काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्ची आयोजनाको पानी आउन समय लाग्ने भएपछि त्यसको तत्कालीन विकल्प खोजिने भएको छ । उपत्यकामा भएका स्रोतको संरक्षण र विभिन्न स्थानमा डिप बोरिङ खन्न लागिएको हो ।
मेलम्चीको पानी नआउँदासम्म भएका खानेपानीको स्रोत परिचालन गरेर वितरण गरिने योजना बनाइएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले जानकारी दिए । उनका अनुसार उपत्यकाभित्रै दैनिक एक करोड लिटर पानी उपलब्ध हुनेगरी योजना बनाइएको छ ।
अहिले भइरहेका मुहान संरक्षण गरेर त्यहीँबाट बढी पानी लिन लागिएको बताइएको छ । पुराना ट्युबवेल संरक्षण गर्न थालिएको छ । उपलब्ध पानीको परिमाण बढेपछि तालिका हेरफेर गरेर वितरण गरिने शाक्यले बताए । उपत्यकामा कतिपय स्थानका सेवाग्राहीले आफ्नो घरमा पानी नआएको भनी गुनासो गर्दै आएका छन् । ‘ती स्थानमा पनि ट्यांकरबाट सार्वजनिक ट्यांकीमा भरेर सुक्खा व्यवस्थापन गरिनेछ,’ उनले भने ।
केयूकेएलले उपत्यकाभित्रै खानेपानीको क्षमता बढाउन १० स्थानमा ट्युबवेल खन्न लागेको छ । भइरहेका मुहान बढाउँदा र डिप ट्युबवेल गरी हाल भइरहेको पानीमा एक करोड लिटर थप हुनेछ । हाल उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ । वर्षामा झन्डै १७ करोड र हिउँदमा त्योभन्दा कम उपलब्ध गराउन सकिएको केयूकेएलले बताएको छ । हिउँद लागेसँगै अहिले पानीको उपलब्धता घटेर दैनिक ८ देखि ९ करोड लिटर पानी वितरण भइरहेको छ ।
केयूकेएल अन्तर्गत सम्बन्धित शाखाले आफ्नो क्षेत्रमा कुन कुन बार र कति बजे पानी वितरण गरिने भनी फेसबुक पेजबाट तालिका राख्ने गरेको छ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले वैकल्पिक पानीको स्रोतको पनि अध्ययन गरिरहेको छ । सिस्नेरी, कुलेखानी लगायतका पानीको स्रोतको पनि सम्भाव्यता अध्ययन भइरहेको छ ।
केयूकेएलले उपत्यकामा जग्गा उपलब्ध हुनसक्ने ठाउँमा डिप वेल निर्माण गरिरहेको छ । सानेपा–बल्खुमा एउटा निर्माण सकिएको छ भने गोकर्ण, भक्तपुर लगायतका ठाउँमा निर्माण भइरहेको छ । स्थानीय तहले सार्वजनिक जग्गा उपलब्ध गराउँदा अध्ययन गरेर सम्भावना भएमा खन्ने गरिएको छ । काठमाडौं उपत्यकामा दशकौंदेखि खानेपानीको समस्या छ । पानीको समस्या हटाउन मेलम्चीको पानी ल्याउन लागिएको थियो । मेलम्चीमा भएको दुर्घटनाका कारण पानी आउन रोकिएपछि पुनः समस्या बढेको छ । रासस