काठमाडौं (अस) । बहिरा व्यक्तिमाथि हुने विभिन्न हिंसामध्ये यौनजन्य हिंसा बढी हुने गरेको पाइएको छ । राष्ट्रिय बहिरा महासंघले गरेको एक अध्ययनले यस्तो देखाएको बिहीवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
महासंघले २१ जना बहिरा व्यक्तिमाथि भएको हिंसा, विभेद तथा अनुभवबारे अध्ययन गरेको थियो । त्यसमा ९ जना बहिरा महिलाले आफूमाथि यौनजन्य हिंसा भएको बताएका थिए । बहिरा भएकै कारण आफूहरूमाथि यौनजन्य हिंसा भएको उनीहरूको भनाइ थियो । यस्तै सरकारी सेवा सुविधाबाट वञ्चित भएको, सञ्चार प्रभावकारी नहुँदा अफ्ठ्यारो परेको बहिरा व्यक्तिहरूले बताएका छन् ।
महासंघले प्रत्येक सार्वजनिक कार्यालयमा दोभासेको व्यवस्था गर्न माग गरेको छ । ‘बोल्न र सुन्न सक्ने अवस्था नहुँदा बहिरा व्यक्तिले सरकारी सेवासुविधा राम्रोसँग प्राप्त गर्न सकेका छैनन्,’ महासंघका अध्यक्ष केपी अधिकारीले भने ।
यसैगरी बहिरा नागरिकलाई गुणस्तरीय शिक्षाका लागि ‘एक जिल्ला, एक बहिरा विद्यालय’को व्यवस्था गर्नुपर्ने पनि उनले बताए । साथै, सांकेतिक भाषाको विकास गर्न अनुसन्धान केन्द्रको स्थापना गर्नुपर्ने उनको भनाइ छ । नसुन्ने र बोल्न नसक्ने महिलामाथि देशका विभिन्न स्थानमा यौनहिंसा भएको र दोषीमाथि कारबाही समेत हुन नसकेको भन्दै महासंघले दोषीलाई कारबाहीका लागि सशक्त कानून ल्याइनुपर्नेमा जोड दिएको छ ।