काठमाडौं । यो साता धितोपत्र दोस्रो बजार स्थिर अवस्थामै रहेको छ । गत साताको तुलनामा यो साता समग्र बजार मापक नेप्से परिसूचक १ दशमलव ६७ अंकले मात्र घटेको छ । गत साताको अन्तिम कारोबार दिन १ हजार ८६० दशमलव २० विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन १ हजार ८५८ दशमलव ५३ विन्दुमा बन्द भएको हो ।
गत साता सम्हालिँदै अघि बढेको बजार यो साताको पहिलो कारोबार दिन ४७ दशमलव ७५ अंकले बढेको थियो । त्यसपछिको चार कारोबार दिन भने लगातार नेप्से परिसूचक घटेर बन्द भएको थियो । दोस्रो कारोबार दिन ११ दशमलव २३ अंकले घटेको बजार तेस्रो कारोबार दिन २ दशमलव १७ अंक, चौथो कारोबार दिन १७ दशमलव ९३ अंक र पाँचौं कारोबार दिन १८ दशमलव शून्य ६ अंकले घटेर बन्द भएको थियो ।
बजारले केही दिन गति लिए लगानीकर्ता आत्तिएर नाफा बुक गरिहाल्ने परिपाटीका कारण पछिल्लो कारोबार दिन बजार प्रभावित बनेको ब्रोकरहरू बताउँछन् । सूचीकृत कम्पनीहरूको शेयर मूल्य निकै कममा आइसकेको अवस्थामा यतिबेला लगानीकर्ताको उत्साह नै बजारका लागि सकारात्मक हुने तर्क ब्रोकरहरूको छ ।
१८ लाखभन्दा बढी दोस्रो बजारमा कारोबारका लागि लगानीकर्ता जोडिसकेको अवस्थामा ती लगानीकर्ता सक्रियरूपमा कारोबारमा सहभागी भए बजारका लागि सकारात्मक हुने ब्रोकरहरूको भनाइ छ । यतिबेला ब्याजदर घटेको र लगानीयोग्य पूँजी पर्याप्त रहेकाले लगानीकर्ताको सक्रियता नै बजारको प्रमुख आवश्यकता रहेको ब्रोकरहरूले धारणा राखेका छन् ।
यो साता ठूला कम्पनीहरूको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स गत साताको तुलनामा शून्य दशमलव ९० अंकले घटेको छ । यो साता कारोबार रकम र कित्तामा भने वृद्धि देखिएको छ ।
गत साता ४ अर्ब ४८ करोड ५२ लाख रुपैयाँभन्दा बढीको १ करोड ५६ लाख २८ हजार ४६२ कित्ता धितोपत्र कारोबार भएकोमा यो साता ७ अर्ब ६० करोड ६९ लाख रुपैयाँभन्दा बढीको २ करोड ६७ लाख ७२ हजार ३९२ कित्ता धितोपत्र कारोबार भएको छ ।
गत साताको तुलनामा यो साता कारोबार रकम ३ अर्ब १२ करोड १६ लाख रुपैयाँभन्दा बढी र कारोबार कित्ता १ करोड ११ लाख ४३ हजार ९३० बढी भएको हो ।
यो साता औसत कारोबार रकम र कित्ता पनि बढेको छ । यो साता औसतमा १ अर्ब ५२ करोड १३ लाख रुपैयाँभन्दा बढीको ५३ लाख ५४ हजार ४७८ कित्ता धितोपत्र कारोबार भएको छ । गत साता भने औसतमा १ अर्ब १२ करोड १३ लाख रुपैयाँभन्दा बढीको ३९ लाख ७ हजार ११६ कित्ता धितोपत्र कारोबार भएको थियो । गत साताको तुलनामा यो साता औसत कारोबार रकम ४० करोड रुपैयाँभन्दा बढी र औसत कारोबार कित्ता १४ लाख ४७ हजार कित्ता बढी भएको हो ।
सामान्य अंकले घटेको यो साताको बजारबाट लगानीकर्ताको सम्पत्ति मूल्य अर्थात् कुल बजार पूँजीकरण २ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीले घटेको छ । गत साताको अन्तिम कारोबार दिन २८ खर्ब ६८ अर्ब १२ करोड रुपैयाँभन्दा बढी रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन २८ खर्ब ६५ अर्ब ५४ करोड रुपैयाँभन्दा बढी कायम भएको हो ।
स्रोत : नेपाल स्टक एक्सचेन्ज ।
सबैभन्दा बढी घट्नेमा बैंकिङ समूह
यो साता तीन समूहगत परिसूचकहरू घटेका छन् । विकास बैंक समूहको परिसूचक स्थिर रहँदा लघुवित्तको शून्य दशमलव २४ प्रतिशत, जलविद्युतको शून्य दशमलव ७७ प्रतिशत र बैंकिङ समूहको १ दशमलव २० प्रतिशत घटेको हो ।
परिसूचक घटेको आधारमा यो साता बैंकिङ समूहका लगानीकर्ताले सर्वाधिक गुमाएको देखिन्छ । यो साता होटल तथा पर्यटन समूहको परिसूचक भने सर्वाधिक २ दशमलव ७२ प्रतिशत बढेको छ ।
त्यस्तै म्युचुअल फण्ड समूहको सर्वाधिक दोसो १ दशमलव ७८ प्रतिशत बढेको छ भने व्यापारिकको १ दशमलव ५० प्रतिशत, अन्यको १ दशमलव १४ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ८८ प्रतिशत, लगानीको पनि शून्य दशमलव ८८ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ८४ प्रतिशत, वित्तको शून्य दशमलव ४८ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव शून्य ३ प्रतिशत परिसूचक बढेको छ ।
स्रोत : नेपाल स्टक एक्सचेन्ज ।