निर्वाचन सुधारमा पहल तर अपर्याप्त

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, सहभागितामूलक, पहुँचयोग्य र पारदर्शी बनाउन केही नयाँ सुधारसहित निर्वाचन आयोगले निर्वाचन व्यवस्थापन ऐन २०८० को मस्यौदा सरकारलाई बुझाएको छ । निर्वाचन नै लोकतन्त्रको मूल आधार भएकाले यो जति स्वच्छ हुन्छ त्यति नै लोकतन्त्र बलियो हुन्छ । तर, नेपालमा निर्वाचनमा थुप्रै विकृति छन् । साथै राजनीतिक दलले कानूनमा भएका छिद्र प्रयोग गरी निर्वाचनलाई अविश्वसनीय बनाइदिएका छन् । त्यसो हुँदा राजनीतिलाई स्वच्छ बनाउन निर्वाचन स्वच्छ हुनुपर्छ र राजनीतिक दलहरू पनि कानूनी दायरामा बसेर पारदर्शिताका साथ सञ्चालन हुनुपर्छ । निर्वाचनमा सुधार ल्याउन आयोगले विभिन्न सुधार गर्दै आएको छ । अहिले पनि उसले केही नयाँ प्रावधानसहितको मस्यौदा सरकारलाई सुम्पिएको छ । यसले राजनीतिक दल र निर्वाचनमा सुधार ल्याउन सहयोग मिल्ने देखिन्छ । यद्यपि कतिपय राख्नैपर्ने प्रावधानबारे भने आयोग चुकेको छ । त्यसैले आयोगले अघि बढाएको मस्यौदालाई अपर्याप्त भन्नुपर्ने हुन्छ ।  निर्वाचनमा उठेका कुनै पनि उम्मेदवार मन परेनन् भने नो भोट गर्न सकिन्छ । कुल सदर मतको ५० प्रतिशतभन्दा बढी यस्तो मत आए पुन: निर्वाचन गर्ने प्रस्ताव गरिएको छ । नो भोटलाई प्रवेश गराउनु सकारात्मक भए पनि ५० प्रतिशतको व्यवस्था अव्यावहारिक छ । राजनीतिक दलले जस्ता उम्मेदवार उठाउँछन् तिनैलाई मत दिनुपर्ने बाध्यता छ । तर, निर्वाचनमा उठेका कुनै पनि उम्मेदवार मन परेनन् भने नो भोट गर्न सकिने नयाँ व्यवस्था प्रस्ताव गरिएको छ । कुल सदर मतको ५० प्रतिशतभन्दा बढी यस्तो मत आए पुन: निर्वाचन गर्ने प्रस्ताव गरिएको छ । नो भोटलाई प्रवेश गराउनु सकारात्मक भए पनि ५० प्रतिशतको व्यवस्था अव्यावहारिक छ । नो भोटमा त्यति धेरै मत आउने सम्भावना कमै हुन्छ । त्यसैले २० प्रतिशतभन्दा बढी राख्नु व्यावहारिक हुँदैन । अझ भन्ने हो मतपत्रमा नाम नभएका व्यक्ति पनि यदि निर्वाचनमा उठ्न खोजेको छ भने त्यसलाई पनि मत दिन पाउने व्यवस्था गर्नुपर्छ । अफ ब्यालेट पेपरको यस्तो व्यवस्थाले कुनै कारण निर्वाचनमा उठ्न कोही व्यक्ति असमर्थ भए जनताले आवश्यक ठाने उसलाई निर्वाचित गराउन सक्छन् ।  नयाँ प्रस्तावमा विदेशमा रहेका वा मतदाता नामावली रहेको स्थानभन्दा बाहिर बसोवास गर्ने नेपालीले समानुपातिकतर्फ मत दिन पाउने व्यवस्था छ । तर, समानुपातिकमा मत दिन पाउने अनि प्रत्यक्षमा दिन नपाउने भन्ने व्यवस्था गलत छ । दुवैमा उनीहरूले मत दिन पाउनुपर्छ । प्रत्यक्षमा मत दिन नपाउने हो भने त्यसको अर्थ हुँदैन । त्यसैगरी प्रत्यक्ष निर्वाचनतर्फ नै ३३ प्रतिशत महिला हुनुपर्ने प्रस्ताव गरिएको छ । अहिले दलहरूले प्रत्यक्ष र समानुपातिक दुवै मिलाएर ३३ प्रतिशतको हिसाब मिलाइरहेका छन् जसले गर्दा संविधानले परिकल्पना गरेअनुसार समावेशिताको मर्म पूरा हुन सकेको छैन । खासमा महिला, आदिवासी आदि उम्मेदवारहरूबीच मात्रै प्रतिस्पर्धा गराउने व्यवस्था गरिनुपर्छ । खास खास निर्वाचन क्षेत्र छुट्ट्याएर महिला र आदिवासीहरूबीच निर्वाचन गराउनु बढी व्यावहारिक देखिन्छ । आयोगले अहिले समानुपातिक निर्वाचनबाट दुईपटक निर्वाचित भएको व्यक्ति तेस्रोपटक यही प्रणालीबाट सांसद हुन नपाउने व्यवस्था प्रस्ताव गरेको छ । यसले नयाँ उम्मेदवारलाई अवसर दिने देखिन्छ । केहीले यसमा विरोध गरे पनि यसको खासै अर्थ छैन ।  त्यसैगरी आयोगले निर्वाचनका लागि मिति नै तोक्ने व्यवस्था गर्नेगरी ऐनमा प्रस्ताव गरेको छ । निर्वाचन निरन्तर भइरहने प्रक्रिया भएकाले यस्तो मिति ऐनमा नै तोकिँदा निर्वाचनसम्बन्धी धेरै अन्योल कम गर्न मद्दत पुग्छ । कुनै तहमा उम्मेदवार बनी पराजित भएको व्यक्ति सोही क्षेत्रमा हुने उपनिर्वाचन बाहेक अन्यत्र उम्मेदवार हुन नपाउने व्यवस्था पनि मस्यौदामा प्रस्ताव गरिएको छ । यसले निर्वाचित जनप्रतिनिधिलाई राजीनामा गराएर निर्वाचनमा हारेको व्यक्तिलाई पुन: विजयी गराउने अहिलेको खेललाई रोक्ने देखिन्छ । त्यसैगरी विभिन्न कारणले मतदानका दिन मतदान गर्न असमर्थ व्यक्तिहरूलाई अग्रिम मतदान गर्न पाउने व्यवस्था गर्न लागिएको छ । यो पनि सकारात्मक छ ।  त्यसैगरी निर्वाचनमा उम्मेदवार हुने व्यक्तिले आफ्नो र परिवारको सम्पत्ति विवरण बुझाउनुपर्ने, उम्मेदवारले आफ्नै बैंक खाताबाट मात्रै निर्वाचन खर्च परिचालन गर्नुपर्नेजस्ता प्रावधान राखिएका छन् । यसरी निर्वाचन सुधार गर्न आयोगले नयाँ व्यवस्था गर्न खोज्नु सकारात्मक छ र थप सुधारका प्रावधान पनि ऐनमा थप्नुपर्ने देखिन्छ ।

सम्बन्धित सामग्री

भारतका केही अस्पतालले कसरी क्यान्सरको औषधीको लागत कटौती गरिरहेका छन् ?

असम (भारत) । भारतको उत्तर–पूर्वी राज्य असमको सिलचरस्थित एक क्यान्सर अस्पतालको प्रतीक्षा क्षेत्रमा सयौं बिरामी छन् ।  पछिल्लो केही महीनायता असम राज्यस्थित कछार क्यान्सर केन्द्रमा आउने बिरामीको संख्या असामान्यरूपमा बढिरहेको छ । उक्त केन्द्रमा आसपासका सहर तथा गाउँबाट बिरामी आउने गरेका छन् । यसको कारण हो– क्यान्सरको औषधी किफायती हुनु ।  यो अस्पताल नेशनल क्यान्सर ग्रिडको हिस्सा हो, जो उपचार केन्द्रको एक समूह हो । यसले ठूलो मात्रामा औषधी खरीद गरी लागत ८५ प्रतिशतभन्दा बढी कटौटी गरेको छ ।  यो कदम देशका गरिब परिवारका लागि जीवनरक्षक बनेको छ । महँगो तथा लामो उपचार चक्रका कारण यहाँका कतिपय परिवार आर्थिक समस्यामा परेका छन् वा उपचारबाट विमुख छन् ।  उदाहरणका लागि : स्तन क्यान्सरको उपचार १० भन्दा बढी चक्रसम्म चल्ने गरेको छ साथै यसको उपचारमा ६ हजार अमेरिकी डलरभन्दा बढी खर्च हुने गरेको छ । औसत मासिक तलब ७०० डलर भएको देशमा यो उपचार धेरैको पहुँचभन्दा बाहिर छ ।  ५८ वर्षीया बेबी नन्दी कछार अस्पताल क्लिनिकमा किमाथेरापीका लागि कुरिरहेकी छन् । यसअघि उनले स्तन क्यान्सरको उपचारका लागि २ हजार किमी यात्रा गर्नुपथ्र्याे । उपचारको पहिलो चक्रमै औषधीको लागत ६५० डलर पथ्र्याे, जबकि उपचारका लागि ६ चक्रको आवश्यकता थियो ।  यात्रा तथा बास खर्चकै कारण उनको परिवारको आर्थिक स्थिति बिग्रिएको थियो । अहिले भने उनले गृहशहर सिलचरमै एक तिहाइ लागतमै उपचार सेवा लिइरहेकी छन् ।  उनका पति नारायण नन्दी भन्छन्, ‘पहिला हामीसँग यति पैसा थिएन । त्यसैले उनको (पत्नी) उपचारका लागि चेन्नई लैजान जमिन बेच्नुपरेको र आफन्तसँग पैसा सापटी लिनुपरेको थियो । कम्तीमा अब हामी घरमै रहेर उनको पूरा उपचार गर्न सक्ने भएका छौं ।’  भारतमा प्रतिवर्ष लगभग २० लाख क्यान्सरका बिरामी देखिन्छन् । तर, कन्सल्टेन्सी फर्म ईवाईले भने यसको तीन गुणाभन्दा बढी बिरामी हुने गरेको अनुमान गरेको छ ।  भारतमा अधिकांश मानिसले स्वास्थ्य उपचारका लागि आफै पैसा खर्चिने गरेका छन् । बीमा वा सरकारी योजनामा सहभागी व्यक्तिहरूलाई पनि त्यहाँको रकमबाट पूर्णरूपमा क्यान्सर उपचार गराउन पुग्दैन ।  असमको ग्रामीण क्षेत्रमा सानो पसल चलाइरहेका अमल चन्द्राले यो समस्याबारे राम्रोसँग बुझेका छन् । सरकारी योजनाको अपर्याप्त रकमका कारण उनकी पत्नीको स्तन क्यान्सरको उपचार बीचमै रोकिएको उनी सम्झन्छन् । उनको पत्नीसँग सरकारी स्वास्थ्य कार्ड छ, जसबाट स्वास्थ्य उपचारमा १८ सय डलर खर्च गर्न सकिन्छ ।  उनले बीबीसीसँग भने, ‘मैले उनको बाँकी किमोथेरापी इन्जेक्सनको भुक्तानी गर्नका लागि २५० डलर सापटी लिनुपरेको थियो ।’ भारतका अधिकांश क्यान्सर बिरामी सहरी तथा ग्रामीण क्षेत्रमा बस्ने गरेका छन्, जबकि स्वास्थ्य देखभालका अधिकांश संशाधन ठूला सहरमा छन् । जसका कारण नन्दीजस्ता बिरामी र तिनका उपचारमा आउने परिवारका सदस्यहरूले उपचारका लागि लामो यात्रा गर्नुपर्ने बाध्यता छ ।  स्वास्थ्य हेरचाह विशेषज्ञका अनुसार, भारतका यी क्षेत्रमा क्यान्सरको औषधी पुर्याउनु स्वास्थ्य सेवा प्रणालीको सबैभन्दा ठूलो समस्या बनेको छ । कछार क्यान्सर अस्पतालले भारतको उत्तर–पूर्वी पहाडमा उपचार सुविधा दिएर उक्त चुनौती पूरा गर्ने कोशिश गरिरहेको छ ।  अस्पतालमा प्रतिवर्ष ५ हजार नयाँ बिरामीको उपचार हुने गरेको छ । साथै अस्पतालले २५ हजार पुराना बिरामीको उपचार प्रबन्ध गर्ने गरेको छ, जसमा कम तलब पाउने कर्मचारी र उपचार गर्न नसक्ने बिरामी पर्छन् ।  यसबाट गैर–नाफामुखी संगठनको फण्डिङमा तीव्र दबाब पर्ने गरेको छ । अर्थात् अस्पतालले प्रतिमहिना २० हजार डलरभन्दा बढी बजेट घाटाको सामना गर्नुपर्छ ।  अस्पताल सञ्चालनको नेतृत्वकर्ता अन्कोलोजिस्ट डा. रवि कन्नन क्यान्सरको औषधीको लागतमा कटौतीको पहलबाट उनीहरूलाई गुणस्तरीय औषधी खरीद गर्न तथा धेरैभत्दा धेरै बिरामीको निःशुल्क उपचार गर्न मद्दत मिलेको छ ।  यसबाट सानो शहरका अस्पतालहरूले क्यान्सरको औषधी अभावको समस्या भोग्नुपरेको छैन । पहिले बिरामीको कम संख्या तथा औषधी खरीदमा छुट्याइएको सीमित रकमका कारण ठूला शहरभन्दा बाहिर औषधीको आपूर्ति अनियमित हुने गरेको थियो ।  डा. कन्ननले भनेका छन्, ‘औषधीको मूल्य पहिले नै तयार गरिएको छ साथै सबै अस्पताललाई बराबर आपूर्ति गर्ने प्रतिबद्धता गरिएको छ ।’ औषधी थोक मूल्यमा खरिदको पहल गर्ने नेतृत्व देशको सबैभन्दा ठूलो क्यान्सर केन्द्र, मुम्बईको टाटा मेमोरियल हस्पिटलले गरेको थियो । यसको प्रारम्भिक सूचीमा ४९ ओटा सामान्य अफ पेटेन्ट औषधि राखिएको थियो, जसले फार्मेसीको लागत ८० प्रतिशत कभर गथ्र्याे । यसबाट समूहलाई १७० मिलियर डलर बचत भएको थियो ।  योजनाको सफलताबाट देशभरका अस्पताल तथा राज्य सरकारको आकर्षित भए । दोस्रो चरणमा थप १०० औषधी थपिए । यद्यपि धेरै महँगो उपचार भने योजनाको हिस्सा छैन ।  राष्ट्रिय क्यान्सर ग्रिडका संयोजक एवं टीएमएचका निर्देशक सी एस प्रमेश भन्छन्, ‘फार्मास्युटिकल कम्पनीले भारतजस्तो बजारका लागि यो सम्झिन आवश्यक छ कि जबसम्म लागत कम हुँदैन तबसम्म ठूलो परिणाममा विक्री हुँदैन । यो कुखुरा र अण्डाको घटनाजस्तै हो ।’ विश्वमा क्यान्सरबाट मर्ने ७० प्रतिशत बिरामी भारतजस्ता निम्न तथा मध्यम आय भएका देशका भएको अनुमान छ, यसकारण राष्ट्रिय क्यान्सर ग्रिडले गरेको पहल विश्वभरका बिरामीलाई मद्दत गर्न महत्त्वपूर्ण हुन सक्छ । बीबीसी

