अवतरण भयो भैरहवा विमानस्थलमा नेपाल एयरलाइन्सको वाइड बडी

वैशाख १६, काठमाडौ । संघीय राजधानी काठमाडौंको २२ डिग्री तापक्रम । बिहीवार अपराह्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवन अघिल्तर यात्रुको भीडभाड ।  समूह, समूहमा भलाकुसरी गरिरहेको दृश्य कुनै मेला महोत्सवकै भान दिन्थ्यो । सायद पहिलोपटक हुनुपर्छ यती धेरै भीडभाड आन्तरिक टर्मिनलमा तर, यो भीडभाड व्यवसायिक उडानका यात्रु नभई परीक्षण उडानका लागि वाइड बडी जहाज चड्न तम्तयार यात्रु थिए । आन्तरिक यात्रुले यसै पनि भीडभाड हुने आन्तरिक टर्मिनलमा एकैपटक धेरै संख्यामा उपस्थिति हुँदा विमानस्थलमा फरक माहोल देखिन्थ्यो । नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगमका कर्मचारी, पर्यटन क्षेत्रका अगुवा संगठनका प्रतिनिधि एवं व्यवसायी तथा सञ्चारकर्मीको भीडले विमानस्थलमा नयाँ रौनक छाएको थियो ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, पर्यटन सचिव महेश्वर न्यौपाने, प्राधिकरणमा महानिर्देशक प्रदीप अधिकारीलगायत विशिष्ठ व्यक्ति एवम् चालक दलका सदस्य २६० यात्रु सवार राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्सको) वाइड बडी जहाजमा थिए । काठमाडौं विमानस्थलबाट साँझ ५:१२ बजे मुलुकको दोस्रो अन्तरराष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा वाइड बडी जहाजले उडान भरेर ५:५५ बजे अवतरण भएको थियो । काठमाडौंबाट भैरहवा २७ मिनेटको उडान भएपनि ‘अप्रेशनल पर्फमेन्स टेस्ट फ्लाइट’  भएकाले जहाजले धावनमार्ग नजिकबाट ओभरसुट गरेर राउण्ड लाएपछि अवतरण गरेको थियो ।  भैरहवाको ३८ डिग्री तापक्रमको प्रबाह नगरी काठमाडौंबाट ओलिएएको भीडले विमानस्थलमा थप उल्लासमय बनायो । स्थानीयको उपस्थिति, संघ संस्थाका प्रतिनिधि, व्यवसायी, सुरक्षाकर्मी आदिको बाक्लो उपस्थिति थियो । वाइड बडी जहाजले प्रसिद्ध लुम्बिनी क्षेत्रलाई राउण्ड मारेर अवतरण गर्दा जहाजभित्र गडडडाहत ताली बजे ।  जहाज अवतरण भएपछि पानीका फोहोरालाई स्वागत गरियो । विमानस्थल वरिपरि र भित्र जहाज हेर्ने र फोटो, भिडियो, सेल्फी खिच्नेको भीड देखियो । सामान्य अवस्थामा ४० हजारभन्दा माथि फिटमा उडान भर्ने वाइड बडी जहाजलाई १७ हजार फिटबाट उडान भर्नु पनि चानचुने विषय थिएन । वाइड बडी जहाजको चालकदलका सदस्यको नेतृत्व गर्नुभएका वरिष्ठ क्याप्टेन श्रवण रिजाललाई दोस्रो अन्तरराष्ट्रिय विमानस्थलमा वाइड बडी जहाज अवतरण गराउन पाउँदा आनन्द अनुभूति भएको बताए ।  यसले गर्दा नेपालको लुम्बिनीलाई संसारभर चिनाउछ नै यसले नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने उनको भनाइ थियो । ‘यसले इन्धन वचतमा समेत सहयोग पुग्ने । हरेक उडानमा ३५० किलो हवाई इन्धन पनि बचत हुने भएकाले यो राज्यको बचत पनि गराउछ ।’ ‘अप्रेशनल पर्फमेन्स टेस्ट फ्लाईट’  सफलतापूर्वक सम्पन्न भएको छ । ‘गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा हवाई रुट, प्रोसिउडर डिजाइनिङ कुनैमा समस्या छैन’, क्याप्टेन रिजालले भने । विमानस्थलको धावनमार्ग काठमाडौंबाट आउने २–८ र पश्चिमतर्फ लुम्बिनीबाट आउने १–० रुटको दुवैतर्फबाट वाइड बडीले अवतरणको प्रयास गरेको थियो । दुवैतर्फबाट जहाज सहजरुपमै अवतरण गर्नसकिने क्याप्टेन रिजालको भनाइ छ ।  