झापा । चालू आर्थिक वर्षको ६ महीनामा मेची भन्सार कार्यालय काँकडभिट्टाले ७ अर्ब ९८ करोड ६५ लाख ५९ हजार राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८/७९ को साउनदेखि पुस मसान्तसम्ममा ७ अर्ब ३८ करोड ८६ लाख २४ हजार लक्ष्य लिएकोमा कार्यालयका अनुसार १०८ दशमलव ९ प्रतिशत राजस्व असुल्न सफल भएको हो ।
पूर्वी नाकाबाट भित्रिने पेट्रोलियम पदार्थका कारण भन्सारको राजस्व असुलीमा समेत उल्लेख्य प्रगति भएको प्रमुख भन्सार अधिकृत केशवराज ओलीले बताए । मेची भन्सार कार्यालय काँकडभिट्टाको कुल राजस्वको ४० प्रतिशत बढी राजस्व पेट्रोलियम पदार्थ र बाँकी ६० प्रतिशत अन्य वस्तुले ओगटेको जानकारी उनले दिए ।
कार्यालयलाई भन्सार विभागले १५ अर्ब ४५ करोड ४७ लाख ८७ हजार वार्षिक राजस्व संकलनको लक्ष्य दिएको छ । वार्षिक लक्ष्यको तुलनामा ६ महीनामा ५१ दशमलव ६८ प्रतिशत राजस्व असुली भएको जानकारी उनले दिए ।
साउनको मासिक लक्ष्य ९२ करोड ५९ लाख ७२ हजार राजस्व असुली गर्ने लक्ष्य भए पनि १ अर्ब ३७ करोड १४ लाख ५३ हजार असुली भएको छ, जुन लक्ष्यभन्दा ४८ दशमलव ११ प्रतिशत बढी हो । भदौमा कार्यालयले १ अर्ब २१ करोड ४५ लाख ५० हजार राजस्व असुलीको लक्ष्य पाएकोमा १ अर्ब ३० करोड ७७ लाख ६४ हजार अर्थात् १०७ दशमलव ६७ प्रतिशत संकलन गरेको छ । असोजमा १ अर्ब ३५ करोड ६४ लाख ५ हजार राजस्व संकलन गरेको प्रमुख भन्सार अधिकृत ओलीले जानकारी दिए । असोजको लक्ष्य भने १ अर्ब २४ करोड ७२ लाख ८१ हजार थियो । कात्तिकको लक्ष्य १ अर्ब ३१ करोड ९७ लाख २७ हजार रहेकोमा १ अर्ब १६ करोड ९३ लाख ६९ हजार ११८ रुपैयाँ अर्थात् ८८ दशमलव ६१ प्रतिशत राजस्व असुली गरेको छ ।
यसैगरी मङ्सिरमा कार्यालयले १ अर्ब ३२ करोड ७३ लाख १९ हजारको लक्ष्य पाएकोमा एक अर्ब ४० करोड २३ लाख ५८ हजार संकलन भएको छ । रासस