विराटनगर (अस) । प्रदेश १ प्रदेशसभाको दशौं तथा बजेट अधिवेशन जेठ १६ गते सोमवारका लागि आह्वान गरिएको छ । मंगलवार प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति प्रकाशित गर्दै प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरेको जानकारी दिएको हो । जेठ ९ गते अपराह्न बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको अधिवेशन बोलाउन प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सिफारिश गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिश बमोजिम प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेका हुन् । आउँदो सोमवारदेखि शुरू हुने प्रदेशसभा बैठकमा प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरी छलफल गर्ने र पूर्व बजेट छलफल गर्ने बताइएको छ ।
प्रदेशसभामा प्रदेश प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८, प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक २०७८, प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ र केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७८ छलफलका क्रममा छन् ।