काठमाडौंबाट आएको वाइड बडी जहाज २–८ बाट अवतरण भएको थियो । अहिलेको लागि १–० रुट नै सहज हुने क्याप्टेन रिजालले बताउनुभयो । अब अन्तर्राष्ट्रिय उडानका जहाज नेपालको हवाई प्रवेशबिन्दु सिमराबाट नेपाल प्रवेश गरी नारायणघाट हुँदै गौतमबुद्ध विमानस्थलमा अवतरण गर्नेछन् । वाइड बडी जहाजको भैरहवा अवतरण सामान्य थिएन । नेपालको उड्डयन इतिहासमा दोस्रो अन्तरराष्ट्रिय विमानस्थलमा पहिलो पटक ठूलो जहाजले उडान गरेको क्षण नयाँ परिघटना नै थियो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि  अर्को नयाँ अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नेपालमा दोस्रो विमानस्थल औपचारिक रुपमा सञ्चालनमा आउनु मुलुकका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । उनले भने, ‘नेपालको भूमिमध्ये काठमाडौं बाहेक अन्य भूमिमा पहिलो पटक वाइड बडी जहाज अवतरण गर्दैछ । नेपालको हवाई क्षेत्रको इतिहासको ७४ वर्षे इतिहासमा यो कोसेढुंगा भएको छ । अहिलेसम्म ठूला जहाज काठमाडौंमा मात्र उडान अवतरण गरिरहेका थिए ।’ विमानस्थलमा करीब दुई घण्टाको औपचारिक कार्यक्रमपछि काठमाडौंबाट गएको मन्त्रीसहितको टोली वाइड बडी जहाजमार्फत राति १०ः३० बजे काठमाडौं फर्किएको थियो । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बहुप्रतिष्ठित गौतमबुद्ध गौतमबुद्ध विमानस्थल वैशाख १५ देखि दैनिक १८ घण्टा र आगामी जेठ २ गतेदेखि २४ घण्टा अन्तरराष्ट्रिय व्यावसायिक उडान सञ्चालन हुनेछ । महानिर्देशक अधिकारीले राष्ट्रिय गौरवको आयोजना सम्पन्न भएर पूर्ण कार्यान्वयनमा आएको पहिलो आयोजना भएको बताए । अन्तरराष्ट्रिय विमानस्थल गत जेठ ८ गतेदेखि विधिवत् रुपमा सञ्चालनमा आइसकेको छ । यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न भइसकेको यो विमानस्थलमा आगामी जेठ २ गते बुद्ध पूर्णिमाका दिनदेखि नियमित अन्तरराष्ट्रिय उडान सञ्चालन हुनेछ । जजीरा एयरले उडान अनुमति लिएर आवश्यक तयारी गरिरहेको छ । अन्य एयरलाइन्सले पनि विमानस्थलबाट उडान भर्न चासो देखाएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन हुने प्राधिकरणले जानकारी दिएको छ । गौतमबुद्ध विमानस्थल रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो । राष्ट्रिय गौरबका आयोजनामध्ये चाडो प्रगति हासिल गर्ने नमूना आयोजना भएको प्राधिकरणको बुझाइ छ । सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ को सुरूमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापर्बाहीले अवरोध भएको थियो । पछिल्लो पटक सन् २०२० को मार्च महीनासम्म निर्माण सक्ने योजना रहे पनि कोभीड महामारीका कारण करीब ५ वर्षपछि विमानस्थल व्यावसायिक रुपमा सञ्चालनमा आएको हो । विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको हो । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाको पहिलो चरणमा करीब रू. ११ अर्ब खर्च भएको प्राधिकिरणले जानकारी दिएको छ । हालसम्म विमानस्थलको मुआब्जासहित रू. ३१ अर्ब अर्च भएको प्राधिकरणले जानकारी दिएको छ ।  अब दोस्रो चरणको टर्मिनल भवन पनि छिट्टै निर्माण प्रक्रिया अघि बढाइने छ । कुल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ । रासस

सम्बन्धित सामग्री

जहाज ‘ओभरसुट’ : जोखिम कि सुरक्षित ? के भन्छन् विज्ञहरू ?

