बहुउपयोगी कोदो नेपालमा वर्षौंअघिदेखि उत्पादन हुने खाद्यान्नमा पर्छ । नेपालको हावापानी सुहाउँदो भएकाले कोदाको उत्पादकत्व पनि राम्रो रहेको पाइन्छ । तर यसले जति महत्त्व पाउनुपर्ने हो त्यो पाउन सकेको छैन ।
कोदाको उत्पादन वृद्धि गरी आम्दानी बढाउने हो भने सरकारले कोदाको महत्त्वलाई ग्रामीण स्तरसम्म बुझाउन आवश्यक छ ।
चिनी रोगलगायत बिरामीका लागि उपयुक्त हुने भएकाले चिकित्सकले कोदो सेवन गर्ने सल्लाह पनि दिने गर्छन् । कोदोमा क्याल्सियम, कार्बोहाइड्रेड, प्रोटिन, चिल्लो पदार्थ, थाइमिन र फाइबर उच्च मात्रामा पाइन्छ । कोदोमा चामल र मकैमा भन्दा बढी क्रमश: ३५ र ८ गुणा बढी क्याल्सियम पाइन्छ । कोदोबाट बनेको पाउरोटीको प्रयोग बढ्दो छ । साथै, स्वास्थ्यप्रति सचेत मानिसले कोदाको उपभोग बढाउँदै लगेको पनि पाइन्छ । पहिलापहिला गरीबले खाने खानाका रूपमा चिनिने कोदाको महत्त्व बुझ्नेहरूले यसको प्रयोग गर्ने क्रम पनि बढेको छ ।
तैपनि सर्वसाधारण तहमा अझै कोदाको बहुउपयोगबारे धेरै जानकारी भएको पाइँदैन । कोदाको राम्रो उत्पादन हुने क्षेत्र पनि बाँझै राखेको देखिन्छ । सरकारी तथ्यांकअनुसार १० वर्षको अवधिमा कोदो खेती हुने जमीनको क्षेत्रफल साढे १२ हजार हेक्टरले घटेको छ ।
कोदो प्रजातिको खाद्यान्नको उपयोग बढाउने हो भने एकातिर चामलको आयात कम हुनेछ भने अर्कातिर पोषणको स्थितिमा समेत सुधार आउनेछ ।
तर, नेपाल सरकारले कोदो र यस्तै प्रकृतिका वालीको प्रवर्द्धन गर्न खासै काम गरेको छैन । भारतको प्रस्तावमा संयुक्त राष्ट्रसंघले २०२३ लाई कोदो प्रकृतिका बाली वर्ष मनाउन लागेको छ । नेपालले पनि उक्त कार्यक्रममा सहभागिता जनाउने तयारी गरेको छ ।
तर, यस्ता कार्यक्रममा सहभागी जनाउनुभन्दा पहिला कोदाको उत्पादन वृद्धि गर्न केकस्ता योजना चाहिने हो, त्यसमा स्पष्ट हुन आवश्यक छ । अझै पनि नेपालमा कृषिखेतीबाट राम्रो आम्दानी हुन्छ भनेर विश्वास गर्नेहरू थोरै छन् । भूबनोटको दृष्टिकोणले निकै सम्भावना हुँदाहुँदै पनि बजार, मूल्य तथा सिँचाइ, मलको समस्या किसानले सधैं भोग्नु परिरहेका दृष्टान्त छन् ।
अन्य कृषि बालीजस्तै कोदाको पनि एकातिर उत्पादन वृद्धि गर्न आवश्यक छ भने अर्कोतर्फ यसको महत्त्व र बजारीकरणको व्यवस्थापन पनि त्यतिकै जरुरी छ ।
हुन त नेपालमा कोदाको विदेशबाट आयात पनि हुने गरेको छ । आयात हुनुको अर्थ यसको आवश्यकता र महत्त्व भएरै हो । कोदोबाट मदिरा उत्पादन गर्ने सम्भावना निकै छ । तर, नेपालमा कोदोबाट मदिरा बनाउने काम न व्यावसायिक छ न कानूनी नै । अहिले जेजसरी मदिरा तयार भइरहेको छ, त्यो व्यावसायिक छैन ।
छिमेकी राष्ट्र भारत, गोवामा मदिरा सेवन गर्नकै लागि ठूलो संख्यामा पर्यटक पुग्ने गर्छन् । गोवामा प्रशस्त मात्रामा उत्पादन हुने काजुबाट मदिरा बनाउने कार्यले व्यावसायिकता पाएको छ । नेपालमा पनि व्यावसायिक तवरले कोदाको मदिरा उत्पादन गर्न दिने हो भने त्यस्ता उद्योगहरूले नै कोदो उत्पादन वृद्धिका लागि अनेक उपाय ल्याउन सक्छन् ।
नेपाली कोदाको रक्सीको ब्रान्डिङ गर्न पहल भए पनि त्यसमा सरकार सक्रिय नहुँदा चर्चामा मात्रै सीमित हुन पुगेको छ । यसो गर्न सकेको भए कोदाको रक्सीले अन्तरराष्ट्रिय बजार प्राप्त गर्न सक्ने थियो । यस्तो कार्यले पर्यटक आगमनको संख्या पनि वृद्धि हुन्छ । तर, यसका लागि सरकारको सोचमा परिवर्तन आउन आवश्यक छ ।
कोदो सुक्खा सहन सक्ने बाली हो । यसको खेती समुद्र सतहबाट ५ सयदेखि २४ सय मीटर उचाइसम्म गर्न सकिन्छ । नेपालको पहाडी क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध छैन तर यस्तो ठाउँमा कोदाको खेती गर्न सकिन्छ । अहिले कोदाको पाउरोटीलगायत परिकारको माग पनि बढेको देखिन्छ । तर, धेरैलाई कोदाको परिकार बनाउने शीप छैन । कोदाको परिकार प्रवर्द्धनका लागि विभिन्न मेला तथा तालीम प्रदान गर्नुपर्छ । साथै, यसको उपभोगको फाइदाबारे पनि प्रशस्त प्रचार गरिनुपर्छ ।
कोदो घुसुवा बालीसमेत हो । अर्थात् कुनै बालीभित्र यसको खेती गर्न सकिन्छ । कोदाको उत्पादन वृद्धि गरी आम्दानी बढाउने हो भने सरकारले कोदाको महत्त्वलाई ग्रामीण स्तरसम्म बुझाउन आवश्यक छ । कोदो प्रकृतिको खाद्यान्नलाई प्रोत्साहन नगर्ने हो भने चामलले मात्रै खाद्यान्नको माग पूरा गर्न सक्दैन ।