नेपालमा भ्रष्टाचारले संस्थागत रूप धारण गरिसक्या छ । लाखौं प्रयास गर्दा पनि नेपालमा भ्रष्टाचार कम हुनुको साटो झन् बढिरहेको छ, हरेक वर्ष नयाँ नयाँ सिढीहरू चढिरहेको छ । भ्रष्टाचारको रोग यसरी बढ्दै गइरहेको छ कि यो रोगबाट अब कोही पनि शायद अछूतो नहोला ।
देशकोे सबभन्दा सानो एकाइ वडादेखि प्रधानमन्त्री कार्यालयसम्म, पियनदेखि बडाहाकिमसम्म सबै भ्रष्टाचारको पन्जामा परेका छन् । विनाघूस आज सरकारी फाइल अगाडि बढ्नै सक्दैनन् । अपवादलाई छाडेर आज सर्वत्र भ्रष्टाचारको बोलवाला देखिन्छ । यसरी देशकै एउटा अभिन्न अंग बनिसकेको अवस्थामा भ्रष्टाचारलाई कसैले गलत भन्छ भने ऊ भ्रममा छ । किनकि भ्रष्टाचार त अजर अमर पो छ त ।
तर हिजोआज एकथरी मनिसहरू आन्दोलित हुन थालेका छन् सरकार र भ्रष्टाचारका विरुद्धमा, सरकार पनि बदल्ने र भ्रष्टाचार पनि समाप्त पार्ने भन्दै कोही सामाजिक अ–सामाजिक सञ्जालमा त कोही टिभीमा, कोही सडकमा त कोही होटल, रिसोर्टमा बसेर भ्रष्टाचारविरुद्ध आगो ओकलिरहेका छन् । तर सरकार भन्ने जन्तु रहेसम्म भ्रष्टाचार रहन्छ र भ्रष्टाचार रहेसम्म सरकार रहन्छ भन्ने तिनले नबुझेजस्तो छ ।
मलाई यी अबुझ आन्दोलनकारीहरूको अज्ञानप्रति दया लागेर आउँछ भन्या ! एक्काइसौं शताब्दीको नेपालमा भ्रष्टाचार नै असली शिष्टाचार हो भनेर किन नबुझेको होला ? यसको अभावमा न दल, न नेता, न सरकार न समाज नै चल्न सक्छ । मन्दिर र पूजामा समेत भ्रष्टाचार हुन्छ । अब देउताले त रोक्न नसकेको भ्रष्टाचार देउवाले किन र कसरी रोक्ने ? त्यही भएर देख्नुभएन पार्टीका कार्यक्रममा भ्रष्टाचारविरोधी नारा भएको ब्यानर राख्न नदिएको ? वास्तवमा भ्रष्टाचार कुनै भौतिक चीज नभई एक आध्यात्मिक र आत्मिक तत्त्व पो हो, जसको अभावमा कसैले पनि शान्ति प्राप्त गर्न सक्दैन ।
अनि तपाईंले गाली गर्दैमा भ्रष्टाचार समाप्त हुन्छ र ? त्यो त आफूले नपाएर गाली गरेको त हो नि, पाए बाँकी राख्नुहोला र ? वास्तवमा भ्रष्टाचारको एक हिस्सा तपाईं पनि र म पनि हो । हामीले कसैलाई चुनेर सांसद बनाउँदैमा हाम्रो जिम्मेवारी त्यहीँ सिद्धिन्छ र ? सिद्धिँदैन नि । तर हामी सांसद मन्त्रीलाई गाली गरेर जिम्मेवारी पूरा भयो भन्ठान्छौं । त्यसैले, हामीले भ्रष्टाचारको विरोध गर्नै हुन्न । विरोध गर्ने भए पहिले आफूलाई हेर्नुस् ।
जस्तै, सडकमा ट्राफिक पुलिस छैन भने तपाईं लेन मिचेर अगाडि बढ्नुहुन्छ नै । सरकारी अफिसमा जाँदा काम छिटो गराउन कर्मचारीलाई २/४ हजार अतिरिक्त पैसा तिर्न अघि सर्नुहुन्छ । आफ्नो काम बनाउन नेताकहाँ नगद र अनेक उपहार बोकेर जानुहुन्छ । जब कर चुक्ता गर्ने समय आउँछ, तपाईं अडिटर वा सिएलाई भनेर कहाँ कसरी कर नतिर्न सकिन्छ भनेर छिद्र खोज्नुहुन्छ । तपाईं घर वा फ्याक्ट्रीको बिजुलीको मिटरमा तार फसाएर मिटर ढिलो चलाउने तिगडम गर्नुहुन्छ । आफूलाई फाइदा हुन्छ भने नैतिक अनैतिक सबै उपाय अपनाउन खोज्नुहुन्छ । अनि भ्रष्टाचारको विरोध गर्ने नैतिकता तपाईं हामीसँग हुन्छ र ?
