कैलाली । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका छन् । शनिवार सम्पन्न मतगणना अनुसार उनी २६ हजार ८६५ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका नृपबहादुर वडले १४ हजार ८१७ मत पाएका थिए । वड उपमहानगरका निवर्तमान प्रमुख समेत हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणामअनुसार उपमहानगरको उपप्रमुखमा नेकपा एमालेबाट उम्मेदवारी बनेकी कन्दकला राना थारु निर्वाचित भएकी छिन् । उनले १५ हजार ४७९ मत प्राप्त गरिन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीले १२ हजार ६७० मत प्राप्त गरिन् ।
गत निर्वाचनमा पनि उपमहानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार बनेका हमाल निवर्तमान प्रमुख वडसँग झीनो मतान्तरले पछि परेका थिए । उपमहानगरको प्रमुखमा कांग्रेस र उपप्रमुख माओवादीका तर्फबाट तालमेल गरी उम्मेदवारी दिइएको थियो । वडा तहका पदमा भने आपसमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति सत्ता साझेदार दलहरूबीच थियो । उपमहानगरका अधिकांश वडामा अध्यक्ष र सदस्य पदमा कांग्रेसका प्रत्यासी विजयी भएका छन् ।
प्रमुखमा निर्वाचित हमाल यसअघि कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष र सुदूरपश्चिम उद्योग वाणिज्य महासंघको अध्यक्ष भइसकेका छन् । ‘सुन्दर सुदूरपश्चिम प्रदेश अभियान’को शुरुआत कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा हमालले नै गरेका थिए । धनगढीका व्यवसायी हमालको सामाजिक सेवामा योगदान छ । उनकै अग्रसरतामा केही वर्षदेखि धनगढीमा कपडा बैंक सञ्चालनमा छ ।
कपडा बैंकबाट कपडा सित्तैमा उपलब्ध गराउने गरिएकाले गरीब तथा न्यून आय भएका वर्गका व्यक्तिलाई ठूलो राहत मिलेको छ । सो बैंकमा इच्छुक व्यक्तिले तयारी कपडासमेत उपलब्ध गराउने गरेका छन् ।
हमालले केही वर्षदेखि धनगढीमा निःशुल्क शववाहनको पनि व्यवस्था गरेका छन् । यसबाट मृतक व्यक्तिको अन्तिम संस्कारका बेला सम्बन्धित परिवारलाई सहयोग पुग्ने गरेको छ ।
निर्वाचित भएपछि मतगणनास्थलमा पत्रकारसँग कुरा गर्दै हमालले उपमहानगरपालिकाले गर्ने काम पारदर्शी, जनमुखी र भ्रष्टाचाररहित बनाउने प्रतिबद्धता व्यक्त गरे । ‘पक्षपातरहित ढंगले सबैको सहयोगमा धनगढीको विकास र समृद्धिका पक्षमा काम गरिनेछ,’ उनले भने । यसैगरी कैलालीका सबै १३ ओटै स्थानीय तहको चुनावको अन्तिम नतीजा सार्वजनिक भएको छ । रासस