जेठ १०, काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । परिसूचक १६ दशमलव ३२ अंक बढेर २ हजार २१७ दशलमव १९ बिन्दूमा पुगेको छ ।
तर कारोबार रकम भने सवा अर्ब रुपैयाँ पनि पुग्न सकेन । यस अवधिमा कारोबारमा आएका २२४ धितोपत्रको ३१ लाख ७३० कित्ता शेयर २१ हजार ७०९ पटक किनबेच हुँदा १ अर्ब ८ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर खरीदविक्री भएको हो ।
विगत तीन दिन देखि घटेको बजारमा मंगलवार मात्रै हरियो भएको हो । यसोत सरकारले आज सार्वजनिक गर्न लागेको नीति तथा कार्यक्रममार्फत पूँजी बजारको विकास र विस्तारको लागि आवश्यक विषय सम्बोधन हुनेमा लगानीकर्ताहरु आसावादी भएसँगै मंगलवार बजार बढेको विश्लेषकहरूले बताएका छन् ।
यसोत पछिल्लो समय वित्तीय प्रणालीमा तरलता अभावको समस्या तत्काल समाधान नहुने राष्ट्र बैंककै अधिकारीहरूले बताउने गरेका छन् । तर उच्च बिन्दुबाट १ हजार अंक तल आएको बजार कुनै पनि बेला माथि जान सक्ने मनोविज्ञानले बजारमा खरीदकर्ताहरू प्रवेश गर्नसक्ने विश्लेषकहरू बताउँछन् ।
अव मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा र बजेट सार्वजनिक हुने दिन नजिकिएका कारण लगानीकर्ताहरू सकारात्मक देखिएका छन् । तर बजेट सार्वजनिक नभएसम्म भने लगानीकर्ताहरू पर्ख र हेर कै स्थितिमा रहने लगानीकर्ताहरू बताउँछन् ।
कारोबारमा आएका २२४ धितोपत्र मध्ये सबैभन्दा बढी लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ५ दशमलव ९५ प्रतिशत वृद्धि भएको छ । शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ३१६ मा पुगेको हो । त्यसैगरी दोस्रोमा अपर तामाकोशी हाइड्रोपावर कम्पनीको शेयर मूल्य ५ दशमलव ५८ प्रतिशत वृद्धि भएर रू. ५०८ दशमलव ९० पुगेको हो ।
मंगलवार कर्पोरेट डेभलपमेण्ट बैंकको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा मंगलवार १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । शेयर मूल्य प्रतिकित्ता रू. ४२२ दशमलव १० कायम भएको छ । कम्पनीको शेयरमा खरीदकर्ता भन्दा विक्रेता धेरै भएकाले शेयर मूल्य घटेको हो । त्यसैगरी दोस्रोमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ५ दशमलव ३९ प्रतिशत घटेर रू. ४९७ मा झरेको छ ।
सर्वाधिक शेयर खरीदविक्री एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरको भएको छ । सो अवधिमा कम्पनीको रू. ४ करोड ८४ लाख बराबरको शेयर खरीद विक्री भएको हो । शेयर मूल्य प्रतिकित्ता रू. ४९४ दशमलव ७० कायम भएको छ ।
त्यसैगरी सर्वाधिक शेयर विक्री हुने दोस्रोमा अपर तामाकोशी हाइड्रोपावरको रू. ४ करोड ६३ लाख बराबरको भएको हो । कारोबारमा आएक १३ ओटा समूहगत परिसूचक मध्ये म्युचुअल फण्ड समूहको शून्य दशमलव २५ प्रतिशत र ब्यापार समूहको शून्य दशलमव १७ प्रतिशत घटेको छ भने बाँकी समूहको समूहगत परिसूचक बढेसँगै नेप्से परिसूचक बढेको हो ।
समूहगत परिसूचक बढ्नेमा सबैभन्दा बढी हाइड्रोपावर समूहको परिसूचक २ दशमलव ०६ प्रतिशत बढेको छ । त्यसैगरी बैंकिङ्ग समूहको परिसूचक शून्य दशमलव ३९ प्रतिशत,विकास बैंक समूहको १ दशमलव ४१ प्रतिशत,वित्त समूहको १ दशमलव ७६ प्रतिशत,होटल एण्ड टुरिजम समूहको शून्य दशमलव ९७ प्रतिशत,लगानी समूहको शून्य दशमलव ४९ प्रतिशत,जीवन बीमा समूहको शून्य दशमलव ७२ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको १ दशमलव १५ प्रतिशत,लघुवित्त समूहको शून्य दशमलव ५७ प्रतिशत,निर्जीवन बीमा समूहको शून्य दशमलव २६ प्रतिशत र अन्य समूहको परिसूचक शून्य दशमलव ७१ प्रतिशतका दरले बढेको हो ।