प्रथम लिखित ग्रन्थका रूपमा ऋग्वेदको नाम लिइने गरिन्छ । नवौं शताब्दीमा चीनमा छापाखानाको पहिलो आविष्कार भएको मानिन्छ । काठको फल्याकमा अक्षरहरू कपेर त्यसलाई इष्टप्रति मानी अन्य प्रतिहरू छाप्ने विधिमा आधारित यो पद्धति नेपालमा पनि नागपञ्चमीमा टाँस्ने नाग छाप्न आम प्रचलनमा रहेको थियो । हिस्ट्रीडटकमका अनुसार आधुनिक मुद्रण यन्त्रको आविष्कार भने सन् १४३४ मा जर्मन स्वर्णकार जेहानस गुटेनवर्गले गरेका हुन् । तत्पश्चात् यूरोपमा शुरू भएको पुनरोदयको युगमा ज्ञानलाई आम जनताको पहुँचसम्म पुर्याउने नीतिअनुरूप यूरोपमा पुस्तक लेखन र प्रकाशनको लहर नै चल्न थाल्यो । यस लहरले यूरोप ज्ञान, आविष्कार र सृजनाको केन्द्र बन्न पुग्यो । यूरोपको ज्ञानमाथिको विश्वव्यापी प्रभुत्वका कारण लेखन र पुस्तक प्रकाशनमा मेशिनको बढ्दो प्रयोग नै हो ।
नेपालको निकटवर्ती चीनमा मुद्रणको कार्य शुरू भएकै प्रविधिलाई अनुसरण गरी नेपालमा पनि कागजको फल्याकमा प्रतिबिम्बी अक्षरहरू इम्बोस्ड रूपमा खोपी मसी लगाउँदै नागहरू छाप्ने कार्य परापूर्वकालदेखि चलिआए तापनि आधुनिक मुद्रण उद्योगको इतिहास भने जंगबहादुर राणाको बेलायत भ्रमणसँगै विसं १९०८ मा नेपाल भित्रिएको गरुडको चिन्ह अंकित प्रेसलाई नै मानिन्छ जसलाई आम भाषामा गिद्दे प्रेस भनेर चिनिन्छ ।
तत्पश्चात् सरकारी र निजीक्षेत्रका मुद्रण उद्योगहरू नेपालमा स्थापना हुने क्रम जारी रहेको छ र यो उद्योग नेपालमा एक चलायमान उद्योगका रूपमा विकसित हुँदै गएको देखिन्छ । मुद्रण उद्योगको उन्ननयसँगै पुस्तकहरू छाप्न सीमित रहेको यस उद्योग छपाइका अन्य मोडहरूको प्रवेशसँगै नेपालको अर्थतन्त्रमा यस उद्योगको समेत महत्वपूर्ण योगदान रहेको पाइन्छ ।
नेपालमा आधुनिक मुद्रण यन्त्र भित्रिएको १७२ वर्षपछि यो उद्योग जुन रूपमा विकास हुनुपर्ने हो त्यसअनुरूप हुन सकेको छैन । नेपालको सीमावर्ती दक्षिणी भूभागका बासिन्दाका लागि अझै पनि मुद्रण कार्यको पहिलो रोजाइ भारतीय छापाखाना नै हुने गरेका छन् ।
मुद्रण उद्योगमा खपत हुने कच्चापदार्थ, मेशिनरी, एसेसरिज तथा मुद्रण उद्योगमा चाहिने डिजाइनिङ पक्षमा विद्यमान असल कार्यसंस्कृति, सस्तो ढुवानी, भारतीय मुद्रण उद्योग र तिनका सहायक उद्योगको विशाल सञ्जाल तथा समयमै कार्यसम्पन्न गर्ने प्रत्याभूतिका कारण नेपाली ग्राहक भारतीय छापाखानामा बढी आकर्षित हुने गरेको पाइन्छ ।
नेपाली मुद्रण उद्योगमा मूल्य पक्ष पनि निर्णायक तत्वका रूपमा देखिएको छ । आर्थिक वर्ष २०७८/७९ मा मात्रै कागजको आयातमा रू. ४ अर्ब ४१ करोड आयात राजस्व संकलन गरिएको छ जुन कुल आयातको करीब २७ प्रतिशत हुन आउँछ ।