काठमाडौं । यही वैशाख २७ गते भारतको नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाजले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टीआईए) मा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गर्‍यो ।  काठमाडौं विमानस्थलमा दिउँसो ‘मिस एप्रोच’ भएपछि उक्त जहाजले ओभरसुट गरेर सिमरामाथिको आकाशमा करिब एक घण्टा आकाशमा फन्को लगाउने ‘होल्ड’ भएर पुनः अवतरणको प्रयास गर्‍यो । जहाज अवतरण हुन नसकेपछि भारतको बनारस डाइभर्ट भएको विमानस्थल कार्यालयले जनाएको छ ।  त्यस दिन एयर इण्डियासहित अन्तरराष्ट्रिय उडानका तीन जहाज भारतको बनारस र लखनऊ डाइभर्ट भएका थिए । फ्लाई दुबई र इन्डिगो एयरको जहाज पनि लखनउ डाइभर्ट भएको थियो ।  विमानस्थलका एक एयर ट्राफिक कन्ट्रोलर (एटीसी) का अनुसार उक्त दिन ‘टेल वीन’ (पछाडिबाट लागेको हावा)का कारणले जहाज अवतरण समस्या आएको थियो । अन्तरराष्ट्रिय उडानका ठूला जहाज धावनमार्गको दक्षिणतर्फबाट मात्रै अवतरण हुन्छ । दक्षिणतर्फ तीव्र गतिको हावा चलेकाले जहाज अवतरण हुन नसकेको विमानस्थलको भनाइ छ ।  त्यस्तै वैशाख १६ गते दिउँसो नयाँ दिल्लीबाटै काठमाडौं आएको एयर इण्डियाको जहाजले ओभरसुट गरेको थियो । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार उक्त जहाज ‘अनस्टेबल एप्रोच’ भएकाले ओभरसुट गरेको हो ।   यसरी एक महिनामै एयर इण्डियाको जहाजले दुई पटक ओभरसुट गर्‍यो । जहाज अनस्टेबल एप्रोच भएर तथा कहिलेकाहीं एप्रोच प्रोफाइल नमिलेर, जहाज हाई अल्टिच्युट भएर आउँदा पनि ओभरसुट गर्नुपरेको विज्ञहरू बताउँछन् । जहाज ओभरसुट र होल्ड हुँदा सुरक्षाका हिसाबले निकै जोखिम हुने टिप्पणी हुँदै आएको छ । तर, जहाज ओभरसुट र होल्ड हुँदा जोखिम नभई थप सुरक्षित हुने उहाँहरूको भनाइ छ ।  नेपाल वायुसेवा गिनम (नेपाल एयरलाइन्स)का एक वरिष्ठ पाइलटका अनुसार ‘अनस्टेबल एप्रोच’ का कारण जहाजले ओभरसुट गर्छन् । ‘ओभरसुट सबैभन्दा बढी सुरक्षित हो, ओभरसुटलाई त हामीले ‘इन्करेज’ गर्नुपर्छ,’ उनले भने, ‘ओभरसुटलाई अनस्टेबलाइज एप्रोच भन्छ, ९० प्रतिशत धावनमार्गमा हुने दुर्घटना ओभरसुटका कारण हुन्छन् ।’  नेपालमा ओभरसुटलाई नकारात्मकरूपमा लिने गरिए पनि संसारभर ओभरसुटलाई सकारात्मक रूपमा लिइन्छ र सम्बन्धित मुलुकको ‘एभिएसन अथ्योरिटी’ले कारबाही गर्दैनन् । तर, नेपालमा ओभरसुट भएपछि नियामक निकायले स्पष्टीकरण लिने गरेको ती वरिष्ठ पाइलटको भनाइ छ ।  जहाज अनस्टेबल एप्रोच भएर तथा कहिलेकाहीं एप्रोच प्रोफाइल नमिलेर ओभरसुट हुन्छ । कहिलेकाहीं धावनमार्गमा केही वस्तु देखिएमा पनि जहाज ओभरसुट गरिन्छ ।  विसं २०७९ वैशाख १ गते भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान भरेर काठमाडौं फर्किएको नेपाल एयरलाइन्सको ‘वाइड बडी’ जहाज अवतरण हुनैलाग्दा ओभरसुट गरेको थियो । पाइलटले धावनमार्गमा प्लास्टिकको सामान देखेपछि एटिसी टावरलाई जानकारी गराएर जहाज ओभरसुट गरी पुनः अवतरण गरेका थिए ।  ‘पहिला म्यान्डेटरी एप्रोच पनि भनिन्थ्यो ओभरसुटलाई । तर, अहिले आएर सम्भावित जोखिम न्यूनीकरणका हिसाबलाई यसलाई सकारात्मक रूपमा लिइन्छ, त्यसैले अहिले संसारमा ओभरसुटको विषयलाई लिएर प्रश्न नै नगर्ने भन्ने प्रवृत्ति बनिसकेको छ,’ उनले भने ।   