कात्तिक २४, महेन्द्रनगर । कञ्चनपुरको दोधारा - चाँदनीमा स्थापनाको प्रस्ताव गरिएको सुक्खा बन्दरगाहको वातावरण प्रभाव मूल्याङ्कन(ईआईए) को काम सकिएको छ ।
दोधारा चाँदनीको मायापुरी र गौरीशङ्कर सामुदायिक वन क्षेत्रमा स्थापना गर्ने सुक्खा बन्दरगाहको कागजी कामसमेत सकिएको र वाणिज्य तथा आपूर्ति मन्त्रालय र वन मन्त्रालयमा स्वीकृतिका लागि प्रक्रिया शुरु भइसकेको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए।
‘केही समयअघि मात्रै ईआईएका लागि फिल्डमा काम थालेका थियौं’, निर्देशक गजुरेलले भने, ‘सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन र गुरुयोजनासमेत बनिसकेको छ ।’ उनले ईआईए स्वीकृतिपछि अन्य काम थालिने बताए। विसं २०६२/ ०६३ को जनआन्दोलन सकिएसँगै कञ्चनपुरको दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बनाउने प्रस्ताव तत्कालिन सरकारले अघि सारेको थियो । यहाँ स्थापना हुने सुक्खा बन्दररगाह र एकीकृत जाँच चौकीको गुरुयोजनासमेत बनिसकेको छ ।
तीन वर्ष १० महीनाभित्र सुक्खा बन्दरगाह बनाउन लक्ष्य रहेको इन्टरमोडल यातायात विकास समितिको भनाइ छ । २७८ बिघा क्षेत्रफलमा बन्ने बन्दरगाह निर्माणका लागि ७ अर्ब रुपैयाँ लागत अनुमान गरिएको कार्यकारी निर्देशक गजुरेलले बताए।
सुक्खा बन्दरगाह भित्र कष्टम, वेट ब्रजि, बैंक कष्टम, ल्याब, वायर हाउस, ट्रक पार्किङ, वाटर ट्यांक एरिया, डिष्पोजल एरिया, प्रहरी फोर्स, क्वारेन्टाइन ब्लक, रेलवे प्लाटफम, रेलवे वायर हाउस र कन्टेर यार्डलगायत संरचना बन्नेछन् ।
त्यसैगरी कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जङ्गबहादुर मल्लले सुक्खा बन्दरगाह निर्माणमा ढिलाइ गर्न नहुने बताएका छन् । उनले दशक अघिदेखि सुक्खा बन्दरगाह निर्माणको तरखर रहे पनि शुरु हुन ढिलाइ भइरहेको बताए ।
‘सुक्खा बन्दरगाह सञ्चालनमा आए सुदूरपश्चिमकै समृद्धिका लागि ठूलो टेवा पुग्छ’, अध्यक्ष मल्लले भने, ‘सुक्खाबन्दरगाहको निमार्णमा निजी क्षेत्र सहयोग गर्न तयार छ ।’
रासस