काठमाडौं । कोकाकोलाले आफ्नो ‘सक्षम तालीम’ कार्यक्रम सम्पन्न गरेको छ । खुद्रा व्यवसाय तथा साना रेस्टुराँ सञ्चालन गर्ने महिलाको शीप विकासमा मद्दत पुर्याउने उद्देश्यले सञ्चालित तालीम कार्यक्रम सम्पन्न भएको हो ।
तालीममा १ हजारभन्दा बढी महिलाको सहभागिता रहेको कम्पनीले जानकारी दिएको छ । गत मार्च ८ मा अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा कोकाकोलाले आफ्नो बोटलिङ पार्टनर बोटलर्स नेपालसँगको समन्वयमा उक्त कार्यक्रम शुरू गरेको थियो ।
कार्यक्रममा सहभागी महिलालाई वित्तीय साक्षरता, हस्पिटालिटी, स्यानिटेसन म्यानेजमेन्ट र डिजिटल वालेट प्रयोगसम्बन्धी जानकारी गराइएको कम्पनीको भनाइ छ ।
प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका मुख्यमुख्य शहरमा एक–एक दिनको कार्यक्रम गरी तालीम दिइएको थियो । तालीममा सहभागी सौरहाकी गीता श्रेष्ठले महिला युवा व्यवसायीका लागि तालीम कार्यक्रम अत्यन्त लाभदायी रहेको बताइन् । त्यस्तै नारायणगढकी माया पाण्डेले कार्यक्रमले आफूहरूलाई आर्थिक रूपमा सशक्त बन्न मद्दत पुगेको सुनाइन् ।
कोकाकोला नेपालका निर्देशक आदर्श अवस्थीले कम्पनीको मूल मान्यता नै महिला सशक्तीकरण रहेको बताए । बोटलर्स नेपालका पब्लिक अफेयर, कम्युनिकेसन एण्ड सस्टेनिबिलिटी डिरेक्टर स्नेह राजभण्डारीले नेपालमा महिला उद्यमशीलता एक कदम अगाडि बढेको बताए । काठमाडौं उपत्यकाबाहिर खुद्रा पसल र साना रेस्टुराँ सञ्चालनका लागि तालीमले महिलालाई सहयोग पुगेको उनको भनाइ छ ।