कपिलवस्तु–६ तिलौराकी ६१ वर्षीया किस्लावती चाई आँसु झार्दै बसेकी थिइन् । अनुहारमा भने खुसी थियो । दुवै आँखाको ज्योति साढे २ वर्षपछि फर्किंदा खुसीमिश्रित आँसु झरेको उनले बताइन् । पैसा नहुँदा शल्यक्रिया गराउन सकेकी थिइनन् । ५ वर्षअघि श्रीमान्को मृत्यु भएपछि उनलाई चुलोचौको गर्न पनि निकै गाह्रो थियो । ‘सन्तान भएनन् । छरछिमेकको सहारामा मृत्युतुल्य जीवन बाँचेकी थिएँ,’ उनले भनिन्, ‘दुवै आँखाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएपछि संसारै जितेजस्तो भयो ।’