असार २८, ताईपेई (ताइवान) । ताइवानी प्रविधि कम्पनीहरु फक्सकोन र ताइवान सेमिकन्डक्टर म्यानुफयाक्चरिङ कम्पनी (टीएसएमसी) ले कोरोना भाइरस विरोधी खोपको १ करोड मात्रा किन्ने भएका छन् ।
दुई ओटा कम्पनीले जर्मन कम्पनी बायोएनटेकसँग ३५ करोड डलर मूल्य बराबरका खोप किन्न लागेका हुन् । ताइवानले महीनौंदेखि बायोएनटेकसँग खोप किन्न खोजिरहेको छ । तर चीनले सम्झौतामा अड्को थापिरहेको आरोप ताइवानको छ ।
चीनले भने सो आरोपको खन्डन गरिरहेको छ । सम्झौता अनुसार फक्सकोन र टीएसएमसी दुबैले ५०/ ५० लाख मात्रा ओप किनेर सरकारलाई दान दिनेछन् । सम्झौताका घोषणा बायोएनटेकको चिनियाँ विक्री एजेन्ट शाङहाई फक्सकोन फर्मास्युटिकल ग्रुपले एक विज्ञप्तिमा गरेको हो ।
ताइवानलाई सकेसम्म छिटो सुरक्षित र प्रभावकारी खोप उपलब्ध गराउन आफूहरुले आफ्ना साझेदारहरुसँग नजिक रहेर काम गर्ने फक्सकोन फर्माका अध्यक्ष तथा प्रमुख कार्यकारी वु यिफाङले विज्ञप्तिमा भनेका छन् । बायोएनटेकले अमेरिकी फर्मा कम्पनी फाइजर इंकसँग मिलेर कोरोना भाइरस विरोधी खोप बनाएको हो ।
हालैका दिनमा कोरोना भाइरस विरोधी खोप कार्यक्रमलाई तीव्रताका साथ अगाडि बढाउन ताइवान सरकारले सर्वसाधारणबाट चर्को दबाबको सामना गरिरहेको छ ।
अहिलेसम्म ताइवानको जनसंख्याको शून्य दशमलव ३ प्रतिशतले मात्रै पूर्ण रुपमा खोप लगाएको छ । एजेन्सी