काठमाडौं । उत्तर कोरियाले पनडुब्बीबाट प्रहार गरिने एउटा नयाँ प्रकारको बलिस्टिक क्षेप्यास्त्र सार्वजनिक गरेको छ । त्यहाँका सरकारी सञ्चारमाध्यमले ‘संसारकै सबैभन्दा शक्तिशाली अस्त्र’ भनेर वर्णन गरेका बीबीसीले जनाएको छ ।
सरकारी सञ्चारमाध्यमका अनुसार प्योङयाङमा सैनिक परेडका क्रममा थुप्रै क्षेप्यास्त्रहरू प्रदर्शन गरिएको र त्यसलाई सर्वोच्च नेता किम जोन उनले अवलोकन गरेका थिए ।
त्यसअघि एउटा विरल राजनीतिक बैठकमा नेता किमले संयुक्त राज्य अमेरिका उत्तर कोरियाको ‘प्रधान शत्रु’ भएको बताएका थिए ।
अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनको शपथ कार्यक्रमभन्दा केही दिनअघि उत्तर कोरियाले आफ्नो सैनिक सामर्थ्य प्रदर्शन गरेको छ । सैनिक परेड अवलोकन गरेका किमले मुस्कुराउँदै अभिवादन गरिरहेको तस्वीर सार्वजनिक भएको छ ।