रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३, धैरेनिचौरमा निर्माण भएको ३३÷११ केभीको मुसिकोट सबस्टेसन सञ्चालनमा आएको छ । अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले सोमबार मुसिकोटमा आयोजित कार्यक्रममा सबस्टेसनको संयुक्त रुपमा उद्घाटन गरेका हुन्। सबस्टेसनबाट रुकुम पश्चिम, रुकुम पूर्व र जाजरकोटका केही ठाउँहरुमा विद्युत आपूर्ति गरिनेछ ।कार्यक्रममा अर्थ मन्त्री शर्माले अमेरिकी डलरमा खरिद गरेर ल्याइएको खाना पकाउने ग्याँसलाई विस्थापित गरी विद्युतीय चुलो प्रयोग गर्न आग्रह गरे । आफूले सुरु गरेको ‘उज्यालो रुकुम’ अभियान अहिले ‘उज्यालो नेपाल’मा परिणत भएको चर्चा गर्दै पूर्व ऊर्जा मन्त्रीसमेत रहेका शर्माले विद्युतीकरणका लागि बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाए । ‘विद्युत आर्थिक क्रान्तिको आधारभूत साधन हो, यसको प्रयोग घरघरमा, उद्योग उद्योगमा बढाएर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनतर्फ लाग्नु पर्छ, साथै गुणस्तरीय पूर्वाधारको निर्माण गरी गुणात्मक विकास गर्नु पर्छ ।’उद्घाटन कार्यक्रममा ऊर्जा मन्त्री भुसालले विगतमा वत्ति बाल्न पाउनु नै ठूलो कुरा भएको उल्लेख गर्दै अब पर्याप्त विद्युत रहेकोले भान्सामा प्रयोग भइरहेको ग्याँसलाई विस्थापित गरी इन्डक्सन चुलो प्रयोग गर्न आग्रह गरे। उनले दुई वर्षभित्रमा सबै नेपालीको घरमा विद्युत पुर्याउने र विद्युत सेवालाई भरपर्दो तथा गुणस्तरीय बनाउने प्रयासका साथ काम भइरहेको बताए । उनले भने,‘आफ्नै उत्पादनबाट माग धान्ने अवस्थामा पुगी विद्युतमा आत्मनिर्भर बन्नेतर्फ अगाडि बढेका छौं, वर्खाका केही महिना देशभित्र खपत गरेर जगेडा भएको विद्युत भारत निर्यात गर्न थालेका छौं, थप विद्युत निर्यातका लागि भइरहेका पहल सकारात्मक रुपमा अगाडि बढिरहेको छ ।’विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशको पूर्ण विद्युतीकरणलाई उच्च प्राथमिकतामा राखी काम भइरहेको बताए ।सल्यान सित्तलपाटी सबस्टेसनबाट करिब ८० किलोमिटर लामो ३३ केभी लाइनमार्फत विद्युत लगेर सबस्टेसन सञ्चालनमा ल्याएको हो । सबस्टेसनमा ३ एमभीए क्षमताको पावर ट्रान्सफर्मर रहेको छ । सबस्टेसन सञ्चालनमा आएपछि रुकुममा विद्युतको भोल्टेजमा उल्लेखनीय सुधार, लाइनमा नियमितता र प्राविधिक चुहावटमा कमी आएको छ । जाजरकोटको कुदु सबस्टेसनबाट पनि जिल्लाभरी विद्युत आपूर्ति गर्न सकिने व्यवस्था मिलाइएको छ । यसले गर्दा सल्यान या दाङको तुलसीपुरमा विद्युत अवरोध हुँदा पनि रुकुम पश्चिम तथा पूर्वमा वत्ति बाल्न सकिन्छ ।सबस्टेसनबाट विद्युत आपूर्तिका लागि फिडरहरु निर्माण भइरहेको छ । अहिले एउटा फिडरबाट मात्र जिल्लाभरी विद्युत आपूर्ति भइरहेको छ । बाँकी फिडरहरु सञ्चालनमा आएपछि त्यस क्षेत्रको विद्युत आपूर्तिमा झनै सुधार आउने छ । रुकुम पूर्वमा निजी क्षेत्रले निर्माण गरिरहेको ५ मेगावाटको रुकुमगाड जलविद्युत आयोजनाको विद्युत यही मुसिकोट सबस्टेसनमा जोडिने छ ।सबस्टेसन निर्माण २०७२ को असारबाट सुरु भएको थियो । तर, सुरुमा निर्माण प्रस्ताव गरिएको स्थान पहिरोको जोखिम रहेकाले नयाँ ठाउँ खोज्न समय लाग्दा काम प्रभावित भएको थियो । सबस्टेसन निर्माणका लागि वाइबा इन्फ्राटेक प्रा.लि.सँग ८ करोड ८८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।रुकुम पश्चिममा ३ वटा नगरपालिका र ३ वटा गाउँपालिका सबैमा विद्युत पुगेको छ । सबै वडाहरुमा भने विद्युत पुगेको छैन । पालिकाहरुको वडा संख्या ७३ रहेकोमा ५२ वटा वडामा विद्युत पुगेको छ । राष्ट्रिय प्रसारण लाइनबाट ७० प्रतिशत विद्युतीकरण भएको छ । स्थानीय लघुजलविद्युतसहित रुकुम पश्चिमको समग्र विद्युतीकरण ८५ प्रतिशत छ ।
