काठमाडौं । प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले जेठ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यी दुवै फण्डले सूचीकृत धितोपत्रमा लगानी बढाएका छन् ।
प्रभु सेलेक्ट फण्डले वैशाख मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. ५३ करोड लगानी गरेकोमा जेठ मसान्तसम्ममा बढाएर रू. ६२ करोड २४ लाख पुर्याएको हो ।
त्यस्तै प्रभु स्मार्ट फण्डले जेठ मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. २७ करोड ८४ लाख लगानी गरेको छ । यो लगानी वैशाख मसान्तसम्ममा रू. १५ करोड २१ लाख थियो ।
यस फण्डको न्याभ पनि बढेको छ । वैशाख मसान्तसम्ममा फण्डको न्याभ १० रुपैयाँ रहेकोमा जेठ मसान्तसम्ममा बढेर १० रुपैयाँ ४३ पैसा पुगेको हो । त्यस्तै यस फण्डले जेठ मसान्तसम्ममा रू. ४ करोड २६ लाख नाफा कमाएको छ ।
वैशाख मसान्तसम्ममा भने फण्ड रू. ३ लाख ३३ हजार नोक्सानीमा थियो । जेठमा आम्दानी वृद्धि भएसँगै फण्ड नाफामा गएको हो । वैशाख मसान्तसम्ममा फण्डको जम्मा आम्दानी रू. ५५ लाख ३० हजार रहेकोमा जेठ मसान्तसम्ममा बढेर रू. ५ करोड ३ लाख पुगेको छ ।
प्रभु सेलेक्ट फण्डले जेठ मसान्तसम्ममा रू. ११ करोड १६ लाख नाफा कमाएको छ । यो नाफा वैशाख मसान्तसम्मको तुलनामा १६५ प्रतिशत वृद्धि भएको हो । वैशाख मसान्तसम्ममा फण्डले रू. ४ करोड ३५ लाख नाफा कमाएको थियो । जेठमा फण्डको आम्दानीमा वृद्धि भएसँगै नाफा बढ्न टेवा पुगेको हो ।
नाफासँगै फण्डको न्याभ पनि बढेको छ । वैशाख मसान्तसम्ममा फण्डको न्याभ १० रुपैयाँ १७ पैसा रहेकोमा जेठ मसान्तसम्ममा बढेर १० रुपैयाँ ७१ पैसा पुगेको छ ।
प्रभु स्मार्टको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला
प्रभु सेलेक्ट फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला