चितवन । चितवनको रत्ननगरमा दोस्रो रोजगार मेला २०७९ हुने भएको छ । आगामी चैत १० देखि १२ गतेसम्म मेला आयोजना हुने भएको हो । ‘वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला’को नाम दिएको मेला रत्ननगरको होटल स्टार ब्याङ्क्वेटमा गरिने भएको हो ।
अघिल्लो वर्ष भरतपुर महानगरपालिकाले पहिलोपटक रोजगार मेलाको आयोजना गरेको थियो । आलोपालो रूपमा रोजगार मेला गर्नेगरी भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाबीच यसअघि नै भद्र सहमति भएअनुरूप रत्ननगरले मेला गर्ने भएको हो । आइतवार बसेको रोजगार मेला मूल समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
जागीर खोज्ने र जागीर दिनेका बीचमा भेटघाट गराउने उद्देश्यले रोजगार मेला आयोजना गरिएकोे नगरप्रमुख प्रह्लाद सापकोटाले बताए । मेलामा स्टल तथा प्रवेश नि:शुल्क गरिने भएको छ । रोजगारीको खोजीमा रहेका युवा र कामदारको अभाव झेलिरहेका व्यवसायीलाई एकै ठाउँमा भेटाउने उद्देश्य अनुरूप मेलाको आयोजना गरिएको नगर प्रमुख सापकोटाको भनाइ छ ।
भरतपुर महानगरपालिकाले नीति तथा कार्यक्रममा समावेश गरेको ‘रोजगार बैंक’को अवधारणाअनुसार रोजगार मेला सञ्चालन गर्न लागिएको बताएको छ । मेलामा कुनै किसिमको आर्थिक कारोबार नहुने रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुवेदीले बताए । मेलामा दुवै पालिकाभित्रका सम्पूर्ण संघसंस्थाले सहयोग गर्ने भएका छन् ।
बागमती प्रदेशका भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकामा यो कार्यक्रम सञ्चालित छ । अघिल्लो वर्ष भरतपुर महानगरमा भएको मेलामा १७ जनाले रोजगारी पाएका थिए ।