काठमाडौं । लघुबीमा कम्पनी प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले सेवा शुरु गरेको छ । सुदुरपश्चिम प्रदेशको धनगढीमा केन्द्रीय कार्यालय रहेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले विहीवारबाट कारोबार शुरु गरेको हो ।
नेपाल बीमा प्राधिकरणले प्रोटेक्टिभ माइक्रोलाई अन्य सम्पत्ति बीमा पोलिसीका लागि स्वीकृति दिएसँगै कम्पनीले सेवा शुरु गरेको हो । कम्पनीको उद्घाटन नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले गरे ।
कम्पनी सञ्चालक समितिको अध्यक्षमा कृतिका अग्रवाल र कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नरेश कुमार रोक्का छन् । कार्यक्रममा सीईओ रोक्काले प्रोटेक्टिभ माइक्रोले न्यून आय भएका सबै वर्गमा लघु जीवन बीमा सुबिधा उपलब्ध गराउने बताए ।
प्रोटेक्टिभ माइक्रोले सेवा शुरु गरेसँगै नेपालमा व्यवसायिक कारोबार थाल्ने लघु बीमा कम्पनीहरूको संख्या चार पुगेको छ । यसअघि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले कारोबार शुरु गरिसकेका छन् । प्राधिकरणका अनुसार अन्य तीनओटा लघु बीमा कम्पनीहरू पनि व्यावसायिक कारोबार थाल्ने प्रक्रियामा छन् ।