यदि हामी पौने तीन करोड नेपालीले आआफ्नो ठाउँमा बसेर भ्रष्ट आचरण नगर्ने हो भने, कतै पनि भ्रष्टाचार हुनै सक्दैन । तर के त्यसका लागि तपाईं, हामी तयार छौं र ?
जसरी एउटा अँध्यारो कोठामा एउटा सानो दियो बाल्नेबित्तिकै हजारौं वर्षदेखि व्याप्त अँधेरो निमेष भरमै गायब हुन्छ, त्यसरी नै घूसको दियो बाल्नेबित्तिकै तपाईंको अँधेरो भौतिक जीवनमा तत्काल उज्यालोले प्रवेश गरिहाल्छ । भ्रष्टाचारको मठ, मन्दिर वा गुम्बामा न जन्म हुन्छ, न निर्वाण ।
वास्तवमा भ्रष्टाचार मात्र यस्तो तत्त्व हो, जहाँ कहीँ कतै भेद रहँदैन । भ्रष्टाचारमा आफ्नो परार्ईको कुरा छाडौं, स्वयम् आफ्नै पनि होश रहँदैन । भ्रष्ट आचरणको परम अवस्थामा यति भेद पनि रहँदैन कि को बाउ हो को छोरा हो ।
भ्रष्ट अधिपतिको मन्दिरमा को म र को तँ ? वास्तवमा भ्रष्टाचारको तल्लीनतामा त भक्त भगवान् हुन्छ, भगवान् भक्त बन्छ । भ्रष्टाचारको तत्परतामा न कोही पुजारी हुन्छ, न कोही पूज्य हुन्छ । त्यहाँ केबल परम अनीति बाँकी रहन्छ । त्यहाँ त अन्यायको नाद बजिरहन्छ । त्यहाँ केवल द्रव्य अर्थात् डलर, रुपैयाँ आदि नै परम संगीत हुन्छ । बडो अलौकिक घडी पो हुन्छ त । जसरी घोर अँध्यारोमा चन्द्रमाको ज्योतिले बडो मनमोहक उज्यालो छरिरहन्छ, त्यसैगरी यो अपूर्व महासुखको क्षणमा नै सम्पूर्ण कष्टहरूको हरण गरिदिन्छ । त्यसैले, भ्रष्टाचारको यस्तो चन्द्रमणिलाई त बरु प्राणप्रणबाट रक्षा गर्नुपर्दछ । कार्यालयरूपी मन्दिरमा त झन् यसको प्राणप्रतिष्ठा एकदमै जरुरी हुन्छ । समस्त गर्भगृहदेखि लिएर कार्यालयरूपी मन्दिरको गजुर परिक्रमा स्थलसम्म भ्रष्ट आचरणको झण्डालाई साहसपूर्वक फहराइरहनु पर्दछ ।
त्यसैले म भन्छु, तपाईं भ्रष्टाचार विरोधी यी राजा हरिशचन्द्रका सन्तानहरूका कुरा नसुन्नुहोला । किनकि उनीहरू भन्छन् कि जन्मौंजन्मको कर्मबाट मात्र मीठो फल प्राप्त गर्न सकिन्छ । त्यसका लागि सत्मार्गमा चल्नुपर्छ, नीतिवान् बन्नुपर्छ, आदि आदि । तर त्यसो गरेर त यो एकबारको जुनीमा फल प्राप्त गर्न धेरै कठिन पो देखिन्छ त हौ ! जन्मौंजन्म लाग्न सक्छ । यसरी चाँडै फल लाग्नेवाला त छैन । अनि घर घडेरी कसरी जोड्ने ? सरर कार कहिले गुडाउने ? एउटा जीवन यत्तिकै सडाउने ? अहँ हुन्न !
