२०७८ साल भदौ १६-१९ सम्म नेपाली काँग्रेसको महाधिवेशन हुँदै छ । महाधिवेशनको समाचारले नेपाली काँग्रेसका नेता कार्यकर्तामा चहलपहल ल्याएको छ । गौरवमय इतिहास, जिम्मेवार वर्तमान र उज्यालो सुनिश्चित भविष्यको पर्यायवाची बनेको नेपाली काँग्रेस राष्ट्रियता, लोकतन्त्र र समाजवादका लागि दशकौँदेखि अनवरत सङ्घर्ष गर्दै आएको । युग पुरुष वीपी कोइरालाको विचार र संस्कारको जगमा समुन्नत नेपाल निर्माणका लागि दृढ अठोट राख्ने नेपाली काँग्रेस पार्टी, पार्टी मात्र नभएर एउटा चिर कालीन आन्दोलन हो, इतिहास हो । तर, गत स्थानीय निर्वाचन र संसदीय निर्वाचनमा कतै नेकपा माओवादीसँग, कतै राप्रपासँग त कतै मधेसवादी दलसँगको गरेको साँठगाँठले पार्टीलाई जिताएन, हरायो मात्र । कति ठाउँमा त काँग्रेस पार्टीका कार्यकर्ता र समर्थकले पटक पटक रुखमा भोट हाल्नै पाएनन् । परिणाम, देशको राजनीतिक वृत्तमा काँग्रेसलाई सशक्त राजनीतिक दलको रूपमा खडा हुन र काम गर्न बाधा पुर्यायो । भविष्यमा यस्तो साँठगाँठ गर्नु परे परिणाममुखी हुनुपर्दछ भन्ने सर्वत्र माग छ ।