पुस १९, मोरङ । फोटोसहितको मतदाता नामावली संकलन गर्ने क्रममा मोरङमा ३० हजार मतदाता थपिएका छन् ।
गत मंसिर १७ गतेदेखि पुस १८ गतेसम्म प्रत्येक पालिकामा प्रदेश निर्वाचन कार्यालयले मतदाता नामावली संकलन गर्ने अभियान चलाएको थियो ।
अभियानअन्तर्गत मतदाता नामावली संकलनमा छुटेका मतदातालाई सहभागी गराउन मोरङको चार स्थानमा भोलिदेखि पुस २९ गतेसम्म सो अभियान सञ्चालन रहने प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा जानकारी गराइएको हो ।
नामावली संकलनका लागि थपिएको समयमा इलाका प्रशासन कार्यालय रंगेली, इलाका प्रशासन कार्यालय उर्लाबारी, जिल्ला प्रशासन कार्यालय मोरङ र निर्वाचन प्रदेश कार्यालय विराटनगर मतदाता नामावली संकलनको काम हुने प्रदेश निर्वाचन कार्यालय प्रमुख लेवन काश्यप अधिकारीले जानकारी दिए ।
उनले जिप्रका र यस कार्यालयमा नियमित फोटोसहितको मतदाता नामावली संकलन गर्ने काम भइरहेको र छूट भएका मतदातालाई सहभागी गराउन थप जनशक्तिसहितको इकाइ चार ओटै स्थानमा नामावली संकलनका भइरहेकाले प्रत्येक राजनीतिक दलबाट सहयोग एवम् सहजीकरण गर्न आग्रह पनि गरे ।
एक महानगरपालिका सहित १७ ओटा पालिका र ६ ओटा निर्वाचन क्षेत्र रहेको मोरङमा यसअघि ६ लाख ६९ हजार मतदाता थिए । रासस