काठमाडौं । श्रम अदालतले स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले खोलेको पदपूर्तिको विज्ञापन तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।
श्रम अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य निशा बानियाँको संयुक्त इजलासले बुधवार सात जना कर्मचारी हटाइएको र अदालतले पुनर्बहाली गर्ने फैसला गरेको विषयमा उक्त कम्पनीले पुनर्बहाली नगरी विज्ञापन प्रक्रिया अघि बढाएको हुनाले तत्काल पदपूर्ति प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको हो ।
उक्त कम्पनीले कर्मचारी दीपक चौधरी, विराज बोगटी, रामनन्दन मण्डल, विनोद नेपाली, पूर्णचन्द्र राज अवस्थी, हरिशङ्करप्रसाद श्रीवास्तव र चित्रबहादुर बुढाथोकीलाई सेवाबाट हटाउने निर्णय गरेको थियो । ती व्यक्तिले विनाकारण सेवाबाट हटाएको उल्लेख गर्दै सुविधासहित पुनर्बहाली गर्न माग गर्दै श्रम अदालतमा मुद्दा दायर गरेका थिए ।
सोही मुद्दाको सुनुवाइ सेवासुविधासहित पुनर्बहाली गर्नुपर्ने अदालतबाट फैसला भए पनि सो कम्पनीले पुनर्बहाली नगरिकन विज्ञापन प्रक्रिया अगाडि बढाएपछि पीडितले फैसला कार्यान्वयनका लागि पुनःअदालतमा मुद्दा हालेका थिए । उक्त मुद्दाको सुनुवाइपछि अदालतते तत्काल पदपूर्तिको विज्ञापन प्रक्रिया अघि नबढाउन आदेश गरेको हो । अदालतले दुवै पक्षलाई छलफलका लागि यही फागुन ११ गते बोलाएको छ । रासस