओटा विमान दुर्घटना हुन्छन् भनिन्छ । वर्षमा ७२४ वटा विमान दुर्घटना भारतमा हुने गरेको देखिन्छ । हामीकहाँ साढे ३ वर्षदेखि विमान दुर्घटना भएको छैन । दोस्रो कुरा, ईयूले जहाज सेफ्टी छैन भन्छ । तर, नेपालमा आउने जहाज ती देशबाटै आएका हुन् नि । एयरबस नेपालले बनाएको होइन, फ्रान्सबाट आएको हो । त्यहाँको जहाज ल्याउँदा नेपाल सुरक्षित हुने तर यहाँबाट ती देशमा लैजाँदा असुरक्षित कसरी हुन्छ ? यो अलिकति न्यायसंगत छैन । उनीहरूले प्राधिकरणलाई अलग–अलग गराउन भनेका छन् । यसमा हामीले काम गरिरहेकै छौं । त्यसो भए नेपालले किन यस विषयमा ईयूलाई विश्वासमा लिन सकेको छैन ? विगतमा ग्लोबल एभरेज रेटमा सुरक्षामापन जुन ६० प्रतिशत छ, त्यसमा सुरक्षाका विभिन्न ८ विधामा हामी कमजोर भएकै हो । त्यसबेला यो अवस्था ५७ प्रतिशत थियो भने अहिले हामी ६७ प्रतिशतमा छौं । सुरक्षाका विषयमा नेपाल माथि उक्लिसकेको यो बलियो प्रमाण हो । यस हिसाबले अब अप्रिलमा हुने इस्यू अडिट (यूएसओपी) मा ईयूले सेफ्टी लिस्टबाट नेपाललाई हटाउँछ होला । यसमा हामी आशावादी छौं । जागिरे जीवन यही संस्थाबाट शुरू गर्नुभयो र छोटो समयकै लागि भए पनि प्राधिकरण प्रमुख बन्नुभएको छ । कार्यकाल सकिँदै गर्दा उल्लेख्य काम के गरेजस्तो लाग्छ ? प्राधिकरणमा महानिर्देशकको रूपमा आएको २ महिना बितिसकेको छ भने आगामी पुस २५ गते कार्यकाल सकिँदै छ । देखिने गरी स्पष्ट काम गर्न नसके पनि भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा क्यालिब्रेसन उडान गराउन सफलता पाएँजस्तो लाग्छ । विगत एक/डेढ वर्षदेखि रोकिएको क्यालिब्रेसन उडानलाई कम्तीमा उडाउन सक्ने बनाइएको छ । दोस्रो, कर्मचारीवृत्तमा पनि ध्यान दिएका छौं । एयर ट्राफिक कन्ट्रोलरले १२ वर्षदेखि रेटिङ लाइसेन्स भत्ता माग गरेका थिए । यसमा पर्यटनमन्त्री र मेरो अग्रसरतामा भत्ता पाउने अवस्था बनेको छ ।