बाँके । बाँकेको नेपालगञ्जमा निर्माणाधीन एकीकृत भन्सार जाँचचौकी (आईसीपी)को काममा ढिलाइ भएको छ । हालसम्म ८० प्रतिशत निर्माण सम्पन्न भएको भारतीय निर्माण कम्पनी राजदीप बिल्डकोन प्रालिले बताएको छ ।
नेपाल र भारत सरकारबीच १७ वर्षअघि भएको सम्झौताअनुसार भारतले उक्त आईसीपीको निर्माण सम्पन्न गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ, जसअनुसार नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरमा राजदीपले १ अर्ब ४७ करोड भारतीय रुपयामा २ वर्षमा निर्माण सम्पन्न गर्नेगरी २०७७ पुसदेखि काम शुरू गरेको थियो । समयमा काम सम्पन्न हुन नसकेपछि २०८० जेठसम्मका लागि म्याद थप गरिएको छ ।
बाँकेमा क्रसर उद्योग बन्द भएकाले निर्माणमा समस्या भएको राजदीपले बताएको छ । कम्पनीका अनुसार क्रसर उद्योग बन्द हुँदा निर्माण सामग्रीको अभाव भएको छ । जिल्ला प्रशासन कार्यालय बाँके र संघीय आयोजना कार्यान्वयन इकाइले पनि क्रसर उद्योग बन्द भएकाले निर्माण सामग्रीको आपूर्ति प्रभावित भएको स्वीकारेका छन् ।
जिल्ला प्रशासन कार्यालय प्रमुख सूर्यबहादुर खत्रीका अनुसार बाँकेमा २६ ओटा क्रसर उद्योग छन् । ती उद्योगहरू विभिन्न कारणले बन्द भएको खत्रीले बताए । ‘क्रसर उद्योग बन्द रहँदा आईसीपी निर्माणका लागि आवश्यक पर्ने सामग्री सहज रूपमा उपलब्ध नभएको भन्ने गुनासो आइरहेको छ, यो समस्या बाँकेमा मात्र नभएर देशव्यापी नै देखिएको छ,’ उनले भने ।
आईसीपी निर्माणका लागि पुन: थप गरिएको समय सकिन अब ४ महीना बाँकी छ । लगभग ३ वर्षको समयमा ८० प्रतिशत काम सम्पन्न गरेको कम्पनीले समयमा निर्माण सम्पन्न हुने दाबी गर्दै आएको छ ।
यता, संघीय आयोजना कार्यान्वयन इकाइका आयोजना प्रमुख खड्गबहादुर चौधरीले यसपटक समयमा काम सम्पन्न हुने बताए । ‘आईसीपी निर्माणमा हाम्रो समन्वय भइरहेको छ । प्रगति विवरण पनि लिइरहेका छौं । समयमा काम सम्पन्न हुन्छ,’ उनले भने ।
निर्माण सामग्रीको अभावले समयमा निर्माण सम्पन्न गर्न चुनौती देखिएको छ । निर्माणकोे प्रगति मासिक ३ प्रतिशत छ, जसअनुसार अबको ४ महीनामा बाँकी २० प्रतिशत काम सम्पन्न गर्न निर्माण कम्पनीलाई सहज छैन । भारततर्फको आईसीपी निर्माण भने सम्पन्न भइसकेको छ ।
निर्माणाधीन आईसीपीको कुल क्षेत्रफल ८६ बिगाहा हो, जसमा १९ दशमलव ५० बिगाहा क्षेत्रफलमा २ दशमलव २ किलोमिटर पक्की सडक निर्माण भइसकेको छ । बाँकी ६६ दशमलव ५० बिगाहा क्षेत्रफलमा करीब डेढ दर्जन संरचना निर्माण भइरहेको छ । आईसीपीभित्र गोदाम, पशु तथा प्लान्ट क्वारेन्टाइन, सवारी पार्किङ स्थल, शौचालय, प्रवेशद्वार, पानी ट्यांकी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय लगायत संरचना बन्दै छन् ।