कसरी सुधार्ने अर्थतन्त्र ?

सरकार एकातिर अर्थतन्त्र सुध्रिएको तथ्यांक देखाउँछ, अर्कातिर देशका प्रधानमन्त्री नै ‘अर्थतन्त्र दबाबमुक्त भइनसकेको र सबै मिलेर सामना नगर्ने हो भने संकट झन् गहिरिने’ अभिव्यक्ति दिन्छन् । निजीक्षेत्रले अर्थतन्त्रका अवयवहरू कमजोर अवस्थामा पुगेको बताएको छ । अहिले ‘आर्थिक अराजकता’ बढेको भनिएको छ । यो अराजकताको उत्पादक को हो ? समाधान के हो ? यसमा वस्तुनिष्ठ पहल हुन सकेको छैन । अर्थतन्त्र सरकारी आँकडाले भनेजस्तो सुधारको बाटोमा छैन भन्ने स्पष्ट छ ।  कोरोना महामारीबाट थलिएकामात्र होइनन्, टाट पल्टिएको भनिएको अर्थतन्त्र आफ्नो गतिमा अघि बढिसक्दा तुलनात्मक सहज ठानिएको हाम्रो अर्थ व्यवस्था किन दिनदिनै संकटमा जेलिँदै छ ? अर्थतन्त्र आन्तरिक कारणले मात्रै प्रभावित हुँदैन । बाह्य प्रभावहरूको समाधान आजको भोलि सम्भव हुँदैन । यस्तो आन्तरिक सम्भावनाको उपयोग गरिनुपर्छ । सरकार यसमा उदार नदेखिनुचाहिँ बुझिनसक्नु छ । आन्तरिक स्रोत, साधनहरूको उचित परिचालन हुँदा अर्थतन्त्रको लय यति सारो बिथोलिने थिएन । उत्पादनमात्र होइन, बजार नै एक चौथाइमा खुम्चिएको छ । अर्थतन्त्रका आम सरोकारमा सुधारको प्रत्याभूति नहुँदासम्म सरकारी निकाय तथ्यांकमात्र अर्थतन्त्रले सही बाटो समातेको प्रमाण मान्न सकिँदैन ।  पूँजीको लागत नियन्त्रण हामीले के कुराको उत्पादन गर्ने, के नगर्ने ? भौगोलिक अवस्थिति, बजार, प्रतिस्पर्धी क्षमताजस्ता कुरामा यो निर्भर हुन्छ । आज आत्मनिर्भर भनिएका उद्यम अधिक उत्पादन र सीमित बजारको सकसमा थिचिएका छन् । आन्तरिक बजार पर्याप्त छैन, बाह्य बजारमा प्रतिस्पर्धा गर्ने ल्याकत छैन । वस्तु होओस् वा सेवा लागत बढी राखेर सम्भव छैन । हामीकहाँ पूँजीको उच्च लागत लगानीको सबैभन्दा ठूलो समस्या बनेको छ । कोरोना महामारीको समयमा ७/८ प्रतिशतमा लिएको कर्जाको ब्याजलाई बढाएर १४/१५ प्रतिशत पुर्‍याउँदा उत्पादनको हविगत के होला ? अहिले सुधारको संकेत देखापरे पनि यो उत्पादनमैत्री छैन । बैंकहरूले बचतमा ब्याज घटाए । तर, त्यो कर्जामा एकल अंकको ब्याजदरका लागि अपर्याप्त छैन ।  एक समय हामीकहाँ औद्योगिक कर्जाको ब्याज र विद्युत्को आपूर्ति दक्षिण एशियामै आकर्षक मानिन्थ्यो । त्यो नेपालको वित्तीय बजार र औद्योगिकीकरणको स्वर्णिम समय थियो । स्वदेशी लगानी खुलेर आएको थियो । अहिले हामीकहाँ सञ्चालनमा रहेका बहुराष्ट्रिय कम्पनीहरू त्यतिबेलै भित्रिएका थिए । त्यही समय वित्तीय क्षेत्रमा बाह्य लगानी आयो । वित्तीय क्षेत्रको प्रतिस्पर्धाको लाभ अर्थतन्त्रले लिन सक्यो । पछिल्लो दशकमा अपनाइएको वित्तीय प्रणालीमा प्रतिस्पर्धालाई सीमित गर्ने नीति पनि सदाबहार तरलता अभाव र उच्च ब्याजदरको एउटा मुख्य कारण हो ।  अहिले लगानीकर्ताको आत्मविश्वास खस्किनुका पछाडि उच्च दरको ब्याज र चालू पूँजीकर्जाको सीमाले सृजना गरेको दबाब मुख्य हो । आज कुनै पनि उद्यमी नयाँ लगानी ल्याउने मुडमा छैनन् । जोखिम लिएर लगानी गर्ने र नाफा कमाउन अनेक उपायमा तल्लीन हुने उद्यमी अहिले नाफा कमाउन होइन, कसरी घाटा कम गर्न सकिन्छ भन्ने चिन्तामा डुबेका छन् । सरकारले तत्कालै ब्याजदर नियन्त्रणको उपाय नअपनाउने हो भने अर्थतन्त्रको चालक ठानिएको निजीक्षेत्रको मनोबल अझ कमजोर हुनेमा आशंका आवश्यक छैन ।  मुद्दती बचतमा ५/६ प्रतिशतभन्दा बढी ब्याज नदिने र आधारदरको २० प्रतिशत भन्दा बढी प्रिमियम लिन नपाउने व्यवस्था हुने हो भने कर्जाको ब्याजदरलाई एकल अंकमा सीमित गर्न सकिन्छ । अहिले त उद्यमीले पनि व्यापारमा लगानी गरेर जोखिम लिनुभन्दा बचतमा पैसा राखेर १० प्रतिशतभन्दा बढी आम्दानी गर्नुलाई सुरक्षित ठानेको अवस्था छ । बचतमा ब्याज घटाउँदा मूल्यवृद्धिमा केही हदसम्म चाप पर्न सक्छ । तर, अर्थतन्त्रलाई धरापमा पार्नुभन्दा केही हदसम्म मूल्यवृद्धि सहेरै पनि अर्थव्यवस्थालाई गति दिनु अहिलेको उचित विकल्प हो । बचतमा कम ब्याज दिँदा खर्च गर्ने प्रवृत्ति बढ्छ, यसले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत नै गर्छ ।  जोखिम लिएर लगानी गर्ने र नाफा कमाउन अनेक उपायमा तल्लीन हुने उद्यमी अहिले नाफा कमाउन होइन, कसरी घाटा कम गर्न सकिन्छ भन्ने चिन्तामा डुबेका छन् । सरकारले तत्कालै ब्याजदर नियन्त्रणको उपाय नअपनाउने हो भने अर्थतन्त्रको चालक ठानिएको निजीक्षेत्रको मनोबल अझ कमजोर हुने निश्चित छ । सस्तो विद्युत् आपूर्ति  हामी विद्युत् निकासीको १० वर्षे सपनामा मख्ख छौं । तर, यथार्थमा वर्र्षामा खेर गइरहेको बिजुलीसमेत सही तरीकाले व्यवस्थापन हुन सकेको छैन । खपतका लागि भारतलाई हारगुहार गर्नु परेको छ । त्यही खेर गइरहेको ऊर्जा स्वदेशका उद्योगलाई सस्तोमा दिने हो भने विद्युत्को खपतसँगै उद्योगले प्रतिस्पर्धी उत्पादन बनाउन सहज हुन्छ । बढी विद्युत् खपत गर्ने सिमेन्ट, फलामजस्ता उद्योगले निकासी गरेमा नगद अनुदान र विद्युत् महशुलमा छूट दिने भनिएको छ । शर्तसहित घोषणा गरिएको सहुलियत लिन खेप्नुपर्ने सकस यतिसम्म छ कि, उद्योगीहरू यस्तो अनुदान पाउनेमा आश्वस्तभन्दा बढी सशंकित छन् । निकासीजन्य उद्योगका लागि भन्सार, कर, निकासीजस्ता शर्त तोकेर नगद अनुदानको झमेला गर्नुभन्दा विद्युत् खपतमा छूट दिएर सस्तो दरमा ऊर्जा खपतको बाटो खोलिदने हो भने त्यो प्रभावकारी हुन सक्छ । यो नै उत्पादन लागत घटाएर बाह्य बजारमा स्थापित हुने सजिलो र पारदर्शी तरीका हुन सक्छ । सरकारले दश किसिमका सहुलियत घोषणा गर्ने, तर त्यसको प्राप्तिका लागि अनेक थरीका पापड बेल्नुपर्ने र टेबलमुनिको आर्थिक लेनदेनको बाध्यताले व्यवसायीको आत्मबल र अर्थतन्त्रको उत्थानलाई कदापि सहयोग मिल्दैन ।  कर प्रणालीमा सुधार  हाम्रो अधिकांश वैदेशिक व्यापार र आपूर्ति भारतमा निर्भर छ । भारतले करप्रणालीमा आमूल सुधार गरेर अर्थतन्त्रको लागत घटाइराख्दा हामी भने तहगत सरकारले लगाएका करको चक्रव्यूहमा फस्दै गएका छौं । भारतमा लागू भएको वस्तु तथा सेवा कर (जीएसटी)ले त्यहाँ आम उपभोगका वस्तुको उत्पादन लागत न्यूनीकरण हुँदा हामीले उपभोग गर्ने आयातितदेखि उत्पादित सबै खालका वस्तुलाई तहगत सरकारका अव्यावहारिक करको भारीले थिच्ने काम भइरहेको छ । स्थानीय सरकारलाई कानून बनाएर कर उठाउन दिइएको अधिकारको मनपरी उपयोगले पालिकैपिच्छे करका शीर्षक र दर फरकफरक छन् । एक समय खारेजीमा परेको कवाडी कर ब्यूँताएर सडकदेखि उद्योगका ढोकाढोकासम्म तनावको बीउ छरिएको छ । विगतमा कम्तीमा स्थानीय स्वायत्त शासन ऐन र त्यसको नियमावलीले यस्तो करको सीमा तोकेको थियो । अहिले त्यो पनि छैन । करमा पालिकाहरूलाई सुम्पिइएको असीमित अधिकारले अराजकता निम्त्याएको छ । यतिसम्म कि, लगानीकर्ताले कर्जा काडेर ल्याएको लगानीमा पनि वर्षेनि करोडौं रुपैयाँ सम्पत्ति कर तिरेका छन् । संघीयताले बढाएको खर्चको भार उपभोक्तामाथि थोपर्ने बदनियत देखिएको छ । सत्ताको संरचना, सुविधा, सुरक्षा व्यवस्थापनलगायत पुन: संरचनामार्फत खर्च घटाउन सकिन्छ । फजुल खर्च कटौतीमा चासो दिइएको छैन । जनतामाथि करको भारी थोपरेर सुविधा भोगलाई अग्रभागमा राखिएको छ ।  करीब ३ दशकअघि मूल्यअभिवृद्धि कर लागू हुँदा अन्त:शुल्क हट्ने भनिएको थियो । त्यसयता अन्त:शुल्क लाग्ने वस्तुको सूची र दर भने थपिन छोडेको छैन । अधिक अन्त:शुल्ककै कारण कतिपय उद्योग त बन्द भइसकेका छन् । दैनिक उपभोग्य वस्तुदेखि विलासी वस्तुसम्ममा एकै दरको मूल्यअभिवृद्धि कर कुनै पनि हिसाबले सान्दर्भिक र न्यायोचित छैन । जबसम्म भन्सारमा छलेको हालेरै देश चलाउने खर्च उठाउने उद्देश्य राखिन्छ र आन्तरिक उत्पादनमा लगानी बढाउने खालको करनीति बनाउन आवश्यक ठानिँदैन, त्यति बेलासम्म सबल अर्थतन्त्र फगत सपनाबाहेक अरू केही हुन सम्भव छैन । यतिसम्म कि, राज्यले उद्यमको घाटाको ब्यालेन्ससीटलाई मान्दैन । तर, सरकारले चलाएका दर्जनौं उद्योग व्यापारघाटा खाँदाखाँदा आज टाट पल्टिएका छन् । राज्य चलाउने स्रोत भन्सारबाट आर्जन हुने अप्रत्यक्ष करबाट होइन, आयका अवसर बढाएर अप्रत्यक्ष करमा केन्द्रित हुनुपर्छ । करदातालाई निचोरेर ढुकुटी भर्ने ध्येय राखेर हुँदैन, आयका अवसर कसरी फराकिलो बनाउन सकिन्छ भन्नेमा केन्द्रित हुनुपर्छ । अवैध आयात, ओसारपसार, राजस्व चुहावट, आर्थिक अनियमितता, कालोधन सञ्चितिलगायत अर्थतन्त्रका असंगतिहरू अव्यावहारिक करप्रणालीकै सहउत्पादन हुन् । अर्थतन्त्रलाई थितिमा ल्याउन कर प्रणालीलाई सापेक्ष नबनाई सुखै छैन ।  कम छैनन् निजीक्षेत्रका विरोधाभास सरकारी अड्््डाबाट दिइने सरोकारका सेवाहरूलाई प्रविधिमैत्री बनाउँदै तजबिजी अधिकारको कटौती अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाउने प्रभावकारी औजारमध्येको एक हो । अर्थतन्त्रको अहिलेको अवस्थामा सत्ता चलाउनेमात्र होइन, सरकारप्रति गुनासोमात्र बढी ओकल्ने निजीक्षेत्र पनि जिम्मेवार छ । पूँजी व्यवस्थापन, कर, महशुलमा दिइएका अनुदान र सहुलियतको सदुपयोगमा निजीक्षेत्रले इमान गुमाएका उदाहरणहरूको कमी छैन । निजीक्षेत्रमै फस्टाएको बेइमानीले नै आज उधारो असुलीसम्बन्धी कानूनको खाँचो खट्किएको हो । सत्तामा बस्नेहरूसँगको साँठगाँठमा सरकारी स्रोतको दुरुपयोगदेखि नीतिगत चलखेलका घटनाक्रम ताजै छन् । यस्ता चलखेल जसले सीमित घराना मालामाल हुने, तर औसत उद्यम व्यापार बेहालको अवस्था पनि देखिएकै हो । निजीक्षेत्रको यो प्रवृत्तिलाई नीतिगत अस्थिरताको सूत्राधार भन्न अप्ठ्यारो मान्नु पर्दैन । यो प्रवृत्ति नै आज निजीक्षेत्रमाथि आशंका र आक्षेपको प्रमुख कारण बनेकोमा द्विविधा आवश्यक छैन । निजीक्षेत्रको यो आचरण कायमै रहँदा अर्थतन्त्र उत्थानका उपायहरू प्रकारान्तरले केही स्वार्थी समूहको दुनो सोझ्याउने उपकरण बन्दैनन् भनेर ढुक्क हुन पनि सकिँदैन ।

