काठमाडौँ । नेकपा (मसाल), नेकपा (क्रान्तिकारी–माओवादी) लगायत २३ राजनीतिक दल तथा सङ्घसंस्थाले प्रतिनिधि सभा विघटनको परिघटनालाई प्रतिगमनउन्मुख फासिवादी कदम बताएका छन् ।
२०७७ पुस १५ गते राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालय कपनमा बसेको २३ दलको बैठकद्वारा गरिएको निर्णयमा भनिएको छ– प्रधानमन्त्री केपी शर्मा मन्त्रिमण्डलको सिफारिसमा पुस ५ गते राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन गरिनु “प्रतिगामीउन्मुख फासीवादी कदम हो भन्ने सहमति भयो” ।
एवम् प्रकारले बैठकले प्रतिनिधि सभा विघटनलगायत राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषयमा आगामी पुस १९ गते नयाँ बानेश्वरमा विरोधसभा सम्पन्न गर्ने निर्णय गरिएको राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्माले बताउनुभयो ।
शर्माका अनुसार पुस १९ गते दिउसो १२ बजे माइतीघर मण्डलामा जम्मा भएर जुलुससहित नयाँ बानेश्वर पुग्ने छ; र, त्यहाँ विरोधसभा सम्पन्न गरिने छ ।
बैठकमा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्मा, नेकपा (क्रान्तिकारी–माओवादी) का सिपी गजुरेल, नेकपा (माले) का डम्बर श्रेष्ठ, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका धनकुमारी सुनार, नेपाल कम्युनिस्ट पार्टीका लोकनारायण सुवेदी, नेकपा (संयुक्त) का चन्द्रदेव जोशी, नेकपा (बोल्सेभिक) का रविन्द्र श्रेष्ठ, नेकपा (माक्र्सवादी) का रामहरि पोख्रेल, नेकपा (माओवादी–केन्द्र) का राजन तिमल्सिना, नेकपा माक्र्सवादी (पुष्पलाल) का अच्युतराज ज्ञवाली, एमसिसी खारेज अभियानका नारायण शर्मा, माक्र्सवादी एकता अभियानका राजेन्द्र रेग्मी, राष्ट्रिय जागरण मञ्चका गुणराज लोहनी र नेपाल सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी) भावना विद्रोहीलगायतको हस्ताक्षर रहेको छ ।