झापा । धुलाबारी-भद्रपुर सडकखण्ड कालोपत्र भए पनि हडिया खोलाको पुल भने पुरानो र सडक कालोपत्र बिच्छ्याइए पनि पुल साँघुरो जीर्ण छ । नवनिर्मित सडक सात मिटर चौडाइ र नौ किलोमिटर लम्बाइको छ ।
पूर्वी नाकाबाट भद्रपुर विमानस्थल जान छोटो दूरीको फराकिलो दुई लेनको सडकमा कालोपत्र गर्ने कार्य भर्खरै सकिएको छ । सोही सडकखण्डकै बीचमा रहेको हडिया खोलामा १८ वर्षअघि बनेको पुलको अवस्था दयनीय हुँदा उपभोक्तालाई भने सडकमा कालोपत्र बिच्छ्याइए पनि यात्रा गर्न सास्ती छ । ज्यामिरगढी र भद्रपुरको बीचमा रहेको हडिया खोलामा १८ वर्षअघि सडक डिभिजन कार्यालय दमकले पुल निर्माण गरेको थियो ।
सो पुलमा लगाइएको रेलिङ भत्किएको छ भने पुलको भद्रपुरतर्फको भागमा भ्वाङ परेको छ । दुई लेनको सडकमा एक लेनको साँघुरो पुल असुविधाजनक छ । भौतिक पूर्वाधार कार्यालय भद्रपुरका इञ्जिनीयर उत्तम खरेलले दुई दिनअघि मात्र सडकको कालोपत्र गर्ने कार्य सकिएको जानकारी दिँदै भने, ‘सडकसँगै पुल पनि फराकिलो चाहिन्छ, यस विषयमा छलफल चलिरहेको छ ।’
सडकसँगै नयाँ पुल बनाउनुपर्ने स्थानीय कमल राजवंशीले माग गरे । सो क्षेत्रका प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले पुल बनाउन बजेट व्यवस्थाका लागि आश्वासन दिएको इन्जिनीयर खरेलले बताए । बजेटको व्यवस्था भयो भने अर्को आर्थिक वर्षभित्र पुल बनाउन सकिने उनले बताए । -रासस