आयातमा आधारित नेपाली मुद्रण उद्योग यसैकारण पनि भारतीयभन्दा २७ प्रतिशत महँगो हुने सोझो हिसाब लगाउन सकिन्छ । मसीको आयातमा पनि यस्तै अवस्था विद्यमान छ । आर्थिक वर्ष २०७८/७९ मा छाप्ने मसीको आयात मात्र पनि रू. १ अर्ब १८ करोड रुपैयाँको रहेको छ जसबापत करीब रू. २४ करोड (२१ प्रतिशत) आयात राजस्व संकलन भएको छ । भारतबाट आयातित कागज आयात राजस्वका कारण भारतको भन्दा २७ प्रतिशतले महँगो हुनु र छाप्ने मसी २१ प्रतिशतले महँगो हुँदा यस अर्थले पनि नेपालको मुद्रण उद्योगको मूल्य प्रतिस्पर्धी क्षमता भारतीय मुद्रण उद्योगभन्दा निकै कमजोर रहेको छ ।
मुद्रण उद्योग भनेको व्यवसायका अतिरिक्त कला, सृजना, कल्पना, भावना र विद्याप्रतिको समर्पण पनि हो । यी षड्तत्वबाट मुद्रण उद्योगमा एउटा गतिशीलता आउँछ । मुद्रण उद्योगको यही षड्तत्वको अभावमा कुनै पनि देशको मुद्रण उद्योगले गति लिन सक्दैन । व्यवसाय र सेवाभावको वेणीका रूपमा रहेको यस उद्योगलाई अन्य उद्योगसँग तुलना गर्न सकिँदैन र गर्न पनि हुँदैन ।
पुस्तक विद्वान्हरूले लेख्छन् जससँग धन कमाउने समय हुँदैन । धनवान्सँग पुस्तक लेख्ने समय हुँदैन । सबैले न पुस्तक लेख्न सक्छन् न छपाउन सक्छन् । लेखिएजति सबै योग्य नहुन पनि सक्छन् । लेखेको छाप्नु, छापेको पाठकसम्म पुर्याउनु र पाठकलाई पुस्तकका बारेमा जानकारी दिनु पुस्तक लेखन उद्योगको त्रिकोण मानिन्छ । यी तीनओटा पक्षको संयोगबाट पुस्तक व्यवसायको गतिशीलता निर्धारण हुन्छ ।
परन्तु नेपालमा यो त्रिकोण जम्न सकेको छैन । पुस्तक प्रकाशन व्यवसाय अपवादबाहेक शिक्षालयका पाठ्यपुस्तकमा सीमित रहेको छ जहाँ लेख्ने र छाप्ने दुवैको योग्यताका बारेमा विविधकोणबाट प्रश्नहरू हुने गरेका छन् । नेपालका प्रसिद्ध विद्वान्हरूका पुस्तक नेपालभन्दा बाहिरका प्रकाशनहरूमा प्रकाशित हुने अभ्यासभित्र यो पक्षमा नेपाली मुद्रण उद्योगमा रहेका कमजोरी पनि केही हदसम्म जिम्मेवार रहेको छ ।
प्रकाशकले छाप्दा त्यो छाप्नयोग्य हो कि होइन भन्ने विषयमा विश्लेषण गर्ने आफूसँग सम्बद्ध विषयका विषयविज्ञ विद्वान्हरू राख्ने र उनका सिफारिशमा पुस्तक प्रकाशन गर्ने संस्कार नेपालमा स्थापित हुन सकेको छैन । पुस्तकको साजसज्जा र त्यसभित्रका सामग्रीको गुणस्तरबीच तादात्म्य हुन जरुरी छ । साजसज्जाभित्रको सामग्रीको गुणस्तरको ख्याल नगरी प्रकाशन गर्ने परिपाटीले राम्रा प्रकाशनहरू पनि नराम्रा प्रकाशनका चेपमा पर्न जाने देखिन्छ ।
प्राज्ञिक जनशक्ति र प्राविधिक जनशक्ति मुद्रण उद्योगका दुईपाटा हुन् । माथि उल्लेख गरिएभैंm प्राज्ञिक जनशक्तिजस्तै प्राविधिक जनशक्तिको पनि मुुलुकमा चरम अभाव देखिन थालेको छ । जनशक्ति विदेशिने क्रममा यसको मार यस उद्योगमा पनि नराम्ररी पर्न थालेको छ । मुद्रण उद्योगका लागि चाहिने दक्ष जनशक्ति उत्पादन गर्ने विशिष्टीकृत तालीम केन्द्रको कमी रहेको छ ।
मुद्रण भन्नासाथ पुस्तक छाप्ने भन्ने बुझिने नेपाली समाजमा मुद्रणका अन्य विधामा कसैको ध्यान जान सकेको छैन । मुद्रण उद्योगसँग जोडिएर आउने अन्य सहायक उद्योगको समानान्तर विकास गर्ने र मुद्रण उद्योगको समग्र विकास गर्न एकीकृत पहुँचको अवधारणामा यस उद्योगको विकास गर्ने सम्बन्धमा पनि सबै तह (सरकार, निजीक्षेत्र र प्राज्ञिक वर्ग) मा एकप्रकारको अन्योल रहेको छ ।
