बागलुङ । दुई दिनदेखि बागलुङ कालिका परिसरमा ठूलो भीडभाड छ । यतिबेला यहाँ चैते दशैंको मेला लागेको छ । मेलाको त्यो रमझमका बीचमा आठ÷दश बूढापाका र अर्धबैसे युवा आफ्नै धुनमा देखिन्छन् ।
चार दिनअगाडि बडिगाड गाउँपालिका–४, जलजलाबाट आएका उनीहरूलाई मेलाको भन्दा बढी डालो, नाङ्लो र डोरी बेच्ने चटारो छ । तर, सयौंको सङ्ख्यामा डालो र नाङ्लो फिजाएर बसेका उनीहरूको अनुहारमा निराशा देखिन्छ ।
त्यही बीचमा एक वृद्ध पनि ‘मिलाएर लैजानूस् न’ भन्दै ग्राहकसँग आग्रह गर्छन् । उनी हुन्– जलजलाका ६३ वर्षीय चन्द्रबहादुर विक । पहिले–पहिले चैते दशैंमा अत्यधिक मात्रामा डालो र नाङ्लो बिक्री हुने हुँदा यसपालि पनि विकसहित बडिगाडदेखि १५ जना विक्रीका लागि आएका हुन् ।
एक दशक अगाडिसम्म डाला र नाङ्ला व्यापार गर्न उनीहरूलाई भ्याइनभ्याइ हुने गर्थ्यो । तर, केही वर्षयता यसले बजार पाएको छैन । मेला छेउकै बाँझो जमिनमा निकै आकर्षक रूपमा फूलबुट्टा भरेको डालो र नाङ्लो मेला भर्न गएकाले नियाल्छन् । तर, किन्दैनन् ।
डाला र नाङ्लासँगै छेउमै राखेका प्लास्टिकका सामान भने धमाधम विक्री भइरहेको देखिन्छ । झन्डै सय किलोमिटर पश्चिमबाट डालो र नाङ्लो बेच्न आएका उनीहरूलाई खाली हात घर फर्किनुपर्ला भन्ने चिन्ताले सताएको छ । दिनभरिमा दुई/चार ओटा डालो विक्री भए पनि त्यो खाना र बस्नका लागि ठिक्क भएको छ ।
मेलामा मात्रै होइन, पछिल्लो समय ग्रामीण क्षेत्रमा पनि यस्ता सामग्रीले बजार पाउन सकेको छैन । उत्पादन भएका सामग्री नै विक्री नभएपछि शीप नै हराउन थालेको छ । चार दिनमा आठ/दश ओटा डालो मात्रै विक्री भएको विक बताउँछन् ।
उनी कमाइका लागि गाउँभन्दा धेरै टाढा व्यापार गर्न आएको र मेला सकिँदासम्म विक्री नभए सित्तैमा छोडेर जानुको विकल्प नभएको गुनासो गर्छन् । विक भन्छन्, ‘बागलुङको चैते दशैं मेला भन्नेबित्तिकै व्यापार गर्ने मेला भनेर सम्झिन्थ्यौं । गाउँमा भएका सबै उत्पादनहरू बोकेर ल्याउँथ्यौं । माग धेरै हुन्थ्यो, फर्किने बेला झण्डै रू. एक-डेढ लाख बोकेर फर्किन्थ्यौं । अहिले त पहिलेको भन्दा धेरै कम डालो–नाङ्लो ल्याएर आए पनि विक्री नभएर यतिकै राखिरहेका छौं ।’
उनीहरूको टोलीले करिब दुई हजार सानाठूला आकारका डालो र पाँच सयको हाराहारीमा नाङ्लो ल्याएका छन् । सोही ठाउँका हेमबहादुर विकले पनि यतिका दिनसम्म आफूले ल्याएको सामानको व्यापार हुन नसकेको गुनासो गर्छन् । उनी बडिगाडबाट रू. चार हजार पाँच सय गाडी भाडा तिरेर व्यापार गर्न आएको तर त्यही भाडा पनि उठाउन मुस्किल भइरहेको बताउँछन् ।
