वैशाख २, पेचिङ (चीन) । यस वर्षको पहिलो तीन महीनामा चीनको अर्थतन्त्र १९ प्रतिशतले बढ्ने क्रममा रहेको छ ।
यसलाई विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीन महामारीका कारण गत वर्षको शुरुमा देखा परेको सुस्तीबाट उब्रिँदै बढिरहेको संकेतका रुपमा हेरिएको छ । घरेलु बजारमा मागमा आएको सुधार र साना कमपनीहरुलाई टेवा दिन ल्याइएको नीतिगत टेवाका कारण अर्थतन्त्र सुधार आउने क्रममा रहेको छ ।
अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले गरेको जनमत सर्वेक्षणअनुसार अर्थतन्त्र सो स्तरमा बढ्नेछ । वृद्धिको यो दर सन् १९९२ मा त्रैमासिक तथ्यांक राख्न थालिएयताकै उच्च हुनेछ । यस वर्ष अर्थतन्त्र सरकारले तय गरेको आर्थिक वृद्धिको लक्ष्यभन्दा निकै राम्रो दरमा बढ्ने क्रममा रहेको राबो बैंकका वरिष्ठ अर्थशास्त्री राफी हायातले बताए ।
सन् २०२१ मा अर्थतन्त्र ८ दशमलव ६ प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ । सन् २०२२ मा भने आर्थिक वृद्धि दर साढे ५ प्रतिशतमा समेटिने बताइएको छ । एजेन्सी