विराटनगर। युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले विराटनगरको बैजनाथपुरमा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला निर्माण हुने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अहिले रंगशालाका लागि ३ करोड रुपैयाँ बजेट विनियोजन भएको र यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको जानकारी दिए । २ अर्ब रुपैयाँ लागतमा २ वर्षभित्र अत्याधुनिक रंगशाला निर्माण हुने उनले बताएका छन् ।
पूर्वप्रधानमन्त्री तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा गिरिजाप्रसाद कोइरालाको नाममा बन्न लागेको रंगशालामा बजेट थोरै भयो भनेर आलोचना नगर्न उनले आग्रह गरे । रंगशालामा लाग्ने बजेट विनियोजन हुने र निर्धारित समयमै बन्ने उनले बताए । मन्त्री लिम्बूले भने, ‘क्रिकेट मैदान, स्वीमिङ पुल, कभर्डहल, फुटबल मैदानसमेत निर्माण गर्ने भएकाले बैजनाथपुरको रंगशाला खास किसिमको हुनेछ ।’ बैजनाथपुरमा रंगशाला बन्दा सो क्षेत्रका मानिसका लागि रोजगारीका अवसर सृजना हुने, जमीनको मूल्य बढ्ने र जीवन स्तरमा पनि सुधार आउने उनले बताए ।