व्यापार प्रवर्द्धनमा पारवहनको सहजीकरण

नेपालको व्यापारका अधिकांश आयामहरू बाह्य स्रोतमा निर्भर छन् । आयातमा आधारित आपूर्ति व्यवस्था हाम्रो अर्थतन्त्रको चरित्र हो । दुई तिहाइ हाराहारीको व्यापार भारतमा केन्द्रित छ भने बाँकी अन्य देशसँग भइरहेको छ । त्यसमा पनि अधिकांश व्यापार आयात नै छ । कोरोना महामारीयता खुम्चिएको विश्व अर्थतन्त्रको असरबाट हामी समस्यामा नपर्ने भन्ने त हुँदैन, बरु यसको असर अरूको तुलनामा बढी नै परेको छ ।  अधिकांश अर्थतन्त्र कोरोनाको असरबाट मुक्त भएर लय समातिरहेको अवस्थामा हामी भने अधोगतितिरै उन्मुख भएको भान हुन्छ । आज उद्यम र व्यापार २०/२५ प्रतिशतमा खुम्चिएको छ । वैदेशिक व्यापारको ग्राफ पनि खस्किएको छ । व्यापार घटेपछि सरकारले उठाउने राजस्वमा पनि त्यसको प्रतिकूल असर देखिएको छ । निकासी व्यापार निरन्तर ओरालो लागेको छ भने आयातको लागत बढेको छ । बजारमा माग नहुँदा वस्तुको मूल्य कम हुनुपर्ने हो, तर अर्थशास्त्रको यो नियमले काम गर्न छोडेको छ । मूल्यवृद्धि अकाशिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो अध्ययनले पनि मूल्यवृद्धि अपेक्षा गरिएभन्दा द्रुत गतिमा उकालो लागेको देखाएको छ । अत: मूल्यवृद्धिमा असर पारिरहेका पक्षको सूक्ष्म विश्लेषण गरी त्यस्ता समस्याको उचित उपचार जरुरी छ । हाम्रोजस्तो भूपरिवेष्टित अर्थतन्त्रका लागि कुनै पनि वस्तुको मूल्यमा पारवहनको लागत प्रमुख हुन्छ । अध्ययनहरूले तटीय देशहरूमा यस्तो खर्च ८/१० प्रतिशत हुने देखाएका छन् । हामीकहाँ यो लागत ४० प्रतिशतसम्म भएका तथ्यांकहरू छन् । यस्तो खर्च कसरी न्यूनीकरण गर्न सकिन्छ ? यसमा ध्यान केन्द्रित हुन अत्यावश्यक भइसकेको छ ।  हाम्रो पारवहनको प्रवृत्ति हेर्ने हो भने कुल पारवहनमा १० प्रतिशत जति हवाई मार्गबाट हुन्छ । ९० प्रतिशत कार्गोको ढुवानी समुद्री र स्थलमार्गबाट हुने गरेको छ । स्थलमार्गमा सडक र रेलवे पर्छन् । नेपाल ३ तर्फबाट भारत र एकतर्फ चीनले घेरिएर रहनु र भौगोलिक कारणले ९० प्रतिशत कार्गो ढुवानी भारतीय बन्दरगाह र स्थलमार्गबाटै भइरहेको छ । यो तथ्यको तात्पर्य, हामीले भारतीय समुद्री बन्दरगाह र स्थलमार्गको प्रतिस्पर्धी उपयोग गर्दा मात्रै पारवहनको लागत घटाउन सक्छौं । तर, यसमा अहिलेसम्म प्रभावकारी प्रयास त परको कुरा वस्तुनिष्ठ बहससमेत हुन पाएको छैन ।  विगत केही वर्षयता समुद्री मार्गमा कार्गो ढुवानी गर्ने सिपिङ लाइन्सहरूले नेपालको मुख्य प्रवेशद्वार वीरगञ्जसम्म नै पुर्‍याउने गरी ढुवानी गरिरहेका छन् । त्यसबीचमा पर्ने भारतीय रेल सेवाप्रदायकलाई बुझाउनुपर्ने भाडा पनि सिपिङ कम्पनीले नै असुल गरिरहेको अवस्थामा छ । यस्तोमा रेल सेवाप्रदायक कम्पनीबीचको प्रतिस्पर्धाको लाभ स्वदेशको व्यापारले पाउन सकेको छैन । समुद्री बन्दरगाहदेखि वीरगञ्ज सुक्खा बन्दरगाहसम्म भएका प्रक्रियागत सुधार र अनलाइन प्रविधिका कारण घटेको लागतको लाभ पनि हाम्रो व्यापारले पाउनुपर्छ । तर, त्यसो हुन सकेको छैन । यसमा सरोकारका पक्ष आवश्यकता जति गम्भीर देखिएका छैनन् ।  यतिसम्म कि नेपालमा व्यापार गरिरहेका सिपिङ कम्पनीलाई नेपालमै दर्ता गराउन सरकार सफल हुन सकेको छैन । यसबाट यो व्यापार सरकारी नियमनको दायरामा छैन । यी परिदृश्यले समुद्रीय तटबाट टाढा रहेको नेपालको व्यापारमा उच्च पारवहन लागतको पीडा घट्ने अवस्था देखिएको छैन ।  हामीले नेपालको झन्डा फराउँदै समुद्रमा पानी जहाज दौडाउने सपनामात्रै देख्यौं । तर, त्यसलाई कसरी सार्थक बनाउने भन्नेमा रणनीतिक योजना भने देख्न पाइएको छैन । यो हाम्रो अर्थराजनीतिक विडम्बना नै हो । नेपालका ठूला नदी हुँदै भारतको गंगा नदीमा पानी जहाज पुर्‍याउन विगतमा सम्भाव्यता अध्ययन भएकै हुन् । नेपालको कोशी र गण्डकी हुँदै समुद्री मार्गमा जोडिने कुरा पछिल्लो समयमा पनि बेलाबेलामा चर्चामा आउने र सेलाउने भइरहेको छ । वास्तवमा नेपालको समग्र अर्थतन्त्रकै नक्सा बदल्ने सामथ्र्य राख्ने यस्ता रणनीतिक महत्त्वका योजनाहरू केवल राजनीतिक खपतका विषयमात्रै बन्नु अर्थतन्त्रको दुर्भाग्य हो ।  हामी भौगोलिक कारणले समुद्री बन्दरगाहमा भारतको भर पर्ने अवस्थामा छौं । यो हाम्रो भौगालिक बाध्यता यस कारण पनि हो कि उत्तर छिमेक चीनतर्फका बन्दरगाह उपयोगको चर्चा वास्तविकतामा रूपान्तरण हुन त्यति सहज छैन । भौगोलिक जटिलता यसको मूल कारण हो । भारतबाट हामीले अहिले कोलकाता, हल्दिया र विशाखापत्तनम् बन्दरगाह उपयोगको बाटो पाएका छौं । त्यसमा पनि कोलकाता र हल्दिया निकै सकसपूर्ण भएपछि बल्लतल्ल विशाखापत्तनम्को विकल्प खुला भएको थियो । आज यी बन्दरगाह अपर्याप्त भइसकेको अवस्था छ । धाम्रा र मुद्रा बन्दरगाहको चर्चा सुनिए पनि त्यसमा आशलाग्दो प्रगति देखिएको छैन । यी बन्दरगाह उपयोगको बाटो खोल्न प्रभावकारी कूटनीतिक प्रयास भएको जानकारी पनि बाहिर आएको छैन । भारतमा हाम्रा लागि पायक पर्ने सबै बन्दरगाह खुला गर्नेतर्फ किन पहल नथाल्ने ? यसो हुँदा व्यापारीलाई जहाँबाट अनुकूल हुन्छ त्यहींबाट मालसामान ल्याउने विकल्प प्राप्त हुन्छ । यसले पारवहनलाई प्रतिस्पर्धी बनाउन मद्दत पुग्छ ।  व्यापार सहजीकरणका लागि भनिएका अन्तरसरकारी बैठकहरू केवल कर्मकाण्डजस्ता लाग्न थालेका छन् । हालैमात्र नेपाल–भारत वाणिज्य सन्धि विनासंशोधन स्वत: नवीकरण भएको समाचार आएको थियो । २०७६ मा पारवहन सन्धि यसै गरी नवीकरण हुन पुगेको थियो । सुधारका एजेन्डा हुँदाहुँदै संशोधन हुन नसक्नु हाम्रो आर्थिक कूटनीतिको कमजोरी हो । आजको विश्व कसरी व्यापारको लागत घटाएर अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाउने अभियानमा लागेको छ । भारत र चीन समुद्री/स्थलमार्गको सञ्जाल विस्तारमा आक्रामक रूपमा अघि बढिरहँदा यी दुई विशाल अर्थतन्त्रको बीचमा रहेका हामी बनिबनाउ अवस्थामा रहेका पूर्वाधार उपयोगको पहलमा समेत पछि परेका छौं । हाम्रो वैदेशिक व्यापारमा योभन्दा लज्जाको विषय अरू के हुन सक्छ ?  नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको व्यापार समितिका अध्यक्ष अग्रवालसँगको कुराकानीमा आधारित ।

जलविद्युत्मा किन चीनको लगानी दुरुत्साहित ?