जोखिम मोलेर अवतरण गर्नुभन्दा ओभरसुट गर्नु बढी सुरक्षित भएकाले जहाजले ओभरसुट गर्ने गरेको वरिष्ठ पाइलटको भनाइ छ । विमानस्थलका प्रवक्ता सिटौलाको भनाइमा टीआईएमा दक्षिणतर्फबाट मात्रै ठूला जहाज अवतरण हुने भएकाले जहाज होल्ड हुने र ओभरसुट हुनेगरेको छ । जसका कारण विमानस्थललाई चाप परेको छ । एयर ट्राफिक जाम पनि हुन्छ ।  विशेष गरी चैत–वैशाखमा धावनमार्गको दक्षिणतर्फबाट बढी हावा चल्ने भएकाले टीआईएमा जहाजले ओभरसुट गर्ने र होल्ड हुने गरेका छन् ।  कतिपय अवस्थामा कम्पनीको नियम अनुसार पनि जहाजले ओभरसुट गर्छन् । यसरी ओभरसुट गरेको जहाजले एक राउन्ड लगाएर करिब २० मिनेटको समयावधिमा पुनः अवतरण गर्ने गरेको विमानस्थलले जनाएको छ । सिमरामाथिको आकाशबाट काठमाडौं विमानस्थलमा एप्रोच लिनुपर्ने हुन्छ । अन्तरराष्ट्रिय उडानका जहाजले काठमाडौं विमानस्थलमा अवतरण गर्दा सिमरामाथिको आकाशबाटै एप्रोच लिने गरेका छन् ।  यसरी ओभरसुट भएका जहाजका कारण एप्रोचका लागि विभिन्न गन्तव्यबाट आइरहेका अन्य जहाज होल्डमा पर्छन् । यसले अन्तरराष्ट्रिय विमानस्थलमा एयर ट्राफिक जाम पनि बढाउने गरेको छ । आन्तरिक उडानका जहाजलाई पनि चाप पर्छ । अहिले पनि अन्तरराष्ट्रिय विमानस्थमा दैनिक एक घण्टासम्म जहाज होल्ड हुने गरेका छन् । विमानस्थलको चापले आन्तरिक उडानका जहाजलाई पनि समस्या हुने गरेको छ ।  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टीआईए) अति व्यस्त विमानस्थलमा पर्छ । यो विमानस्थल स्थापनाको करिब ७२ वर्षपछि थप दुई अन्तरराष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । हाल मुलुकमा तीन अन्तरराष्ट्रिय विमानस्थल छन् । कुल ९२ लाख यात्रु क्षमताको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बर्सेनि बढिरहेको छ । यो विमानस्थलको विकल्पको रुपमा पनि गौतमबुद्ध विमानस्थललाई लिइएको थियो । उक्त विमानस्थलमा अत्याधुनिक उपकरणयुक्त छ ।  मौसम खराबी भएको अवस्थामा काठमाडौं विमानस्थलमा अवतरण गर्न नसकेका जहाज भैरहवा विमानस्थलमा सहजै अवतरण गर्नसक्ने गरी यान्त्रिक प्रणाली जडान गरिएको छ ।  तथापि यो विमानस्थलको भरपुर उपयोग हुन सकेको छैन । काठमाडौं विमानस्थलमा अवतरण हुन नसकेका जहाज र होल्ड भएका कतिपय जहाजले गौतमबुद्ध विमानस्थल अवतरण गरेका हुँदैनन् । डाइभर्ट भएका अन्तरराष्ट्रिय उडानका जहाज अझै पनि भारतको बनारस, लगनऊ, कोलकात्ता जाने गरेका छन् ।  गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा अन्तरराष्ट्रिय विमानस्थल बनेपछि टीआईएमा चाप कम हुने अनुमान गरिएको थियो । तर, तीन अन्तरराष्ट्रिय विमानस्थल भए पनि टीआईएको उडान चाप उत्तिकै छ । दुई विमानस्थलले विजनेश पाएका छैनन् ।       दैनिक एक घण्टा होल्ड       यही वैशाख १९ गते कतार एयरवेजको जहाज करिब एक घण्टा होल्ड भयो । दोहाबाटै काठमाडौं आएको नेपाल एयरलाइन्सको जहाजले तीन फन्का मारेको थियो । भारतको नयाँदिल्लीबाट आएको इण्डिगो एयर पनि केहीबेर होल्डमा बसेको थियो । कतिपय मौसमको खराबीले र कुनै कम्पनीको नियमअनुसार  ‘भिजिबिलिटी’ हेरेर मात्रै अवतरण गर्छन् ।     टीआईएमा दैनिक आन्तरिक र अन्तरराष्ट्रिय गरी दैनिक तीन सयभन्दा बढी उडान हुने गरेको छ । अन्तरराष्ट्रियमा तीन नेपालीसहित २९ एयरलाइन्सले अन्तरराष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ ११ हेलिकोप्टर कम्पनीसहित २० हवाई सेवा प्रदायक कम्पनीले सेवा सञ्चालन गरिरहेका छन् । रासस