वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले हालै सार्वजनिक गरेको अध्ययनले कर्णालीमा सौर्य ऊर्जा र साना जलविद्युत् आयोजना सञ्चालनबाट विद्युतीकरण गर्न सम्भव रहेको देखाएको छ । तर, यसका लागि २० अर्ब बराबारको बजेट आवश्यक देखिन्छ । राष्ट्रिय योजना आयोगले सन् २०२२ सम्म सबै स्थानीय तहमा ५ सयदेखि १ हजार किलोवाटसम्मको विद्युतीकरण गर्ने योजना बनाएको छ । योजनाअन्तर्गत कर्णालीमा ४३.१३ मेगावाट जलविद्युत् उत्पादन गर्न १५ अर्ब ८२ करोड लागत रहने अनुमान गरिएको छ । तर, ३३ मेगावाट सौर्य ऊर्जाका लागि भने ५ अर्ब ५१ करोड र ०.३ मेगावाट जैविक आयोजनाका लागि ९ करोड ६९ लाख लाग्ने अनुमान केन्द्रका निर्देशक मधुसुदन अधिकारीले बताए । अधिकारीका अनुसार कर्णालीका जलविद्युत्मा प्रतिकिलोवाट ३ लाख ६६ हजार, सौर्य ऊर्जामा प्रतिकिलोवाट १ लाख ६७ हजार र जैविक ऊर्जामा प्रतिकिलोवाट २ लाख ९० हजार लागत लाग्ने अनुमान छ ।