सन् १९९० को दशकपछि जलविद्युत् विकासका लागि विभिन्न पहल भएको देखिन्छ । यसै दशकमा नेपालमा विभिन्न जलविद्युत् आयोजनाको लागि चर्चा चलेको थियो । यसमध्ये अरूण तेस्रोले चर्चित हुने मौका पायो । यसको निर्माणका लागि विश्व बैंकको लगानी त्यसताका आकर्षित भएको थियो । तर, विश्व बैंकको पहलमा हुने लगानी अवसान हुन पुग्यो । कारण के थियो भने, विश्व बैंकले यसबाट हात झिक्नु ।  किटान गरेर भन्न सकिने अवस्था नभए पनि अनुमान लगाउन सकिन्छ । विविध कारणमध्ये नेपालको जलविद्युत्मा भारतीय एकाधिकारपन पनि एक हुन सक्छ । यसैको परिणाम पनि हुन सक्छ, भारतीय लगानीमा यो आयोजनाको निर्माण भइरहेको छ । यसबाट उत्पादित बिजुलीको केही अंश नेपाललाई दिएर बाँकी सबै भारतले लैजाने प्रावधान रहेको छ । यसले के देखाउँछ भने भारत आफै नेपालमा जलविद्युत् आयोजना निर्माण गर्न आतुर छ । यसका साथसाथै चिनियाँ कम्पनीहरू पनि नेपालको जलविद्युत् विकासका लागि आतुर देखिन्छन् तर सफल हुन सकेका छैनन् । केही सानातिना जलविद्युत् आयोजनाको निर्माण चिनियाँ लगानीमा रहेको र ती आयोजनाबाट बिजुली उत्पादन भइरहेको छ । यस्तै चिनियाँ लगानीमा माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाको निर्माण हुने कुराको चर्चा चल्यो । नेपाल सरकार, नेपाल विद्युत् प्राधिकरण र चाइना एक्जिम बैंक यो आयोजना निर्माण गर्दा लाग्ने खर्चका स्रोतका रूपमा रहेका थिए । सन् २०१० मा शुरू भई सन् २०१४ मा निर्माण सम्पन्न हुने गरी सम्झौता भइसकेको थियो । चाइना गेजुवा ग्रूप कम्पनी लिमिटेडले यसको निर्माण गरिरहेको थियो । यस कम्पनीले सन् २०१३ सम्ममा एक चौथाइ कार्य गरिसकेको थियो भन्ने प्रतिवेदन पनि सार्वजनिक भइसकेको थियो ।  कारण विभिन्न हुन सक्छन् तर क्षमता अभिवृद्धि गर्ने नाउँमा यो आयोजनाको निर्माणमा अवरोध हुन पुग्यो । राज्यका शक्तिशाली व्यक्तिहरू र विद्युत् प्राधिकरणका कर्मचारीहरू समेत यो आयोजनाको विरोधमा उत्रिए । फलस्वरूप यो आयोजनाको निर्माण नै बन्द हुन पुग्यो । जति यो आयोजनाको निर्माणमा लगानी भयो । यो नेपालको थियो, तत्काल प्रतिफल नआउने क्षेत्रमा लगानी भयो । यसले तत्काल प्रतिफल दिन सकेन । तत्कालीन अवस्थामा लगानी खेर गयो । यही प्रयोग वैकल्पिक क्षेत्रहरूमा भएको भए प्रतिफल प्राप्त गर्न सकिने थियो । यो एउटा उदाहरण हो, अपारदर्शिता र गैरजिम्मेवारपनको । हाल यसको निर्माण कोरियाली लगानी र प्रविधिमा हुने भनिएको छ । आशा गरांै, फेरि कतैबाट अर्कोतिर नसोझिएमा यसको निर्माण कोरियाली लगानीमा हुन्छ भन्ने विश्वास गर्न सकिन्छ । कोरियाली लगानीमा आयोजनाले सफलता त्यसबेला पाउन सक्छ जब चीन र अमेरिकाको सम्बन्धमा सौहार्द हुन्छ । अन्यथा कोरियाली लगानी पनि प्रभावहीन हुन सक्ने कुरामा शंका गर्न सकिन्छ ।  नेपाल सरकारले इजाजतपत्र रद्द गर्ने निर्णय भएपछि चाइना स्नोयी माउन्टेन इन्जिनीयरिङ कर्पोरेशन र एशियाली विकास बैंक दुवै ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजनाको निर्माण गर्नबाट बाहिरिएका थिए । पछि चाइना थ्री गर्जेज कर्पोरेशनले यसको निर्माणमा चासो देखायो । सोहीअनुरूप नेपाल सरकारले यो आयोजना निर्माणका लागि सम्झौता पनि गर्‍यो । यो आयोजना निर्माणका लागि एउटा पार्टीको सरकारले सम्झौता गर्‍यो ।  नेपालमा सरकार फेरिइने भएकाले फेरि अर्को दलको नेतृत्वमा सरकार बन्यो । नयाँ बनेको सरकारको पालामा चाइना थ्री गर्जेज कर्पोरेशन यसको निर्माणबाट बाहिरियो । यसले के देखाउँछ भने नेपालले दुईपटक यो आयोजनामा संलग्न रहेका चाइनाका जलविद्युत् उत्पादकहरूलाई गुमायो । प्राविधिक र आर्थिक अड्चन हुन सक्छन् यी जलविद्युत् उत्पादक कम्पनीहरू बाहिरिनुमा । तर, वास्तविकता र रहस्य यही कारणलाई मात्र मान्न सकिँदैन । भू–राजनीतिक परिवेश नै यसको प्रमुख कारक हुन सक्ने कुरा नकार्न पनि सकिँदैन । जे होस् यो आयोजनाले फेरि नयाँ लगानीकर्ता पाएको छ । नेपालका केही अन्य जलविद्युत् आयोजनाहरू जस्तै यसले पनि भारतीय पोल्टामा लुटपुटिने मौका पाएको छ । आशा गरौं, फेरि पनि यसको निर्माण कतै कुनै बहानामा रद्द नहोस् ।  विनाप्रतिस्पर्धा चाइना गेजुवा ग्रूप कर्पोरेशनले १२०० मेगावाट उत्पादन क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माणका लागि सन् २०१७ मा इजाजत पाएको थियो । तर, यो सम्झौता काम शुरू नगर्दै सोही वर्ष रद्द हुन पुग्यो । यसको मुख्य कारण देखाइएको थियो, प्रतिस्पर्धाविना गरिएको सम्झौता ।  फेरि कतैबाट अर्कोतिर नसोझिएमा माथिल्लो त्रिशूलीको निर्माण कोरियाली लगानीमा हुन्छ भन्ने विश्वास गर्न सकिन्छ । कोरियाली लगानीमा आयोजनाले सफलता त्यसबेला पाउन सक्छ जब चीन र अमेरिकाको सम्बन्धमा सौहार्द हुन्छ । अन्यथा कोरियाली लगानी पनि प्रभावहीन हुन सक्छ । नेपाल सरकारले आफैले यसको निर्माण गर्ने भन्ने चर्चा चलिरहेको छ । यस्तै माथिल्लो अरुण जलविद्युत् आयोजनाको निर्माणका लागि पनि चीन तत्पर देखिन्छ । तर, नेपाल यस विषयमा राम्ररी खुल्न सकेको छैन । नेपालको आफ्नै लगानीमा निर्माण गर्ने भनेर अट्किरहेको छ । तर, नेपालसँग प्रविधिका साथै यथेष्ट लगानीको अभाव छ । अन्तरराष्ट्रिय वित्तीय संस्थाहरूबाट नेपालले ऋण लिएर यसको पहल गर्न सक्ने सम्भावना नरहेको पनि होइन, यसो गर्न सकिन्छ । यी संस्थाबाट सहयोग प्राप्त गर्न विश्वका शक्तिशाली राष्ट्रहरूको सहमतिका साथै अनुमति पाउनुपर्छ । जहाँसम्म आन्तरिक ऋणको कुरा छ यति ठूलो आयोजना निर्माणका लागि कठिन मात्र होइन, अपर्याप्त नै हुन्छ ।  यति हुँदाहुँदै पनि चीनले माथिल्लो मस्र्याङ्दी र मादी जलविद्युत् आयोजना बुट प्रणालीअन्तर्गत निर्माण गरिरहेको छ जसमा माथिल्लो मस्र्याङ्दी जलविद्युत् आयोजनाबाट ५० मेगावाट बिजुली उत्पादन भइसकेको छ । चिनियाँ कम्पनीको प्रविधिमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भई बिजुली प्रवाह भइरहेको छ । यसले के प्रमाणित गर्छ भने नेपालका ठूलाठूला जलविद्युत्् आयोजनाको निर्माणबाट चीन बाहिरिए पनि जलविद्युत् उत्पादनका क्षेत्रमा चीनको उल्लेखनीय योगदान रहेको तथ्य नकार्न सकिँदैन । यही तथ्यलाई आधार बनाएर होला, भारतले ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ ।  जलविद्युत् क्षेत्रमा भारतले आफ्नो वर्चस्व कायम राख्न हालै १० वर्षमा १० हजार मेगावाट बिजुली नेपालबाट आयात गर्ने प्रतिबद्धता जनाइसकेको छ । प्रतिबद्धता मात्र होइन, सम्झौता नै भइसकेको छ । तर, भारत चीनको लगानी, प्रविधि वा सहयोगमा निर्मित जलविद्युत् आयोजनाबाट उत्पादित बिजुलीको आयातमा भने अघोषित प्रतिबन्ध लगाइरहेको छ । ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजनाको निर्माणमा चीनको लगानीको सम्भावना कटौती हुनासाथ भारतीय लगानीमा निर्माण गरी विद्युत् उत्पादनका लागि सम्झौता नै भइसकेको छ ।  यसअतिरक्त अन्य जलविद्युत् आयोजनाको निर्माणको इजाजत पनि लिइसकेको छ । यसले के देखाउँछ भने नेपालको जलविद्युत्मा भारत आफ्नो वर्चस्व कायम राख्न चाहन्छ । चीनको लगानीबाट जलविद्युत् वा जलस्रोतको विकासका लागि भारत तगारो बन्ने सम्भावना धेरै देखिन्छ । यसै सन्दर्भलाई संकेत गर्दै नेपालका लागि चीनका राजदूत चेनसोङले नेपालको विद्युत् व्यापारका बारेमा हालै टिपणी गरेका थिए, ‘नेपालले सन् २०२२–२३ मा ६ दशमलव २५ भारू बराबरको बिजुली निर्यात गरेको थियो भने सोही वर्ष ११ दशमलव ८ भारू बराबरको बिजुली आयात गरेको थियो । कहाँनेर नेपाललाई फाइदा भयो ।’ पञ्चेश्वर जलविद्युत् आयोजनाको निर्माण गर्न आत्तिएको भारत एकाएक पछि हटेजस्तो देखिन्छ । यसको डीपीआरसम्म बन्न सकेको छैन । भारत नेपालका जलविद्युत् आयोजनाको निर्माण बीबीआईएनको नमूनामा ढाल्न चाहन्छ । अर्थात् नेपालका सबै जलविद्युत् आयोजना आफ्नो नियन्त्रणमा राख्न चाहन्छ । यसले विशेष गरेर चीनलगायत अन्य देशको पहललाई निस्तेज बनाउन मद्दत गर्छ ।  लेखक अर्थशास्त्री हुन् ।

