चैत २२, काडमाडौं । कुखुराको संक्रामक रोग बर्डफ्लु नियन्त्रण बाहिर गएको छ ।
गत माघ महीनादेखि नै फैलिन थालेको बर्डफ्लु नियन्त्रण बाहिर गएको भन्दै सरकारले नियन्त्रण गर्न लकडाउन गर्ने विषयमा छलफल थालेको छ । पशुसेवा विभागले बर्डफ्लु रोक्न ढुवानी रोक्ने विषयमा सम्बन्धित पक्षसँग छलफल थालेको छ।
पशु सेवा विभागका महानिर्देश डा राम नन्दन तिवारीले बर्डफ्लु संक्रमण नियन्त्रण बाहिर गएकोले लकडाउन गुर्नपर्ने स्थिति आएको बताए । उनका अनुसार, गत माघदेखि प्रदेश १, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशमा बर्डफ्लुको संक्रमण निरन्तर बढ्दो छ । हालसम्म हाँस, ब्रोइलर, लोकल, गिरिराज, लेयर्स टर्की काग ,प्यारेन्ट कालिज र लौकाटमा पुष्टि भएको उनले जानकारी दिए ।
कुखुरा पालन हुने देशका मुख्य सहरहरू मोरङ, काठमाडौं, सुनसरी, सिन्धुपाल्चोक, कास्की, उदयपुर, ललितपुर, भक्तपुर, पर्सा ,मकवानपुर, धनुषा र बारामा बर्डफ्लु संक्रमण रफ्तारमा फैलिएको उनको भनाइ छ । बर्डफ्लु नियन्त्रणका लागि ढुवानी रोक्नुपर्ने उनले बताए ।
तर, ढुवानी रोक्ने विषयमा व्यवसायी भने असहमत रहेका छन् । नेपाल दाना उद्योग संघका अध्यक्ष रवीन पुरीले लकडाउनको प्रकृतिबारे प्रष्ट पार्न आग्रह गरे । ‘तपाईंहरुले ओसारपसार बन्द र लकडाउन भन्नुहुन्छ, त्यो कस्तो हो स्पष्ट पारिदिनुहुन अनुरोध छ,’ पुरीले भने ।
नेपाल दाना उद्योग संघका पूर्वअध्यक्ष नारायणहरि खत्रीले विभागले अनुगमन फितलो भएको बताए । उनले भक्तपुरमा एक ठाँउमा बर्डफ्लु देखिएको तर त्यसको नजिकैको अर्को कुखुरा फार्मले कुखुरा बेचिरहेको भन्दै लकडाउन गर्न कठिन रहेको बताए ।
पोल्ट्री विज्ञ एवं नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनका आयोजना निर्देशक डा.उमेश दाहालले कुनै पनि कुखुरा नरहन सक्नेतर्फ संकेत गर्दै विभागले खाली सल्लाह मात्रै नभएर चाँडो निर्णय लिनुपर्ने बताए ।
उनले बर्डफ्लु नियन्त्रणका लागि दाना ढुवानी नरोकी केही हप्ताका लागि कुखुरा ओसार पसारमा रोकन लगाउनुपर्ने सुझाव दिए ।
नेपाल पोल्ट्री महासघका महासचिव दिनेशराज मिश्रले नेपालमा फैलिएको बर्डफ्लुको क्षति ठूलो हुने उल्लेख गर्दै पूर्व तयारीमा लाग्न जोड दिए । क्षति न्यूनीकरणका लागि भ्याक्सिनेसनमा जोड दिनुपर्ने उनको सुझाव छ ।
पशु चिकित्सक डा.मोदनाथ गौतमले आफुले यसको रोकथामका लागि पहिले नै ढुवानी रोक्न सल्लाह दिए पनि विभागले वास्ता नगरेको बताए ।