कोभिड महामारीमा अभिभावक गुमाएसँगै आर्थिक अभावका कारण विद्यालय छाड्न बाध्य बालबालिकाले निःशुल्क शिक्षा पाउने भएका छन्। राजनीति, व्यवसाय र सामाजिक कार्यमा सक्रिय युवाहरूको प्रयासमा टुहुरा बालबालिकाका लागि छात्रवृत्ति अभियान सुरु भएको हो। राजधानीमा सोमबार आयोजित एक कार्यक्रमबिच काँग्रेस महामन्त्री गगनकुमार थापा र डिसहोम नेटवर्कका प्रबन्ध निर्देशक एवं कामना सेवा विकास बैङ्कका अध्यक्ष सुदीप आचार्यले संयुक्त रूपमा अभियानको औपचारिक घोषणा गरे। ‘भरोसा छात्रवृत्ति’ नाम दिइएको उक्त अभियानका लागि प्रारम्भिक चरणमा डिसहोम परिवारले आर्थिक व्यवस्थापन गर्ने कार्यक्रममा जानकारी दिइयो।