वैशाख २, लन्डन (बेलायत) । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ प्रतिब्यारेल १० डलरसम्म आउन सक्ने चेतावनी एक परामर्शदाता कम्पनीले दिएको छ ।
विश्वले ऊर्जा बजारको विद्युुतीकरण गर्न सफल भयो र पेरिस सम्झौताको लक्ष्यहरु हासिल भयो भने तेलको मूल्य सो स्तरमा आउने ऊर्जा अनुसन्धान तथा परामर्श कम्पनी वूड म्याकिन्जेले बिहीवार सार्वजनिक एक प्रतिवेदनमा भनेको हो ।
पेरिस जलवायु सम्झौतामा बताइएअनुसार सन् २०५० सम्ममा विश्वको जलवायु तापमानलाई २ डिग्री सेल्सियसमा सीमित पार्ने निर्णायक कदम विश्वको नेताहरुले लिए भने तेलका मागमा उल्लेख्य कमी आउने प्रतिवेदनमा भनिएको छ ।
विद्युतीकरण बढ्ने सो परिदृश्यमा तेलको माग अहिलेको स्तरबाट ७० प्रतिशत घट्न सक्ने प्रतिवेदनमा उल्लेख छ । सन् २०३० सम्ममा ब्रेन्टको भाउ प्रतिब्यारेल ३७ डलरदेखि ४२ डलरबीच झर्नेछ ।
सन् २०४० मा यो प्रतिब्यारेल २८ देखि ३२ डलरबीच रहने र सन् २०५० सम्ममा यो झन घटेर १० देखि १८ डलरमा आउने वूड म्याकिन्जेको भनाइ छ । एजेन्सी