चैत २६, कोलम्बो । श्रीलंकाको केन्द्रीय बैंकको गभर्नरमा बरिष्ठ अर्थशास्त्री डा नन्दलाल वीरासिङ्घे नियुक्त भएका छन् ।
सरकारले उनलाई नयाँ गभर्नरमा नियुक्त गरेकोहो । श्रीलंकामा आर्थिक संकट उत्पन्न भएपछि श्रीलंकाका तत्कालिन गभर्नर अजिथ निभार्द चार्बालले यसअघि राजीनामा दिएका थिए । उनले पदबाट राजीनामा दिएपछि भने उनलाई विदेश यात्रामा प्रतिबन्ध लगाइएको छ । आर्थिक संकटको आरोपपछि श्रीलंकाको एउटा अदालतले हालै राजीनामा दिएका उनलाई विदेश यात्रामा प्रतिबन्ध लगाएको छ।
गभर्नरमा नव नियुक्त वीरासिङ्घे यसअघि कोलम्बो विश्वविद्यालयमा कार्यरत थिए । अर्थशास्त्रमा विशेष दख्खल रहेका उनले अर्थशास्त्र सम्वन्धी अनुसन्धान र अध्यापन पनि गर्दै आएका छन् ।
उनी मलेशियाको वियसान केन्टरमा पनि आवद्ध छन् भने अष्ट्रेलियाको राष्ट्रिय विश्वविद्यालयमा सार्वजनिक नीति र व्यवहारिक अर्थतन्त्र विश्लेषण केन्द्रको सल्लाहकार समिति सदस्यपनि छन् ।
यसैगरी सरकारले एमएम सिरिवार्धनालाई अर्थ मन्त्रालयको नयाँ सचिवको जिम्मेबारी दिएको छ । उनीहरुलाई राष्ट्रपति गोताबाय राजापाक्षले बिहीवार नियुक्ति पत्र दिएका छन् ।
त्यसैगरी अर्थ सचिवमा नियुक्त सिरिवर्धनाले अन्तरराष्ट्रिय वित्तिय कोषको तर्फबाट श्रीलङ्का, भारत, बङ्लादेश र भुटानका लागि बैकल्पिक निर्देशकको रुपमा काम गरेका छन् । उनले श्रीलङ्काको आर्थिक विभागको महानिर्देशकको रुपमा समेत काम गरेका छन् ।
राष्ट्रपति राजापाक्षले यसअघि गत बुधबार अर्थशास्त्री तथा विज्ञहरुलाई सहभागी गराएर सल्लाहकार समूह गठन गरेका थिए । श्रीलङ्कामा अहिले आर्थिक सङ्कटसँगै राजनीतिक संकट पनि उत्पन्न भएको छ । तत्कालिन मन्त्रीहरुले राजीनामा दिएका छन् भने आम नागरिक आन्दोलनमा छन् । रासस/ एएनआई