म त भन्छु– साहस गर्नोस् घूसामृत पाउनका लागि । त्यो नगदमै हुनुपर्छ भन्ने छैन । त्यो कसैको शरीरको रूपमा हुन सक्छ, कारको रूपमा हुन सक्छ वा कोठीको रूपमा पनि । कुनै व्यापार व्यवसायको हिस्सा हुन सक्छ वा विदेश शयर । कुनै जमीनको टुक्रा तपाईंको नाममा दर्ता हुन सक्छ । कुनै सरकारी ठेक्का पनि पाउन सकिन्छ । यी सबै कुरा भक्षणयोग्य छन् । यो महान् कार्यमा अभक्ष्य र अपाच्य केही पनि छैन ।
यदि भ्रष्टाचारको शिष्टाचार अपनाउनुभो भने एक क्षणमै जीवन प्रकाशमय हुने घटना सम्पन्न हुन सक्छ, एक पलमै । जसरी एउटा अँध्यारो कोठामा एउटा सानो दियो बाल्नेबित्तिकै हजारौं वर्षदेखि व्याप्त अँधेरो निमेष भरमै गायब हुन्छ, त्यसरी नै घूसको दियो बाल्नेबित्तिकै तपाईंको अँधेरो भौतिक जीवनमा तत्काल उज्यालोले प्रवेश गरिहाल्छ । भ्रष्टाचारको मठ, मन्दिर वा गुम्बामा न जन्म हुन्छ, न निर्वाण । त्यहाँ त अलौकिक महासुख मात्र छ ।
तपाईं यो जडसूत्रवादी नीति, धर्म, सत्य आदिका चक्करमा आफूलाई अघि बढ्नबाट नरोक्नुहोस् । भ्रष्टाचार आधुनिक मानिसको आवश्यकता हो । अभीप्सा हो, हिम्मत हो, रस हो, तागत हो, प्रेम हो । आफ्नो जीवनलाई यो भ्रष्टाचारको आन्दोलनमा समाहित गरिहाल्नोस् । छिटो गर्नोस् । आउनहोस्, उठ्नुहोस्, भ्रष्टाचारको बाटोमा अघि अघि
बढ्नुहोस् । यसैमा त छ सबैको सफलता र सबैको कल्याण पनि । ‘सबै धर्म त्यागेर मेरो शरणमा आऊ’ भनेर धर्मशास्त्रमै लेखिएको छ । त्यस्तै, नेपाली राजनीतिशास्त्रमा भने सबै आचरणको परित्याग गरेर भ्रष्टाचरणको शरणमा आऊ भन्ने छ । यत्ति कुरा चैं बुझ्नुस् है !
असार २०, धरान । विगत २० दिनदेखि जारी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको वीपी सुधार आन्दोलन देशव्यापी बन्दै गइरहेको छ ।
देशका विभिन्न जिल्लाहरुमा २० दिनदेखि प्रतिष्ठानका चिकित्सक, विद्यार्थी तथा कर्मचारीहरुले शुरु गरेको वीपी सुधार अभियान आन्दोलनकै रुपमा देशव्यापी बन्दै गएको हो ।
प्रतिष्ठानमा हुने भ्रष्टाचार, अनियमितताको विरुद्धमा शुरु भएको आन्दोलन २० दिन पुग्दासम्म पनि पदाधिकारीहरुद्वारा कुनै सुनुवाई नभएपछि देशव्यापी रुपमा आन्दोलन चर्किन थालेको छ भने प्रतिष्ठानमै अध्ययन गरेर अन्य अस्पतालमा सेवा दिदैं गरेको चिकित्सकहरु पनि आन्दोलनलाई ऐक्यबद्धता जनाउन धरान आइपुगेका छन् ।
गत असार १५ गते मादकपदार्थ सेवन गरि उपकुलपति वार्तामा बसेपछि वार्ता भाडिएको थियो । उपकुलपति सहित चारै जना पदाधिकारीहरुको राजिनामा पहिलो बटमलाइनमा राखेका छन् । उपकुलपतिले मादकपदार्थ सेवन गरेर वार्तामा आउनु र अन्य पदाधिकारीहरुले रोक्न नसक्दा चारै जना पदाधिकारीहरु गैह्रजिम्मेवार रहेको आरोप लगाउँदै पहिलो माग नै राजिनामा रहेको छ ।
संयुक्त संघर्ष समिति बनाएर आन्दोलन चिकित्सक, विद्यार्थी तथा कर्मचारीहरुले प्रतिष्ठानमा दैनिक विरोध सभा गर्दै आएका छन् भने देशका विभिन्न स्थानमा पनि विरोध सभा, प्रदर्शन भइरहेको छ । केही दिनअघि डा. गोविन्द केसीले प्रेस विज्ञप्ति जारी गरि चारै पदाधिकारीहरुको राजिनामाको माग गरेका थिए ।