चोयाबाट बनेका डालो, नाङ्लो र डोरी अरूको तुलनामा किनै बलियो हुने भए पनि अहिले गाउँगाउँसम्म प्लास्टिकका भाँडाकुँडाका साथै डालो र नाङ्लो पुगेपछि धेरैले चोयाबाट बुनेका सामान कम प्रयोग कम हुँदै गएको हेमबहादुर बताउँछन् । उनी भन्छन्, ‘पाँच वर्ष भयो यो मेलामा पनि विक्री कम–कम हुँदै गएको छ । यस वर्ष त झनै कम भएको छ, अर्को वर्ष त यहाँ आउनुभन्दा पहिले धेरै सोच्नुपर्ने देखियो । दुःख मात्रै हुन्छ आएर के फाइदा ? अहिले खाली हात फर्किनुपर्ने स्थिति आउला जस्तो छ, बरु कतै विक्री हुन्छ भने भन्दिनून ।’
केही वर्षअघि एक पाथीदेखि पाँच पाथीसम्मका डालाले राम्रो बजार पाएकामा अहिले त सानाठूला कुनैले पनि बजार पाएको छैन । आफूहरूले यसरी डालो बुनेर बजारमा ल्याउन लागेको ३० वर्षभन्दा बढी भएको उनको भनाइ छ ।
बजारमा नयाँ–नयाँ प्रविधिका सामग्रीहरू आएपछि आफूहरूले बुनेका डालो नाङ्लोले बजार पाउन छोडेको अर्का विक्रेता गुमानसिंह थापा बताउँछन् । परम्परागत नापतौल गर्ने वस्तुका रूपमा प्रयोग हुने मानापाथी आजकल किलो र लिटरमा परिवर्तन भएपछि मानापाथीका डालोहरू विक्री नै नहुने उनको भनाइ छ । डालो र नाङ्लो गजिङ, वा मालिङकाबाट चोया निकालेर बुन्न निकै समय लाग्ने तर बजार नपाउँदा आफूहरूको मेहनत खेर गएको गुमानसिंहको गुनासो छ ।
विगतमा घर व्यवहार धान्ने यो पेसा पछिल्लो समय व्यापार कम भएपछि धेरैले पेसा परिवर्तन गरिरहेकामा केही वर्षयता ओझेलमा पर्दै गइरहेको उनको भनाइ छ ।
अचेल ठेकी पनि बिक्दैनन्
त्यही मेलाकै छेउमा बागलुङ नगरपालिका–१२, अमलाचौरका अशोक चुँदाराले काठबाट बनेका ठेकी विक्रीका लागि राखेका छन् । दुई दिनअगाडि ठेकीहरू लिएर यहाँ आएका उनी आफूले सोचेअनुसार विक्री हुन नसकेको सुनाउँछन् ।
उनले टेउवादेखि पाँच पाथीसम्मका टेकी विक्रीका लागि राखेका छन् । ठेकीसँगै मदानी पनि छन् । सबैभन्दा बलियो र स्वास्थ्यका लागि गिठा (एक प्रकारको रूख)को ठेकी राम्रो हुने र आफ्ना पुर्खाहरूको मुख्य पेसा नै ठेकी बनाउने भएको हुँदा आफूले पनि यही पेसा अङ्गाल्दै आएको अशोक बताउँछन् । पहिले–पहिले ठेकीले राम्रो बजार पाउने गरेकामा अहिले विक्री नै हुन छोडेको छ ।
अशोक भन्छन्, ‘अहिले मान्छेहरु आफ्नो सामानभन्दा अरूको सामानलाई मन पराउन थाले । गाउँमा उत्पादन भएका वस्तु यतिकै खेर गएका छन् । गाउँलेहरू बजारबाट आयातित सामान ल्याएर प्रयोग गर्छन् । यसले त शीप हराउँछ, मौलिकता हराउँछ र हामी पनि पूरै परनिर्भर हुन्छौं ।’
उनले रू. २५० देखि २० हजारसम्मका ठेकीहरू विक्रीमा राखेका छन् । पछिल्लो समय गाउँमा पनि यस्ता परम्परागत भाँडावर्तन प्रयोगमा आउन छोडेका छन् । रासस