म्याग्दी । वर्षाले खेतमा पाकेर थन्क्याउने बेला भएको धान बालीमा क्षति पुगे पछि यहाँका किसान चिन्तित भएका छन् । धानलाई वर्षाले झार्नुका साथै बोट समेत ढलेको छ । बाली भित्र्याउने समयमा पानीले क्षति पु¥याइदिएपछि खाद्य संकटको चिन्ता भएको बेनी नगरपालिका–२ बगरफाँटका किसान भीमबहादुर कार्कीले बताए ।
‘धानको बोट ठाडो एउटा पनि छैन, सबै सोत्तर भएको छ, खेतैभरि पानी भरिएको छ,’ उनले भने, ‘एक÷दुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिएपछि अब वर्षभरि के खाने हो, चिन्तित छौं ।’ जिल्लाको ज्यामरुककोट, खवरा, बगरफाँट, पुलाचौर, सीम, बाबियाचौर, अर्मनलगायत ठाउँमा लगाएको क्षति पुगेको किसानले बताएका छन् । पानी परेसँगै जाडो बढेको छ । उपल्लो क्षेत्रमा हिमपात हुने लक्षण देखिएको रुमका एकवीर घर्तीले जानकारी दिए । रासस