१२ कक्षा उत्तीर्ण गरिसकेपछि नेपालभित्र पढ्न पनि नचाहने, पढ्न नसक्ने र पढेर पनि के हुन्छ र भन्ने जनसंख्याको अंश बढ्दै गएको सन्दर्भमा कक्षा १२ पछिका पाठ्यपुस्तक, पाठ्यसामग्री र सन्दर्भ पुस्तकहरूको नेपालमा औचित्य सकिँदै गएको छ । मानिसले पुस्तक किनेर पढ्ने ऊर्जाशील उमेरको मानिस नेपालमा नबस्दा मुद्रण उद्योग व्यवसायमा संकट आउनु स्वाभाविकै हो ।
सबैभन्दा महत्वपूर्ण पक्ष नेपाली मुद्रण उद्योग स्वयम् र नेपाल सरकारका सम्बद्ध निकायहरूमा मुद्रण उद्योगको स्वरूप कस्तो हुने, यस क्षेत्रको विकास कसरी गर्ने र नेपाली मुद्रण उद्योगलाई कसरी अन्य देशको तुलनामा प्रतिस्पर्धी बनाई नेपाली मुद्रण व्यवसायको उत्थान गर्ने र कस्ता कस्ता संरक्षणात्मक, प्रोत्साहनात्मक र उत्प्रेरणात्मक प्रावधानहरूको व्यवस्था गर्दा यस उद्योगमा भएको र हुने लगानी सुरक्षित हुन्छ भन्ने विषयमा व्यवस्थित अध्ययन नै हुन सकेको छैन । न निजीक्षेत्रसँग मुद्रण उद्योगको भविष्यका बारेमा स्पष्ट खाका रहेको छ न त सरकारबाट नै त्यस्तो व्यवस्थित दस्तावेज तयार गर्ने फलदायी प्रयास नै हुन सकेको छ ।
फलतः मुद्रण उद्योगलाई कसरी अगाडि बढाउने भन्ने विषयमा नेपालमा एक प्रकारको अन्योलको वातावरण रहेको छ । परिणामस्वरूप निजीक्षेत्र आयातित मुद्रित सामग्रीमा करको माग गरिरहेको र कागज आयातमा कर छूटको आग्रह गरिरहेको छ । नेपाली कागज उद्योग आयातमा कर वृद्धिको माग गरिरहेको छ । यही विरोधाभासी त्रिकोणमा नेपाली मुद्रण उद्योग रुमलिरहेको छ ।
कुनै शक्ति समूहसँग नढल्किएका तर गौरवशाली इतिहास भएका साना राष्ट्रहरूलाई सुरक्षित मुद्रणका हबका रूपमा विकास गर्न सकिने सम्भावना हुन्छ । यस दृष्टिकोणबाट नेपाली मुद्रण उद्योगलाई विकास गर्ने सोच कहिल्यै पनि विकास हुन सकेको छैन । बेस्टन उद्योग र प्रचार उद्योगका सामग्रीको मुद्रण उद्योगसँगको सहकार्य एवम् एकआपसका गतिविधिलाई भरथेग गर्ने अभ्यासको पनि विकास हुन सकेको छैन ।
यी तमाम समस्याको भारी बोक्दै नेपाली मुद्रण उद्योग जसोतसो घस्रिरहेको छ । यही घस्राइलाई निजीक्षेत्र र नीतिनिर्माता तह दुवै गतिको रूपमा बुझ्दै आग्रह पूर्वाग्रहका बहसमा समय व्यतीत गरिरहेका छन् । परन्तु उपर्युक्त पक्षलाई आत्मसात् गर्न दुवै पक्षमा उदासीनता छ ।
तसर्थ उपर्युक्त घस्राइलाई साँच्चिकै प्रवेगमा रूपान्तरण गर्न मुद्रण उद्योगमैत्री करनीति र संरक्षणनीति लागू हुन आवश्यक देखिएको छ भने लेखकमैत्री प्रकाशक, बेष्टन र प्रचार उद्योगमैत्री मुद्रण क्षेत्र र मुद्रणमा सेवाभावको आधिक्यजस्ता विषयमा निजी र सार्वजनिक क्षेत्रबीच आम समझदारी आवश्यक छ ।
लेखक कृष्णराज बजगाईं व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।