पुस २२, काठमाडौं। स्थानीय तहको वाणिज्य बैंकमा रहेको सञ्चित कोषको ८० % रकमलाई बैंकले निक्षेपको रुपमा गणना गरेपछि सीडी रेसियो ९० प्रतिशतभन्दा तल आएको छ ।
यसअघि स्थानीय तहको कोषमा रहेको रकमको ५० प्रतिशत रकमलाई मात्रै निक्षेपमा गणना गर्न पाउने व्यवस्था रहेकोमा राष्ट्र बैंकले सोमबार मात्रै त्यसलाई ८० प्रतिशत पुर्याएको थियो ।
उक्त निर्णयपछि मंगलवार बैंकिङ प्रणालीमा एकैपटक ३० अर्ब रुपैयाँ निक्षेप बढेको छ । अहिले बैंकिङ प्रणालीमा ४८ खर्ब ४६ अर्ब रुपैयाँ निक्षेप पुगेको छ। ऋण विस्तार भने १ अर्ब रुपैयाँले वृद्धि भएर ४६ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ।
स्थानीय तहको कोषको पैसलाई निक्षेपमा गणना गरेका कारण ३० अर्ब रुपैयाँ निक्षेप बढी देखिएको र सीडी रेसियो पनि ९० प्रतिशतभन्दा तल आएको राष्ट्र बैंकमा सह-प्रवक्ता नारायण प्रसाद पोखरेलले बताए।
सोमवारसम्म बैंकहरुको कूल निक्षेप ४८ खर्ब १६ अर्ब रुपैयाँ र सीडी रेसियो ९० दशमलव ४५ प्रतिशत रहेको थियो ।प्रणालीमा निक्षेप बढी देखिए पनि वास्तविक निक्षेप नआएका कारण अन्तर बैंक सापटीको ब्याजदर भने सोमवारको तुलनामा बढेको छ । सोमवार ४ दशमलव ९७ प्रतिशत रहेको अन्तर बैंक ब्याजदर मंगलवार ४ दशमलव ९८ प्रतिशत पुगेको छ ।
अल्पकालिन सापटीको ब्याजदर भने ९१ दिनको ५ दशमलव शून्य ७ प्रतिशत र १८२ दिनको लागि ५ दशमलव १० प्रतिशत रहेको छ । २८ दिनको सापटीको ब्याजदर भने शून्य दशमलव १७ प्रतिशत रहेको छ ।