चितवन (अस) । चितवनको पर्यटक नगरी रत्ननगरमा १५ करोड रुपैयाँ लगानीमा वाटर किङडम निर्माण प्रक्रिया सुरु गरिएको छ । सो क्षेत्रमा पर्यटकीय गतिविधि बढाउन र पर्यटकलाई आकर्षित गर्न पानीसँग सम्बन्धित गतिविधिका पूर्वाधार बनाउन लागिएको हो । वाटर किङडममा बालबालिकाका लागि चिप्लेटीदेखि पर्यटकका निम्ति बन्द हलभित्र कृत्रिम हिउँ पार्नेसम्मको पूर्वाधार निर्माण हुनेछ । ९ महिनामा निर्माण सम्पन्न गर्ने गरी वडा नम्बर ८ को बाघमारामा किङडम निर्माण सुरु गरिएको हो । किङडमको डीपीआर तयार गरी ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ ।
रत्ननगर नगरपालिकाको १० करोड ५० लाख र केन्द्र सरकारको ४ करोड ५० लाख रुपैयाँ लगानीमा वाटर किङडम निर्माण हुने नगरपालिकाका इञ्जिनियर पंकज गिरीले बताए । गिरीका अनुसार सौराहाको पर्यटन विकासका लागि निकटमा रहेको बाघमारास्थित चार बिघा क्षेत्रफलमा वाटर किङडम निर्माण हुनेछ । वाटर किङडममा तीन वटा कृत्रिम पोखरी, स्विमिङ पुल, ६० देखि ६५ मिटरको ६ वटा चिप्लेटी, पानी डान्स (हलभित्र कृत्रिम हिउँ पार्ने), गर्मी छल्न हलभित्र कृत्रिम हिउँ, रोटे पिङलगायत पूर्वाधार निर्माण हुने उनले बताए ।
सौराहा आउने पर्यटकलाई नयाँ अनुभूति दिन वाटर किङडम निर्माण सुरु गरिएको मेयर नारायण वनले जानकारी दिए । ‘सौराहाले नयाँ स्वाद खोजिरहेको छ’, उनले भने, ‘हामी रमणीय ठाउँ बनाएर पर्यटकलाई आनन्द दिनेछौं र यसले पर्यटकको बसाइ अवधि लम्ब्याउन मद्दत गर्नेछ ।’ नगरपालिकाले वाटर किङडम निर्माण गरी सञ्चालनका लागि निजी संस्था, व्यक्ति वा कम्पनीलाई जिम्मा दिने योजना बनाएको छ । सुरुमा नगरपालिका र केन्द्र सरकारको लगानीमा निर्माण गर्ने र लगानीका लागि शेयर खुला गर्ने योजना रहेको मेयर वनले बताए ।
निजी संस्था, व्यक्ति वा कम्पनीलाई सञ्चालनका लागि जिम्मा दिने र तिनलेले नगरभित्रका आमा समूह, सहकारी, क्लब, टोल विकास संस्थालाई न्यूनतमा शेयर रकम तोकेर शेयर खुला गर्नुपर्नेछ । वाटर किङडम चितवनकै पर्यटन विकासको अनुपम नमुना हुने मेयर वनको भनाइ छ । ‘सञ्चालनको चरणमा समुदायको लगानी हुने भएकाले सबैले अपनत्व ग्रहण गर्ने हुँदा रत्ननगरको वाटर किङडम नेपालकै नमुना पर्यटकीय केन्द्रको रूपमा विकास हुनेछ’, वनले भने ।
वाटर किङडमलाई सौराहाको प्याकेज कार्यक्रममा समावेश गरी यहाँ आउने अधिकांशस पर्यटकलाई अवलोकन गराउने योजना रहेको छ । हात्ती चढेर निकुञ्ज घुम्ने पर्यटकलाई अर्को अवलोकन स्थलका रूपमा वाटर किङडम निर्माण गर्न लागिएको मेयर वनको भनाइ छ । हाल सौराहाको पर्यटन विकासका लागि सिसुवारमा गैंडा आकृतिको सभाहल, वडा नम्बर ९ मा होम स्टेसहितको रमणीय पार्क निर्माण भइरहेको छ । सौराहालाई पार्कमा जोडेर पर्यटनको विकाससँगै स्थानीय समुदायको जीविकोपार्जनलाई सहज बनाउने योजना रहेको मेयर वनले जानकारी दिए ।