न्यू बिजनेश एजको २२औं वार्षिकोत्सव विशेष:  डिजिटल इकोनोमीमा फड्को

काठमाडौं । मोबाइलको सर्वव्यापी र इन्टरनेट प्रयोग पनि ६० प्रतिशत हाराहारी रहेकाले नेपालमा डिजिटल प्रणालीको स्वीकार्यता अहिलेसम्मकै उच्च देखिन्छ । नेपालले इन्टरनेटमा आधारित सेवाहरू तीव्र गतिमा अवलम्बन गर्दै गर्दा सार्वजनिक क्षेत्रमा यसको प्रयोगका सम्बन्धका तथ्यांक, अध्ययन तथा उद्यमहरू अपर्याप्त रहेको अवस्था छ । डिजिटल समाज विकासका लागि महत्त्वपूर्ण हुने डिजिटल भुक्तानी र अनलाइन बैंकिङजस्ता सहायक वातावरणको न्यूनता रहेकाले नेपाली समाजले डिजिटल क्रान्तिको पूर्ण लाभ उठाउन सकेको छैन । आर्टिफिसियल इन्टेलिजेन्स, रोबोटिक्स र इन्टरनेट अफ थिङ्स (आईओटी), बिग डेटा एनलाइटिक जस्ता उदीयमान व्यापार मोडेल र नवीनतम प्रविधिले अहिलेको काम गर्ने तरीकामा परिवर्तन ल्याउँदै छन् । डिजिटल प्रविधिको प्रयोगले विश्वव्यापी रूपमा तीव्र आर्थिक वृद्धि प्राप्त गर्न सरकार तथा उद्यमी दुवैलाई सम्भावनाका ढोका खोलिदिएको छ । साथै लगानी, अन्तरनिकायगत समन्वय र प्राविधिक ‘एपसी गो’ क्षमता विकास र प्रविधिमा आधारित उत्पादन यसका लागि चुनौतीका रूपमा रहेको देखिन्छ ।  डिजिटल प्रविधिको प्रयोग र कुल गार्हस्थ्य उत्पादन वृद्धिबीच बलियो सम्बन्ध छ । विश्व बैंकको अध्ययनअनुसार इन्टरनेट लगानीमा हुने प्रत्येक १० प्रतिशत वृद्धिले १ दशमलव ३ प्रतिशतको आर्थिक वृद्धि ल्याउँछ । आम जनसमुदायसम्म इन्टरनेटको प्रयोग पुगेपछि यसको प्रभावबाट थप आर्थिक वृद्धि हुन्छ । सन् २०२६ सम्ममा अतिकम विकसित राष्ट्रको श्रेणीबाट माथि उठ्ने र सन् २०३० भित्र मध्यम आय राष्ट्र बन्ने लक्ष्य प्राप्त गर्न नेपालले आफ्ना आय मापदण्डहरू पूरा गर्ने यथार्थवादी मौका प्राप्त गर्न आफ्नो आर्थिक वृद्धिलाई ८ देखि १० प्रतिशतसम्म विस्तार गर्नु आवश्यक छ । नवीनतम डिजिटल प्रविधिको प्रयोगद्वारा आफ्नो सामाजिक–आर्थिक वृद्धिलाई छोटो बाटोबाट अगाडि बढाउने सम्भावना छ । राज्यले अँगालेको डिजिटल नेपाल फ्रेमवर्कले महत्त्वपूर्ण डिजिटल पहलहरूको पहिचान गरी नेपाललाई आफ्नो विकास क्षमता उपयोग गर्न मार्गदर्शन प्रदान गरेको छ । नवीनतम डिजिटल प्रविधिको प्रयोगद्वारा आफ्नो सामाजिक–आर्थिक वृद्धिलाई छोटो बाटोबाट अगाडि बढाउने सम्भावना छ । राज्यले अँगालेको डिजिटल नेपाल फ्रेमवर्कले महत्त्वपूर्ण डिजिटल पहलहरूको पहिचान गरी नेपाललाई आफ्नो विकास क्षमता उपयोग गर्न मार्गदर्शन प्रदान गरेको छ । सामाजिक–आर्थिक विकास प्राप्त गर्न उन्नत नवीनतम प्रविधि प्रयोग गरेर डिजिटल नेपाल कार्यक्रमले नेपालको विकास क्षमतालाई उजागर गर्न र सन् २०२६ सम्ममा विकासशील देशमा परिणत हुन तथा सन् २०३० सम्ममा मध्यम आय राष्ट्र बन्न सहयोग पुर्‍याउने सरकारी अनुमान छ । यसबीचमा डिजिटल वित्तीय व्यवस्थाको विकास अझ गर्न जरुरी छ । मोबाइलमा आधारित डिजिटल भुक्तानी र वित्तीय कारोबार आधुनिक वित्तीय प्रणालीका महत्त्वपूर्ण माध्यम हुन् । डिजिटल वित्तीय प्रणालीले नयाँ व्यापार मोडेल तथा डिजिटल स्टार्ट–अप्सको सहजीकरण, नयाँ रोजगारीका अवसरको सृजना र तीव्र आर्थिक वृद्धिलाई सहज पार्छ । डिजिटल वित्तीय सेवाले वित्तीय सेवामा पहुँच नपुगेका जनतालाई सेवा प्रदान गरी वित्तीय समावेशितालाई समेत प्रोत्साहन गर्ने गरेको छ । अब सरकारले डिजिटल वित्तीय सेवा विकासका लागि विद्युतीय भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्नुपर्ने, वित्तीय समावेशितालाई प्रोत्साहन गर्ने सेवाहरू प्रदान गर्ने, बैंक तथा वित्तीय संस्था एवं दूरसञ्चार सेवाप्रदायकलाई फिनटेकमा लगानी गर्न आकर्षित गर्ने, बचत, लगानी, खर्च, करलगायत विषयमा पारदर्शिता प्राप्त गर्नेजस्ता काम गर्न जरुरी छ । उद्यमशीलता–सार्वजनिक–निजी साझेदारीको अभ्यासलाई सरकारले अवलम्बन गर्न जरुरी छ । नवीन सोच र उद्यमशीलताको विकासका लागि आवश्यक पर्ने बलियो इकोसिस्टम निर्माण कार्यलाई द्रुत गतिमा प्रवद्र्धन गरियो भने मुलुक थप अघि बढ्ने थियो । प्राथमिक क्षेत्रहरूमा प्रत्यक्ष वैदेशिक लगानीलाई प्रोत्साहन गर्न सरकारले डिजिटल नेपाल पहलहरूका लागि प्रत्यक्ष वैदेशिक लगानीका निमित्त फास्टट्र्याक विधि अपनाउने, डिजिटल नेपाल पहलहरूका लागि शतप्रतिशत प्रत्यक्ष वैदेशिक लगानी र कोषको रकम प्रत्यावर्तनका लागि सहजीकरण गर्नेजस्ता कार्य गर्नुपर्छ भने उद्यमशीलता प्रर्वद्धन लागि सार्वजनिक–निजी साझेदारीको अभ्यास जरुरी छ । सरकारले तय गरेको डिजिटल नेपाल फ्रेमवर्कको प्रभावकारी कार्यान्वयन, दिगोपन र भविष्यमा विस्तारको लागि आवश्यक प्रविधि, विशेषज्ञता तथा पूँजी परिचालनका लागि सार्वजनिक–निजी साझेदारी र वैदेशिक लगानीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले त्यसमा सरकार लाग्न जरुरी छ । निजीक्षेत्रको सहभागितालाई प्रोत्साहन गर्न आवश्यक नीतिगत तथा कानूनी व्यवस्था सुधारमा समेत राज्यको ध्यान जानु जरुरी छ । सरकारले बनाएको डिजिटल फ्रेमवर्कको कार्यान्वयनमा निजीक्षेत्रको सहभागिता बढाउन निजी लगानी परिचालनका निम्ति सार्वजनिक–निजी साझेदारी प्रवद्र्धन गर्ने, दुर्गम तथा ग्रामीण क्षेत्रमा स्मार्ट स्वास्थ्य, कृषि, शिक्षा, पर्यटनलगायत महत्त्वपूर्ण तथा प्राथमिकताका क्षेत्रमा लगानी गर्न आवश्यक आर्थिक प्रोत्साहनको व्यवस्था गर्ने, नवप्रवर्तन र सृजनशील उद्यमशीलतालाई प्रोत्साहन गर्न तथा बृहत् रोजगारीका अवसरहरू सृजना गर्ने कार्यक्रमका लागि स्टार्ट–अप कार्यक्रमको शुरुआत गर्नेजस्ता कार्यमा ढिलाइ गर्नु हुँदैन ।  मुलुकलाई डिजिटल इकोनोमीमा फड्को मार्न सरकारले वैदेशिक लगानी आकर्षित गर्न प्रत्यक्ष वैदेशिक लगानीका लागि एकद्वार प्रणालीबाट सेवा प्रदान गर्ने, प्रत्यक्ष वैदेशिक लगानीको सीमा विस्तार गर्ने र लगानी तथा लाभांश रकम फिर्ता प्रक्रिया सरल र सहज बनाउने कार्य गर्नुपर्छ । विभिन्न क्षेत्रका चुनौती सम्बोधन गर्दै उच्च आर्थिक वृद्धिको युगमा प्रवेश गर्न नेपाललाई सक्षम बनाएर सामाजिक–आर्थिक विकासका अवसरहरू उपलब्ध गराउनु अब सरकारको लक्ष्य हुनुपर्छ । त्यसका लागि वास्तविक लाभ प्राप्त गर्न प्रतिभा तथा डिजिटल शीप विकासमा सरकारले डिजिटल शिक्षामा लगानी गर्ने, जनशक्तिको डिजिटल शीप विकास गर्ने, प्रतिभावान् तथा नवप्रवर्तनात्मक उद्यमशीलता विकास तथा अनुसन्धानलाई बढावा र प्रोत्साहन गर्ने, उद्योग र शिक्षा क्षेत्रबीचको शीप खाडल पूर्तिका लागि फिनिसिङ स्कूलको स्थापना र सञ्चालन गर्नेजस्ता काम गर्न जरुरी छ । डिजिटल्ली मुलुकलाई धेरै अगाडि लैजान सरकारले बनाएका नीतिहरू कार्यान्वयन गर्न वार्षिक कार्यक्रम तथा बजेटमा समेत समावेश गर्न जरुरी छ । डिजिटल पहलहरूको कार्यान्वयनका लागि सम्बद्ध निकायबाट माग भई आएअनुसार बजेट विनियोजन गर्न प्राथमिकता दिनुका साथै आवश्यक स्रोत जुटाउन अर्थ मन्त्रालयसहित सम्बद्ध सरकारी निकायले पहल गर्नुपर्छ ।  डिजिटल इकोनोमीको कुरा गर्दा अहिले पनि मुलुकमा इन्टरनेट पहुँच कमजोर छ । राज्यले पहुँच बढाउन अत्यावश्यक पूर्वाधार स्थापना गर्ने, सार्वजनिक–निजी साझेदारीलाई प्रोत्साहित गर्ने, प्रत्यक्ष वैदेशिक लगानीलाई प्रोत्साहन गर्ने, सार्वजनिक सेवामा कार्यरत रहेका र निजीक्षेत्रका कर्मचारीलाई डिजिटल ज्ञान दिलाउने तथा यी उद्देश्य पूर्ति गर्न चाहिने अप्टिकल फाइबर सञ्जालजस्ता पूर्वाधार स्थापनालगायत कार्यक्रमलाई तीव्रता दिन जरुरी छ । साथै सबल वित्तीय प्रणालीको विकास गर्न, शिक्षा तथा स्वास्थ्य सेवा सरल रूपमा उपलब्ध गराउन सघाउने पहलका अतिरिक्त तीव्र गतिमा प्रविधिमा अन्वेषण, विकास तथा नवप्रवर्तनलाई सदुपयोग गर्न नीतिगत व्यवस्था गर्न सरकारले ढिला गर्नु हुँदैन ।  रोबोट निर्यात गर्ने युगमा नेपाल ‘नौलो’ नेपालको पहिलो डिजिटाइज्ड रोबोटिक्स रेस्टुराँ हो, जहाँ टच स्क्रिनले इम्बेड गरिएको टेबलबाट खाना अर्डर गर्न सकिन्छ । त्यहाँ नेपालमै निर्मित रोबोटहरूले सेवा दिन्छन् । नेपालीले रोबोट बनाएर अमेरिका निर्यात गरिसकेको अवस्था छ ।  यूरोपदेखि अफ्रिकासम्म रोबोट निर्यात गर्ने सामथ्र्य नेपालले राख्न सक्ने देखिन्छ । ‘सियो पनि नबन्ने देश’बाट पहिलोपटक विदेशमा रोबोट निर्यात सम्भव भयो । जसरी युक्रेनको गरीब परिवारमा जन्मिएको युवाले सृजना गरेको ह्वाट्सएपले विश्वभर तहल्का मच्चाइरहेको छ, त्यसैगरी नेपालबाट निर्यात गरिएको रोबोटले पनि अमेरिकी बजारमा तहल्का मच्चाउन सक्छ भनेर विश्वास गर्न सकिन्छ । यसका लागि पुल्चोक इन्जिनीयरिङ कलेजमा अध्ययन गरेका पाँच युवा र व्यवस्थापन पढेका दुई युवा मिलेर ३ वर्षअघि पाइला टेक्नोलोजी कम्पनी खोलेका थिए । यो कम्पनीले नेपालमै रोबोट बनाउँदै आएको छ । उक्त समूहमा विनय राउत, रविन गिरी, आयुस कसजु, निरज बस्नेत, सागर श्रेष्ठ, अनिष श्रेष्ठ, वसिम अक्रिम खान र दिपकमल भुसाल छन् । उनीहरूले बनाएको रोबोट ‘परी’ दरबारमार्गस्थित नेपाल एसबीआई बैंकले किन्यो । दरबारमार्गमा रहेको पहिलो स्मार्ट शाखामा रोबोट परीले कस्टमर सर्भिसको काम गर्छिन् ।  बैंकिङ क्षेत्रमा प्रयोग गर्ने रोबोट तयार भएपछि उक्त टिमले होटेल, रेस्टुराँमा प्रयोग गर्न मिल्ने जिन्जर फेरी रोबोट बनायो । पछि उनीहरूले नौलो नामक रेस्टुराँ खोले । नौलो रेस्टुराँ सञ्चालनमा आएको १ वर्षभन्दा बढी भइसकेको छ । सोही रेस्टुराँको सफलताबाट पाइला टेक्नोलाजीले बनाएको नेपाली रोबोट विदेशमा पुर्‍याउन सफल भएको सञ्चालकहरू बताउँछन् । पाइला टेक्नोलोजीका संस्थापक विनय राउतले अमेरिकामा रेस्टुराँ व्यवसाय सञ्चालन गर्दै आएका गैरआवासीय नेपालीले नेपालबाट उक्त रोबोट खरीद गरेको बताए । रोबोट अमेरिका पुगेको विषय नेपाल र पाइला टेक्नोलोजीको ठूलो उपलब्धि भएको र अगामी दिनमा यूरोप, अफ्रिकामा पनि निर्यात गर्ने उनको भनाइ छ ।  ‘नौलो रोबोट रेस्टुराँ सञ्चालनपछि हामीले ग्राहकको माया पायौं र देश विदेशबाट हौसला मिल्यो,’ पाइला टेक्नोलोजीका संस्थापक तथा रेस्टुराँ सञ्चालक विनय राउत भने ‘नेपालमा बनेको नयाँ प्रविधि विदेश निर्यात भएसँगै हामीलाई झन् हौसला मिलेको छ ।’ नौलो रेस्टुराँ सञ्चालनमा आएदेखि नै देश विदेशमा चर्चा चल्यो । रेस्टुराँमा रोबोट हेर्न ग्राहकको घुइँचो लाग्न थालेको छ । एउटै सोच र जाँगर भएका युवाको इच्छाशक्तिले नै यो सफलता प्राप्त गरेको राउतकोे भनाइ छ ।

