पाँच वर्षअघि भूकम्पले भत्काएका कतिपय ऐतिहासिक सम्पदाको अझै पुनर्निर्माण सुरु भएको छैन । पुनर्निर्माण प्राधिकरणबाट बजेट प्राप्त नहुँदा ती सम्पदाको पुनर्निर्माण हुन नसकेको गुठी संस्थानले
जनाएको छ ।
पुनर्निर्माण हुन नसकेका काठमाडौँ उपत्यकाभित्रकै कतिपय सम्पदा छन् । काठमाडौँ खिचापोखरीस्थित रणमुक्तेश्वर अझै बन्न सकेको छैन । त्यसैगरी राजधानीको केन्द्रमा रहेको टुँडिखेलस्थित महाङ्काल मन्दिरको पनि पुनर्निर्माणको अत्तोपत्तो छैन । वसन्तपुरको नौतले मन्दिर पुनर्निर्माणको अन्तिम चरणमा पुगे पनि नजिकै रहेको कुमारीघर टेकोकै भरमा अडिएको छ । पुनर्निर्माण हुन नसकेका सम्पदामा भक्तपुर न्यातपोल छेउको जङ्गम मठ र कालमोचनस्थित जङ्गहिरण्य हेमनारायणको चौघेरा सत्तल पनि पुनर्निर्माण हुन नसकी बेहाल अवस्थामै छ ।