शुक्रवार विज्ञप्ति जारी गर्दै डा. केसीले पदाधिकारीहरूको कार्यशैलीकै कारण पूर्वी नेपालको स्वास्थ्य सेवा तथा देशकै मेडिकल शिक्षाको धरोहरका रुपमा स्थापना भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले धराशायी हुने अवस्थामा पुगेको बताएका छन् । भ्रष्ट र दलीय आधारमा प्रतिष्ठानमा पदाधिकारी नियुक्त गरिएकाले पनि यस्तो अवस्था आएको उनको भनाइ छ ।
त्यसपछि क्रमशः पेशागत संघ संगठनहरुले पनि विज्ञप्ति जारी गरी आन्दोलन प्रति ऐक्यबद्धता जनाएका छन् । सरकारको ध्यानाकर्षण गराउँदै पदाधिकारी नियुक्तिमा राजनीतिक भागबण्डा बन्द गरिनुपर्ने माग गरेका छन् । झापा, बुटबल, काठमाडौंमा दैनिक धर्ना तथा विरोधसभा भइरहेको छ ।
गत शुक्रवार सरकारी चिकित्सक संघ नेपालले ऐक्यबद्धता जनाउँदै प्रभावकारी अध्ययन–अध्यापन तथा नतिजामुखी अस्पताल सञ्चालन होस् भनि मेडिकल विश्वविद्यालयलाई अध्ययन अध्यापनको भुमिकामा राख्ने र अस्पतालहरु सोझै मन्त्रालय अन्तर्गतको व्यवस्थापनले सञ्चालन गर्नुपर्ने संघको पुरानै मागलाई स्तरण गराएको छ ।
त्यसैगरी नेपाल चिकित्सक संघले पनि ऐक्यबद्धता जनाउँदै नेपाल सरकारले सत्यतथ्य छानबिन गर्नको लागि अविलम्ब उच्च स्तरिय छानबिन समिति गठन गरी वार्तामार्फत उत्पन्न समस्या समाधान गर्न माग गरेको छ ।
त्यसैगरी संघको धराननगर शाखाका कार्यवाहक अध्यक्ष डा. रविन मास्केले पनि प्रेस विज्ञप्ती जारी गर्दै आन्दोलन प्रति पूर्ण समर्थन रहेको बताएका छन् । त्यस्तै अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन केन्द्रले पनि विज्ञप्ति जारी गरेका छन् ।
आन्दोलन प्रति ऐक्यबद्धता जनाउँदै नागरिक अभियन्ता तथा पत्रकार नारायण वाग्लेको नेतृत्वमा काठमाडौंको माइतिघर मण्डलामा दैनिक रुपमा विरोध प्रदर्शनी भइरहेको छ । उनले सामाजिक सञ्जालमा ट्विट गर्दै वीपी प्रतिष्ठान सुधार्ने आन्दोलन राज्यका सबै संस्था सपार्ने शुरुवात बन्नसक्छ, दलाली र दलीय स्वार्थ चक्रबाट स्वास्थ्य सेवालाई स्वस्थ्य राखौं भन्दै अपरान्ह ४ बजे माइतिघर आउन आग्रह गरेका छन् ।
आन्दोलनलाई थप बलियो बनाउन संघर्ष समितिले प्रतिष्ठानका सरोकारवालाहरुसँगको व्यापक छलफल चलाइरहेको छ । पूर्व उपकुलपति, स्वास्थ्य विज्ञहरुसँग छलफल र बहस गरेपछि त्यसको निष्कर्षपछि पुनः आन्दोलनको बाटो तय हुने समितिका संयोजक डा. एसपी रिमाल बताउँछन् ।
आन्दोलनले पहिलो माग नै चारै जना पदाधिकारीहरुले नैतिकताको आधारमा राजिनामा रहेको छ । रिमालले भने, ‘उपकुलपतिले मादकपदार्थ सेवन गरेर वार्तामा बस्नु, प्रोफेसर नभइ आफै पद लेख्नु त्यसले गर्दा राजिनामा दिनुपर्छ, अन्य पदाधिकारीले चै त्यो अवस्थालाई रोक्न नसक्नु, पदिय जिम्मेवारी पूरा गर्न नसकेकोले राजिनामा दिनुपर्छ ।’
अनियमितता र भ्रष्टाचारको आरोपलाई स्पष्ट पार्न सरकारले छानबिन समिति गठन गरेर संवैधानिक आयोगले अध्ययन गर्नुपर्ने पनि उनीहरुको माग रहेको छ । उनले भने, ‘अहिलेका चारै पदाधिकारीले राजिनामा दिए पछि नयाँ आउने पदाधिकारीको चयन नियमावली अनुसार मापदण्ड पुर्याएर ल्याउनुपर्छ ।’