सामाजिक सुरक्षा कोषको अन्योल

सरकारले ‘नयाँ युगको शुरुआत’ भन्दै निकै महत्त्वका साथ शुरू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम साढे तीन वर्ष बिते पनि अपेक्षित गतिमा अघि बढ्न सकेको छैन । औपचारिक र अनौपचारिक क्षेत्रमा कार्यरत कामदार कर्मचारीलाई पेन्सन सुविधा दिने भन्दै ल्याइएको सामाजिक सुरक्षा कोषमा निजीक्षेत्रमा कार्यरत ठूलो संख्यालाई आबद्ध गर्न सकिएको छैन । यसो हुनुमा कोषप्रतिको अविश्वास एउटा कारण रहेको देखिन्छ भने कोषको कार्यक्रम प्रभावकारी नहुनु अर्को कारण । कोरोना महामारीको बेला कामदारको तर्फबाट बेहोर्ने भनिएको योगदान पूर्ति गर्न सरकारका तर्फबाट ढिला हुँदा झनै अविश्वास सृजना भयो । कोषबारे व्यापक टिप्पणी र चर्चा भए पनि उसले आफूलाई सुधार गर्ने कार्यक्रम भने अझै ल्याउन सकेको छैन । कोषको व्यापक विरोध भएपछि कार्यविधि संशोधन गरी कामदार कर्मचारीका केही चासोलाई सम्बोधन गरिएको छ तर त्यो अझै अपर्याप्त छ । निजीक्षेत्रमा कार्यरत कामदार कर्मचारी र रोजगारदाता दुवैलाई मान्य हुने गरी यसको अवधारणा अघि ल्याइएको हो । तर, यस्तो अवधारणाअनुसार यसले काम गर्न सक्छ भन्ने विश्वास गर्ने आधार नभएको कोषमा आबद्ध हुन नचाहने कर्मचारीहरूको प्रतिक्रिया पाइन्छ । सामाजिक सुरक्षाकै लागि भनेर कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष खडा भएका छन् । नागरिक लगानी कोषले त पेन्सन योजना समेत ल्याएको छ । यस्तोमा सामाजिक सुरक्षा कोषले विशेष कार्यक्रम र योगदानकर्ताको लाभ हुने खालको कार्यक्रम ल्याउनुपर्ने हो । तर, योगदानकर्तामा आफ्नो योगदान नै सुरक्षित नरहने हो कि भन्ने आशंका कोषकै कार्यशैलीले गर्दा जन्मिएको छ । बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूले उच्च सामाजिक सुरक्षा पाइरहेको अवस्थामा उनीहरूलाई कोषमा आबद्ध हुन अनिवार्य गर्न कोषको नेतृत्वले निकै ठूलो बल गर्‍यो । ती संस्थामा रहेको ठूलो कोषमा नै यसले आँखा लगाएको आरोप यी संस्थामा कार्यरत कर्मचारीको थियो । कर्मचारीले खाइनखाई जम्मा गर्ने रकम नै उनीहरूलाई मासिक पेन्सनका रूपमा दिने योजना प्रचार गरिएजस्तो लाभदायी देखिएको छैन । कोषमा हाल १६ अर्बभन्दा बढी रकम जम्मा भएको छ । तर, यो कोषको परिचालन गरी उच्च मुनाफा गरेर त्यसको लाभ योगदानकर्तालाई दिन ठोस पहल अझै भएको छैन । यद्यपि विभिन्न क्षेत्रमा लगानी गर्न कानूनी बाटो भने खुला भएको छ । निजीक्षेत्रको चासो र चिन्तालाई सम्बोधन गर्ने भनेर कोषले यसबारे अध्ययन थालेको थियो, जसमा अहिले कुनै काम भइरहेको छैन । हुन त कोषको व्यापक विरोध भएपछि कार्यविधि संशोधन गरी कामदार कर्मचारीका केही चासोलाई सम्बोधन नगरिएको हैन तर त्यो पर्याप्त छैन । त्यही भएर बढी सुविधा पाइरहेकाहरू यसमा आउन अझै चाहिरहेका छैनन् र थोरै तलबमा काम गर्नेहरूलाई यसमा ल्याउन कोषले पर्याप्त पहल गरेको छैन । अनौपचारिक क्षेत्रका कामदारलाई समेट्न त कामै भएको छैन । त्यसैले दुई दुईओटा कोष हुँदाहुँदै यो तेस्रो कोष किन चाहिएको हो भन्दै यसको औचित्यमा प्रश्न उठाउने गरिएको छ । कोषले सुरक्षा योजनाहरू ल्याएर आफ्नो औचित्य सिद्ध गर्नुपर्छ ।   सामाजिक सुरक्षा कर भनेर प्रत्येक कामदारसँग १ प्रतिशतका दरले रकम उठाउने गरेको धेरै वर्ष भइसकेको छ । यो रकम पनि यही कोषमा आउनुपर्ने हो तर त्यो कहाँ छ भनेर सरकारले स्पष्ट नपार्दा पनि यसप्रति विश्वास हुन नसकेको हो । मुलुकले पेन्सनका लागि मात्रै ठूलो बजेट छुट्ट्याउन परेकाले योगदानमा आधारित पेन्सन कार्यक्रम प्रस्ताव गरेको पनि दशकौं भइसक्यो । यो कामका लागि सरकारी कर्मचारीका निम्ति कोष खडा भएको छैन । निजीक्षेत्रका लागि बनेको सामाजिक सुरक्षा कोष सफल हुन सकेको छैन । यस्तोमा सामाजिक सुरक्षाका लागि बढ्दो खर्च कसरी धान्ने भन्ने ठूलो समस्या निम्तिँदै गएको छ । त्यसैले अहिले देखिएका सबै समस्या समाधान गरी सरकारको समेत योगदान रहने गरी कोषलाई प्रभावकारी र व्यापक बनाइनुपर्छ । सबभन्दा पहिला कोषले नै सूचीकृत हुनेलाई लाभ हुन्छ भन्ने प्रमाणित गर्नुपर्छ अनि मात्र कोष स्थापना गर्नुको औचित्य पूरा हुन्छ ।

