साउन १०, काठमाडौं । प्रभु सेलेक्ट फण्डले पहिलो महीनाको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
यस योजना असार महीनादेखि सञ्चालनमा आएको हो । प्रभु क्यापिटल लिमिटेडको सामुहिक लगानीकोष योजना अन्तर्गतको यस योजनाले जेठ ५ गतेदेखि ९ गतेसम्म इकाई विक्री गरी असार ७ गते धितोपत्र दोस्रो बजारमा उक्त इकाई सूचीकृत गरेको थियो । यस योजनाले १२ करोड ५० लाख इकाई सूचीकृत गराएको हो । बन्दमुखी यस योजनाको अवधि ७ वर्षको रहेको छ ।
सञ्चालनको पहिलो महीना रू. ७६ लाख ४४ हजार नोक्सानीमा रहेको यस योजनाको प्राप्त भइसकेको आम्दानी रू. ९६ लाख ६० हजार र प्राप्त भइनसकेको आम्दानी रू. ८७ लाख ६३ हजार रहेको छ । असार महीनामा योजनाको कुल आम्दानी रू. ८ लाख ९६ हजार रहेको छ । यो महीना योजनाले रू. ८५ लाख ४१ हजार खर्च गरेको छ ।
योजनाको इकाई प्रकाशन, सूचीकरण तथा अन्य खर्च, योजना व्यवस्थापक तथा डिपोजिटरी शुल्क, कोष सुपरिवेक्षक शुल्क र योजना अडिट शुल्कका लागि योजनाले उक्त रकम खर्च गरेको हो । यस अवधिसम्म योजनाको प्रति इकाई खुद मूल्य रू. ९ दशमलव ९४ रहेको छ । योजनाले धितोपत्रमा रू. ४५ करोड ६९ लाख १३ हजार बराबरको लगानी गरेको छ । उक्त लगानीको बजारमूल्य भने रू. ५४ करोड ८१ लाख ५० हजार रहेको छ ।
पहिलो महीना व्यवस्थापकिय खर्च बढी भएकाले नोक्सानी व्यहोरे पनि आगामी महीना नोक्सानी सुधार्दै लैजाने योजनाको उद्देश्य रहेको छ ।