साउन १३, बागलुङ । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले समयमा महसुल नबुझाउने ग्राहकको लाइन काटेर बक्यौता असुल गरेको छ । गत आवभित्रमा ४६४ त्यस्ता ग्राहकबाट रू. ३५ लाख बक्यौता उठाइएको केन्द्रले जानकारी दिएको छ ।
महसुल तिर्न अटेर गर्ने ग्राहकको लाइन काट्ने गरिएको र महसुल बुझाएमा पुनः लाइन दिने गरिएको केन्द्र प्रमुख शिवनारायण गोशलीले बताए । मिटर रिडिङ गरेको ६०औं दिनसम्म विद्युत् महसुल नतिरेमा बिनासूचना जुनसुकै समयमा पनि प्राधिकरणले लाइन काट्न सक्ने कानूनी व्यवस्था छ ।
तोकिएको अवधिभन्दा बढी समयसम्म महसुल नतिर्ने ग्राहकको लाइन काट्ने गरिएको प्रमुख गोशलीको भनाइ छ । लाइन काटिएपछि बल्ल ग्राहकले बक्यौता रकम बुझाउने गरेका छन् । बक्यौता नतिरेसम्म लाइन नजोडिने केन्द्रले जानकारी दिएको छ ।
लाइन काटिएपछि पनि महसुल नबुझाउने ग्राहकलाई कालोसूचीमा राखेर केन्द्रले कारवाही अगाडि बढाउन सक्छ । गत आवमै कालोसूचीमा रहेका १६ जना पुराना ग्राहकबाट रू. तीन लाख आठ हजार बक्यौता असुल गरिएको थियो । यस्तै ४१ ग्राहकलाई विद्युत् चुहावट गरेको आरोपमा कारवाही गरिएको छ ।
केन्द्रले अहिले जिल्लाभर केन्द्रीय प्रसारण लाइन विस्तारको काम गरिरहेको छ । विद्युतीकरण कार्यक्रममार्फत गत आवको शुरुमै बडिगाड र ढोरपाटन नगरपालिकाकामा पहिलोपटक केन्द्रीय प्रसारण लाइन पुगेको थियो ।
ताराखोला, बरेङ गाउँपालिका र जैमिनी नगरपालिकामा पनि विद्युत् विस्तार भइरहेको छ । ‘जिल्लाको करिब ६५ देखि ७० प्रतिशत ठाउँमा केन्द्रीय प्रसारण लाइनको पहुँच विस्तार भइसकेको छ’, प्रमुख गोशलीले भने, ‘आगामी वर्षसम्ममा सबैतिर पुग्छ, त्यहीअनुसार बजेट माग गरेका छौँ ।’
तमानखोला र निसीखोला गाउँपालिकामा अहिलेसम्म केन्द्रीय प्रसारणको विद्युत् पुग्न सकेको छैन । स्थानीयवासीहरू गाउँमै सञ्चालित लघुजलविद्युत् आयोजनाका भरमा छन् । गत आवमा विद्युत्का एक हजार ९०५ जना नयाँ ग्राहक थपिएको केन्द्रले जानकारी दिएको छ ।
गण्डकी प्रदेश सरकारबाट आएको ग्रामीण विद्युतीकरण कार्यक्रमको शतप्रतिशत काम पूरा भएको जानकारी दिइएको छ । केन्द्रले विद्युत् विस्तारका साथै विद्युत् लाइन सुदृढीकरण, ट्रान्सफर्मर जडान, चुहावट रोक्ने, जीर्ण काठका पोललाई विस्थापित गरी नयाँ फलामका पोल राख्नेलगायतका काम गर्दै आएको छ । रासस
वैशाख २, लन्डन (बेलायत) । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ प्रतिब्यारेल १० डलरसम्म आउन सक्ने चेतावनी एक परामर्शदाता कम्पनीले दिएको छ ।
विश्वले ऊर्जा बजारको विद्युुतीकरण गर्न सफल भयो र पेरिस सम्झौताको लक्ष्यहरु हासिल भयो भने तेलको मूल्य सो स्तरमा आउने ऊर्जा अनुसन्धान तथा परामर्श कम्पनी वूड म्याकिन्जेले बिहीवार सार्वजनिक एक प्रतिवेदनमा भनेको हो ।
पेरिस जलवायु सम्झौतामा बताइएअनुसार सन् २०५० सम्ममा विश्वको जलवायु तापमानलाई २ डिग्री सेल्सियसमा सीमित पार्ने निर्णायक कदम विश्वको नेताहरुले लिए भने तेलका मागमा उल्लेख्य कमी आउने प्रतिवेदनमा भनिएको छ ।
विद्युतीकरण बढ्ने सो परिदृश्यमा तेलको माग अहिलेको स्तरबाट ७० प्रतिशत घट्न सक्ने प्रतिवेदनमा उल्लेख छ । सन् २०३० सम्ममा ब्रेन्टको भाउ प्रतिब्यारेल ३७ डलरदेखि ४२ डलरबीच झर्नेछ ।
सन् २०४० मा यो प्रतिब्यारेल २८ देखि ३२ डलरबीच रहने र सन् २०५० सम्ममा यो झन घटेर १० देखि १८ डलरमा आउने वूड म्याकिन्जेको भनाइ छ । एजेन्सी