नेपाली अर्थतन्त्रको दुर्दशा

देशको राजनीतिक तह गैरजिम्मेवार बन्दा देश विकासको गति र अवस्था कमजोर बन्न पुगेको छ । सदियौंदेखि गरीबी, पछौटेपन, अर्द्ध बेरोजगारी, व्यापारघाटा र परनिर्भरता नेपालीका विशेषता र नियति बन्दै आएका छन् । मातृभूमिले दिएको श्रमको उपहार र अवसर मातृभूमिकै लागि उपयोग हुने वातावरण नबन्दा आफ्नो र परिवारजनको रोजीरोटी र न्यूनतम आधारभूत आवश्यकताको परिपूर्तिका लागि अत्यन्त न्यून पारिश्रमिकमा अद्यापि लाखौं युवा विदेशका जंगल, मरुभूमिमा निकै कठिन परिस्थितिमा रगत पसिना बगाउन बाध्य छन् । एकातिर जनताले सामाजिक–आर्थिक विकासका उपलब्धि प्राप्त गर्न सकेका छैनन् भने अर्कोतर्फ राज्यको वित्तीय स्रोतसाधनको परिचालन र प्रयोगमा अनुत्तरदायित्व, अनियमितता र विसंगति व्याप्त छ । फलस्वरूप, देश बेरोजगारी, गरीबी र श्रम पलायनको जालोमा फसेको हो । बेरोजगारी र अविकसित अर्थतन्त्रको यो कहालीलाग्दो स्थितिबाट हाम्रो समाजले कहिले मुक्ति पाउने ? हाम्रो विकासको अवधारणा, प्रक्रिया र प्रयोग त्रुटिपूर्ण रहेकाले यथास्थितिमा देश समृद्धशाली कहिले बन्ने ? अर्थतन्त्रको ऋण उपयोग तथा ऋणसेवा गर्न सक्ने क्षमता र सम्भावनाको कुनै ख्याल नराखी देशका अधिकारीहरूले अन्धाधुन्ध तरीकाले सार्वजनिक ऋण लिँदा अर्थतन्त्र ऋणग्रस्त हुने र त्यसको नकारात्मक असर सरकारी बजेट प्रणाली र समग्र अर्थव्यवस्थामा पर्ने हुन्छ । हाम्रो चर्चा सार्वजनिक ऋण व्यवस्थापनको एउटा उदाहरणबाट शुरू गरौं । अर्थतन्त्रको ऋण उपयोग तथा ऋणसेवा गर्न सक्ने क्षमता र सम्भावनाको कुनै ख्याल नराखी देशका अधिकारीहरूले अन्धाधुन्ध तरीकाले सार्वजनिक ऋण लिँदा अर्थतन्त्र ऋणग्रस्त हुने र त्यसको नकारात्मक असर सरकारी बजेट प्रणाली र समग्र अर्थव्यवस्थामा पर्ने हुन्छ । ऋण लिने अहिलेको सत्तासीन अधिकारी हुने र ऋण तिर्ने भविष्यको सत्तासीन हुने भएकाले अहिलेको सत्तासीनमा आफूलाई खर्च गर्न सुविधाजनक हुने गरी लापर्बाही किसिमले ऋण लिने प्रवृत्ति हुने भएकाले ऋण व्यवस्थापनसम्बन्धी मापदण्डको खिल्ली उडाइने गरेको छ । हाम्रो समाजको स्थिति हेर्ने हो भने बाबु गैरजिम्मेवार बन्दा ऋणको उपयोग कम भई सन्ततिले धेरै ऋणभार मात्र बोक्नु परेको र त्यस्ता सन्ततिले ऋण तिर्दा जायजेथा गुमाई सुकुमबासी नै बन्नु परेको उदाहरण प्रशस्त छन् । आफ्नो बाबुको यस्तो हरकतको परिणाम सन्ततिले बेहोर्नु परेको हुन्छ भने विकासोन्मुख मुलुकमा सार्वजनिक क्षेत्रमा उत्तरदायित्व विहीनताको स्थिति व्याप्त रहने हुँदा कानूनको परिपालनमा पनि अपर्याप्त हुने भएकाले सार्वजनिक ऋण र खर्च व्यवस्थापनमा अनगिन्ती समस्या र बेथिति रहेका हुन्छन् । यस्तो स्थितिको गम्भीर परिणाम भविष्यमा अर्थतन्त्र एवम् जनताले बेहोर्नुपर्ने हुन्छ । यस्तै आर्थिक अनुशासनहीनताको कारण विगतमा धेरै राष्ट्रहरू ऋण, वित्तीय र आर्थिक संकटमा परेको तथा ती राष्ट्रले यसको नकारात्मक असर र प्रभाव धेरै वर्षसम्म बेहोर्नु परेको हाम्रो मानसपटलमा ताजै छ । विकासका कमजोर परिसूचक विगत ७ दशकको अवधिमा विकासका लागि सामाजिक–आर्थिक क्षेत्रमा राष्ट्रिय साधन, वैदेशिक सहयोग र सार्वजनिक ऋण परिचालन गरी व्ययभार बढाइयो तर अधिकांश जनताको जीवनस्तरमा सुधार देखिएन, देश अतिकम विकसित राष्ट्रको सूचीबाट माथि जान सकेन । यस्तै, सार्वजनिक ऋण दायित्व २०७४ असारमसान्तमा रू. ६९८ अर्ब रही कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा २२ दशमलव ७ प्रतिशत रहेकोमा २०७८ असारमा रू. १ हजार ७२९ अर्ब पुगी यो अनुपात ४० दशमलव ५ प्रतिशत पुग्यो । त्यस्तै, प्रतिव्यक्ति सार्वजनिक ऋण दायित्व २०७४ असारमसान्तको रू. २४ हजारको तुलनामा २०७८ असारमसान्तमा रू. ५७ हजार पुग्नुले अर्थतन्त्रलाई क्रमशः ऋण धरापमा पुर्‍याउने प्रपञ्चले काम भइरहेको स्पष्ट हुन्छ । यसैबीच हामी समानको सामाजिक आर्थिक स्तरमा रहेका कतिपय राष्ट्रहरू विकासको गतिमा छलाङ मार्दा नेपाली जनताको विकासको सपना पीढी दर पीढीसम्म पनि अपूरै र⋲यो । राष्ट्र संसारकै एक निर्धनतम अर्थतन्त्रका रूपमा दर्ज भइर⋲यो । हाल विश्व बैंकको तथ्यांकअनुसार सन् २०२० मा सबैभन्दा कम प्रतिव्यक्ति आय भएका चार एशियाली मुलुक (अफगानिस्तान, यमेन, ताजिकिस्तान र नेपाल) मा नेपाल (अमेरिकी डलर १,१५५) समावेश हुन पुगेको छ । विश्व बैंकको तथ्यांकअनुसार सन् २०२० मा जीडीपीको अनुपातमा वस्तु र सेवाको निर्यात सबैभन्दा कम रहेका ६ मुलुकमा नेपाल (६ दशमलव ८ प्रतिशत) लगायत सुडान, बुरुन्डी, कोमोरोज, यमेन र गुआम् रहेका छन् । व्यापारघाटाको यस्तो अनुपात २७ दशमलव १ प्रतिशत रही यमन र लिबियापछि एशियाकै तेस्रो ठूलो व्यापारघाटाको अनुपात नेपालको रहेको छ । नेपालको १५औं योजनाको पृष्ठ १२३ मा उल्लेख भएअनुसार जीडीपीमा २७ प्रतिशत योगदान रहेको र ६० दशमलव ४ प्रतिशत जनसंख्या आबद्ध भएको कृषिक्षेत्र न्यून उत्पादकत्व र कमजोर प्रतिस्पर्धी क्षमताले ग्रस्त छ । केही दशक अघिसम्म धान चामल निर्यात कम्पनीहरू खोलेर धान निर्यात गर्ने विश्वको एक प्रमुख राष्ट्रको रूपमा चिरपरिचित नेपाल अहिले भने आफ्नो उर्वर जमीन बाँझो राखी विदेशबाट खाद्यान्न, तरकारी, फलपूmल ल्याई खानुपर्ने स्थितिमा पुगेको छ । आर्थिक वर्षको ५ महीनामा विदेशबाट रू. २० दशमलव ५ अर्बको चामल, रू. ८ दशमलव ९ अर्बको तरकारी, रू. ४ दशमलव ५ अर्बको फलपूmल, रू. २ दशमलव १ अर्बको स्याउ र रू. ३७ दशमलव २ करोडको लसुन आयात गरेका छौं, जसबाट खाद्य सामग्रीमा हाम्रो परनिर्भरता कति घनीभूत छ र संविधानको धारा ३६ मा लेखिएको खाद्य सम्प्रभुताको हकको विषय कति हचुवा रहेछ बुझ्न सकिन्छ । पन्ध्रौं योजनाको पृष्ट १५२ मा उल्लेख भएअनुसार आव २०७५/७६ मा जीडीपीसँगको अनुपातमा समग्र उद्योग क्षेत्र १४ दशमलव ६ प्रतिशत रहेकोछ भने उत्पादनमूलक उद्योग ५ दशमलव ६ प्रतिशतमा सीमित रहेको छ । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनअनुसार छानिएका १३१ उद्योगहरूमा आव २०७०/७१ देखि आव २०७६/७७ सम्ममा औसत क्षमता उपयोग ५४ दशमलव ७ प्रतिशत मात्र रहनुले विविध कारणले औद्योगिक क्षमताको धेरै कम उपयोग हुने गरेको छ । पन्ध्रौं योजनाले राष्ट्रिय रोजगारीमा समग्र उद्योग क्षेत्रको योगदान ८ दशमलव १ प्रतिशत मात्र रहेको अनुमान गरेको छ । यसरी अर्थतन्त्रमा आतातीत वस्तुहरूको बाहुल्य रहँदा कृषि र उद्योग क्षेत्र निकै कमजोर बन्न पुगेका छन् । फलस्वरूप, बेरोजगारी दर बढ्न गई ११ दशमलव ४ प्रतिशत पुगेको तथा रोजगारीको लागि दैनिक करीब १ हजार युवा विदेशिने गरेको १५औं योजना (पृष्ठ ३२८) मा उल्लेख छ । साथै, अर्थमन्त्रीले मिति २०७८/४/२६ मा प्रतिनिधिसभामा देशको आर्थिक अवस्थाको जानकारी दिँदा उल्लेख गर्नु भएअनुसार आव २०७७/७८ मा जीडीपीसँगको अनुपातमा अझ संकुचन आई समग्र उद्योग क्षेत्रको योगदान १३ दशमलव १ प्रतिशत रहेको छ भने उत्पादनमूलक उद्योग ५ दशमलव १ प्रतिशतमा समेटिएको छ । त्यस्तै, कृषि क्षेत्रको योगदान आव २०७३/७४ को २६ दशमलव ८ प्रतिशतबाट आव २०७७/७८ मा २५ दशमलव ८ प्रतिशतमा सीमित हुनुले पनि अर्थतन्त्रमा उद्योग र कृषिक्षेत्रमा उत्पादन र रोजगारीका अवसरहरूको तुलनात्मक स्थिति अझै घट्दै गएको स्पष्ट हुन्छ ।  उपलब्ध स्रोतसाधन, सम्पदा र विशेषताको अधिकतम परिचालन, उपयोग र समन्यायिक वितरणमार्फत राष्ट्रको शीघ्र र दिगो रूपान्तरण गर्नु तथा परनिर्भरताबाट जोगिएर गरीबी निवारण गर्नु, रोजगारीमूलक अर्थनीति अवलम्बन गर्नु, सबै नेपालीलाई कर्मशील बनाउनु र नेपालको मौलिकताको जगमा आफ्नो खुट्टामा उभिने पहल गर्नु नै आजको समयको माग हो । हाम्रा सबै साधनस्रोत, क्षमता, उद्यमशीलता एवं सम्भावनासमेतको उपयोगी, दिगो र अन्तरपुस्तागत समन्यायिकताको सुनिश्चितता हुने गरी पूर्ण परिचालन र उपयोग गर्दै राष्ट्रिय अर्थतन्त्रलाई प्रतिस्पर्धात्मक रूपले उत्पादनशील, सबल र समृद्ध बनाउनु परेको छ । यस क्रममा राजनीतिक नेतृत्वको विवेकशील, कुशल र जिम्मेवारीपूर्ण भूमिका अपरिहार्य रहन्छ । परनिर्भरतामुखी र परमुखापेक्षी चिन्तन र दृष्टिकोणबाट पर गई हाम्रा प्राविधिक, आर्थिक, सामाजिक र वातावरणीय पक्षबाट सम्भाव्य क्षेत्र र कार्यहरू पहिल्याई र परिमार्जन गर्दै जनता र अर्थतन्त्रको दीर्घकालीन हित, समृद्धि र कल्याणका लागि अघि बढ्नुको विकल्प छैन । लेखक नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।

