जेठ २, काठमाडौं । बुक विल्डिङ बिधिमार्फत निष्कासन हुने शेयरमा मूल्य तोक्ने योग्य संस्थागत लगानीकर्ताको संख्या ८८ ओटा पुगेको छ ।
नेपाल धितोपत्र बोर्डले थप पाँच ओटा कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न अनुमति दिएसँगै यो संख्या ८८ ओटा पुगेको हो । बोर्डले जेठ २ गते सिबिआइएएल क्यापिटल लिमिटेड, सिटिजन्स म्युचुअल फण्ड–१ , सिटिजन्स म्युचुअल फण्ड–२, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेड र कुमारी इक्विटी फण्डलाई योग्य संस्थागत लगानीकर्ताको रुपमा स्वीकृति प्रदान गरेको हो ।
बोर्डले यस अघि पनि चार चरणमा गरी ८३ ओटा कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न स्वीकृति प्रदान गरेको थियो । पहिलो चरणमा ४६ कम्पनीहरुलाई, १८ ओटा कम्पनीहरुलाई, तेस्रो चरणमा १० ओटा कम्पनीहरुलाई र चौथो चरणमा ९ कम्पनीहरुलाई स्वीकृति प्रदान गरेको थियो ।
यी संस्थागत लगानीकर्ताहरुले बुक विल्डिङ मार्फत सार्वजनिक निष्कासनमा आउँने शेयरको आशय मूल्य तोक्न सहयोग गर्नेछन् । अहिलेको शेयर लिलामी प्रक्रियाकै स्वरुपमा बुक बिल्डिङ बिधिबाट आईपीओ निष्कासन हुनेछ ।
यो विधिमार्फत आईपीओ निष्कासन गर्दा योग्य संस्थागत लगानीकर्ताहरुबाट आशय मूल्य प्राप्त गर्नुपर्ने हुन्छ । आईपीओ निष्कासन गर्ने कम्पनीले योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशय मूल्यको अध्ययन गरी आधार मूल्य तय गर्नुपर्ने र उक्त आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य माथिल्लो सीमा र २० प्रतिशत घटाउँदा कायम हुने मूल्य तल्लो सीमा हुने गरी मूल्य सीमा निर्धारण गर्नुपर्ने हुन्छ ।
स्वीकृति प्राप्त गरेका योग्य संस्थागत लगानीकर्ताहरुले आईपीओ निष्कासन गरेको कम्पनीको प्राविधिक, वित्तीय, व्यवस्थापन, भावी योजनाका विषयमा अध्ययन पश्चात सुसूचित तवरले मूल्य पेश गरी उचित मूल्य निर्धारणमा सहयोग गर्नुपर्ने हुन्छ ।
मूल्य सीमा निर्धारण पश्चात संस्थागत लगानीकर्ताका लागि ४० प्रतिशत र सर्वसाधारणका लागि ६० प्रतिशत शेयर निष्कासन हुनेछ । संस्थागत लगानीकर्ताहरुले भने सूचीकृत भएको मितिले ६ महिनासम्म शेयर कारोबार गर्न सक्ने छैनन् ।