बढ्यो पूर्वाधार प्रतिस्पर्धा

डेढ दशकयता वैदेशिक व्यापार सहजीकरणका पूर्वाधारमा थुप्रै काम भए । वीरगञ्जमा रेलवे सेवासहितको सुक्खा बन्दरगाहदेखि त्यही पूर्वाधारसम्म भारतीय निजी रेल कम्पनीबाट सेवा विस्तारसम्म आइपुग्दा थुप्रै पूर्वाधार र प्रक्रियागत सुधारका काम भएका छन् । कोलकाता र हल्दिया बन्दरगाहको विकल्पमा भारतकै विशाखापत्तनम् बन्दरगाहको उपयोग, समुद्रपार व्यापारमा कोलकाता बन्दरगाह भन्सारको कागजी प्रक्रिया हटाउन इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम (ईसीटीएस), अनलाइनमा आधारित कस्टम टान्जिट डिक्लियरेन्स, कोलकातामा वर्षौंदेखि भाडामा लिएर उपयोगविहीन जग्गामा कन्टेनर फ्रेट स्टेशन सञ्चालन भएका छन् । यसै समयमा वीरगञ्ज नाकामा एकीकृत जाँच चौकी सञ्चालनमा आइसकेको छ । ढुवानी सहजीकरणसँग प्रत्यक्ष परोक्ष सरोकारका यी सबै पूर्वाधार र प्रक्रियगत सुधारको एकल उद्देश्य व्यापार सहजीकरण नै हो । स्वेदशमा मात्रै होइन, विदेशस्थित हाम्रा कूटनीतिक नियोगहरूले पनि प्रयास जारी राखेका छन् । तर, ढुवानी लागत बढेको बढ्यै छ किन ? व्यवसायीले अनपेक्षित खर्चको भार उपभोक्तामाथि थोपर्न पाउँदासम्म प्रतिस्पर्धी क्षमता प्राथमिकतामा नपर्न सक्छ । प्रतिस्पर्धी पूर्वाधार र सेवाप्रदायकको छनोटमा प्रकट भइराखेको औसत उदासीनताको व्यय व्यवसायको नाफामाथि पर्ने नीतिगत प्रबन्धले निजीक्षेत्रलाई सचेत बनाउन सक्छ । वीरगञ्जमा सुक्खा बन्दरगाह आउँदा व्यापारको खर्च ३५ प्रतिशतसम्म जोगिन्छ भनिएको थियो, व्यापारले त्यसको अनुभूति पाएन । कोलकाता बन्दरगाहका बेथिति र त्यहाँका एजेन्टको चलखेललाई कारण देखाइयो । भारतकै विशाखापत्तनम् बन्दरगाह उपयोगको बाटो खोलियो । कोलकाताबाट कन्साइन्मेन्ट नयाँ विकल्पतिर गए । खर्चमा भने सुधारको संकेत देखिएन । फेरि कोलकातामै कमजोरी देखाइयो, त्यहाँका कागजी प्रक्रिया र आयातकर्ताको चलखेल हटाउन भन्दै सरकारले ईसीटीएस लगायो । ३ महीनामा पुनरवलोक गर्ने भनिएको यो पाइलट प्रोजेक्टले आज ३ वर्ष बिताइसकेको छ । सरकारले अहिलेसम्म यसको उपलब्धिबारे समीक्षा गरेको जानकारी छैन । कोरोना महामारी त काम नगर्नेका लागि बनिबनाउ बहानाबाजी बनेको छ । यो प्रणालीबाट ढुवानी खर्च आधारमा झर्ने सरकारको दाबी थियो । त्यसयता ५० प्रतिशतसम्म खर्च बढेका तथ्य आइराखेका छन् । स्वदेशमै व्यापार सहजीकरण गरिराखेका सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकीका अपर्याप्त पूर्वाधारदेखि चर्को शुल्क व्यापारमा सकस बनेका छन् । भारतीय बन्दरगाहको एकाधिकार तोडेरमात्र पुगेन, अहिले रेलवे ढुवानीमा सेवाप्रदायकको पनि एकाधिकार समाप्त पारियो । दशकको प्रयासपछि ३ महीनाअघि नेपाल भारत रेल सम्झौता संशोधन भयो । यसले अहिलेसम्म ढुवानीमा एकाधिकार ओगटेको भारतीय कन्टेनर निगम (कोन्कर) लाई भारतीय निजी सेवाप्रदायकसँगै नेपाल रेलवे कम्पनीसित प्रतिस्पर्धाको आधार तयार गर्‍यो । अघिल्लो हप्ता भारतीय निजी रेलले ढुवानी थालेपछि कोन्करले साविक भाडामा एक तिहाईभन्दा बढी कटौती ग¥यो । यसले प्रतिस्पर्धामा अगाडि आएका वा तयारीमा रहेका कम्पनीलाई प्रतिस्पर्धी दरमा ढुवानी गर्नैपर्ने अवस्थामा पुर्‍यायो । कोन्करको नयाँ भाडा दरमा अझै पनि कम्तीमा प्रतिकन्टेनर ५/६ हजार भारतीय रुपयाँ फाइदा रहेको बुझिएको छ । यसले एकाधिकारको अवस्थामा कोन्करले नेपालका लागि कन्टेनर ढुवानीका कतिसम्म लुट मच्चाएको रहेछ भन्ने पनि स्पष्ट भएको छ । भारत सरकारको अनुदानमा चलेको कोन्करले ६ महीनाका लागि भाडा घटाएको हो । आफ्नै देशमा ठूलो व्यापार क्षेत्र ओगटेर बसेकाले नेपालतर्फको ढुवानीमा अन्य नयाँ कम्पनीलाई आउन नदिनकै लागि भाडा व्यापक कटौती गरेको विश्लेषण सरोकारका क्षेत्रमा हुन थालेको छ । यदि, यसो हो भने नेपालले त्यसको रणनीतिक प्रतिकार गर्नुपर्छ । अहिले भारतमा १५ ओटा निजी कम्पनीले रेलमार्फत ढुवानी सेवा दिइरहेका छन् । तीमध्ये अन्यलाई पनि आकर्षित गर्ने नीति बनाउनुपर्छ । नेपाल वा भारतकै कम्पनीसित साझेदारीमा रेलसेवा चलाउने हो भने कोन्करको मनपरीको पुनरावृत्ति सम्भव हुँदैन । भारतले थप बन्दरगाह प्रयोग गर्न सैद्धान्तिक सहमति दिइसकेको छ । भारतको धाम्रा र मुद्रा बन्दरगाह प्रयोगको बाटो खोल्न सकिन्छ । यसमा भारतका सबै बन्दरगाह उपयोग गर्न सकिने गरी सम्झौता गरिनुपर्छ । अहिले वीरगञ्ज बन्दरगाहमा मात्र सीमित रेलसेवालाई विराटनगर, भैरहवा, नेपालगञ्जजस्ता नाकाहरूमा विस्तार गर्दा अन्य भारतीय कम्पनी पनि आकर्षित हुन सक्छन् । यसबाट प्रतिस्पर्धा अझ फराकिलो हुनेछ । भाडा कटौतीको सहुलियत पनि आयातकर्ताले कहिलेदेखि, कसरी र कतिसम्म पाउने हो, अहिलेसम्म स्पष्ट छैन । कारण, अहिले समुद्रपार व्यापारको ढुवानीमा अधिक चल्तीमा रहेको सीआईएफ वीरगञ्ज मोडालिटीमा आयातकर्ताले रेलवे सेवाप्रदायकसँग नभएर सिपर वा सिपिङ कम्पनीसँग ‘निगोसिएशन’ गर्छन् । अहिलेको रेल सेवा सम्झौता संशोधन होओस् वा त्यसअघिको ईसीटीएस र बन्दरगाहको विकल्पले छनोटको अवसर त दिए, अहिले त्यसको नियन्त्रण सिपिङ कम्पनी र सिपरको हातमा गयो । यस्तो ढुवानीमा सीमित कम्पनीको सहभागिता खर्च न्यूनीकरणको मूल अवरोध हो । नेपालको वैदेशिक व्यापारले पूर्वाधार र प्रक्रियागत सुधारबाट लाभ लिन सकिराखेको छैन । सिपिङ लाइनहरूको मनोमानीका आगाडि प्रतिस्पर्धा बढाउने सरकारी प्रयास फिका सावित भइआएको छ । यतिसम्म कि, विगतमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिपिङ कम्पनीलाई नेपालमा दर्ता प्रक्रिया थाल्ने सम्बन्धमा बोलाइएको छलफलमा यस्ता कम्पनीले आधिकारिक व्यक्ति नै पठाएनन् । कमिशन एजेन्ट सहभागी छलफलले ताŒिवक निष्कर्ष निकाल्ने कुरा पनि आएन । क्यानेडियन शोधकर्ता जीन पल रोड्रिजले विश्वव्यापी ढुवानी अर्थतन्त्रबारे सन् २०१७ मा प्रकाशित गरेको ‘द जोग्राफी अफ ट्रान्सपोर्ट सिस्टम’को चौथो संस्करणले भूपरिवेष्टित देशले तटीय देशको तुलनामा ५० प्रतिशतसम्म बढी ढुवानी खर्च बेहोरेको तथ्य सार्वजनिक गरेको थियो । यस्ता देशले कन्टनेर कार्गो ढुवानीमा त औसतभन्दा ८५ प्रतिशतसम्म बढी खर्च गरेको देखाएको थियो । समुद्रसँग सीधा पहुँच स्थापित देशको तुलनामा भूपरिवेष्टित देशले गर्ने व्यापारमा दोब्बर समय लाग्ने पनि अनुसन्धानले बताएका छन् । विश्व बैंकले भूपरिवेष्टित ३१ देशमा गरेको अध्ययनले तीमध्ये १६ देश अतिकम विकसित हुनुलाई समुद्रसँग प्रत्यक्ष पहुँच नहुनुलाई मूल कारण मानेको थियो । हाम्रो ९० प्रतिशत वैदेशिक व्यापारको ढुवानी स्थलमार्गकै भरमा छ । ढुवानीमा सबैभन्दा सस्तो माध्यम समुद्री मार्ग हो । अध्ययनअनुसार पानी जहाजमार्फत हुने ढुवानीभन्दा रेलमार्ग ३ गुणा र सडकमार्ग २७ गुणा बढी खर्चिलो हुने देखिएको छ । रेलमार्ग र समुद्री यातायातमा भारतमाथिको निर्भरता हाम्रो भूअवस्थितिको विशेषता हो । उत्तरी नाकातर्फको सम्भाव्यता दोहनको उद्देश्य नराखिएको त होइन, भएकै पूर्वाधारको उपयोगमा व्यवधानको कमी छैन । सरकारी पहल प्रयासको धीमा गतिले उत्साहित हुने आधारसमेत देखाएको छैन । कोरोना महामारीले वैश्विक व्यापारको चक्रमा पारेको अप्ठ्यारोबाट नेपालको व्यापार अपवाद बन्न सम्भव छैन । भौगोलिक अवस्थितिलाई फेर्न सकिँदैन, उपलब्ध पूर्वाधार र प्रक्रियागत सुधारलाई कसरी व्यापार प्रवर्द्धनमा उपयोग गर्ने भन्ने त्यो सरकार र निजीक्षेत्रको दक्षताको विषय पनि हो । समयक्रममा देखिएका सुधारलाई व्यावसायिक लाभमा रूपान्तरण गर्न नसक्नुचाहिँ वैदेशिक व्यापारमात्र होइन, प्रतिस्पर्धी अर्थतन्त्रकै अवरोध हो । वैदेशिक व्यापारसँग सरोकार राख्ने द्विपक्षीय वा बहुपक्षीय सन्धि, सम्झौता, नीति तथा कानूनी व्यवस्थापनमा सरकारी भूमिका अपेक्षित हुन्छ । उपलब्ध पूर्वाधारलाई कसरी व्यापारमैत्री र लाभमुखी बनाउने भन्नेमा निजीक्षेत्रको दक्षता देखिनुपर्छ । हामीकहाँ यी दुवै सरोकारमा हुन सक्नेजति पहल र प्रयत्न देखिँदैन । नेपालको उद्यम प्रतिस्पर्धी हुन नसुक्नुको मुख्य कडी यही हो । अहिले पारवहनमा भइरहेको अधिक खर्च अन्ततः उपभोक्ताको भागमा पर्ने हो । व्यवसायीले अनपेक्षित खर्चको भार उपभोक्तामाथि थोपर्न पाउँदासम्म प्रतिस्पर्धी क्षमता प्राथमिकतामा नपर्न सक्छ । प्रतिस्पर्धी पूर्वाधार र सेवाप्रदायकको छनोटमा प्रकट भइराखेको औसत उदासीनताको व्यय व्यवसायको नाफामाथि पर्ने नीतिगत प्रबन्धले निजीक्षेत्रलाई सचेत बनाउन सक्छ । आर्थिक उदारीकरण र खुला बजारको बहसमा अगाडि देखिने निजीक्षेत्र लाभका सन्दर्भमा राज्यबाट संरक्षण खोज्ने निजीक्षेत्रको मनोविज्ञानको जगमा प्रतिस्पर्धी अर्थतन्त्रको निर्माण सम्भव हुँदैन । सँगै प्रतिबद्धतामा लगानीमैत्री कुरा गर्ने, तर नीति र नियमले निरूत्साहनलाई बढावा दिने अनुदार सरकारी प्रवृत्ति पनि अर्थतन्त्रको अपेक्षाकृत उन्नतिका अवरोध बनिराखेको छ । पारवहनका सरोकारमा स्वदेशी निजीक्षेत्रलाई प्रवद्र्धनका निम्ति अहिलेका लागि सरकारले अगुवाइ लिनु वाञ्छनीय हुन्छ । प्रतिस्पर्धात्मक ढुवानीमा निजीक्षेत्रको सार्थक सक्रियता पारवहनको लागत न्यूनीकरणको उपाय बन्नेमा द्विविधा छैन ।

साझा विश्व पहल अपेक्षित (सम्पादकीय)

कोरोना रोग (कोभिड–१९) पछिको ग्लोबल (विश्व) परिदृश्य, विश्व व्यवस्था र संस्कृतिका बारेमा विभिन्न कोणबाट बहस र सम्भावना व्यक्त गर्न थालिएको छ । धेरैको बुझाइ यसपछि विश्व हातेमालो अझ कसिलो पारिनु पर्छ, संयुक्त पहल अझ आवश्यक हुनेछ, अहिलेसम्मका अपर्याप्त विश्व पहललाई नयाँ र प्रभावकारी रूपमा अझ सघन र ठोस बनाइनुपर्छ भन्ने छ । गजबको वैपरीत्य दृश्य देखिएको छ– एकातिर कोरोनाले सामाजिक दूरी कायम गर्नुपर्ने पाठ सि

कोभिडविरुद्ध लडाईंमा दलहरुको अपर्याप्त पहल

कोरोना भाइरसको महामारीसँग लड्न सरकारले लगातार लकडाउन थपिरहेको छ । तर, तेस्रोपटक थपिएको लकडाउनले दैनिक