फागुन ६, काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा शुक्रवार काठमाडौंमा सम्पन्न भएको छ । कोभिड जोखिमका बीच कम्पनीले भर्चुअल माध्यमलाई समेत जोडेर सभा सम्पन्न गरेको हो ।
कम्पनीले सभाबाट गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गरेको छ । २०७७ साल साउन ४ गते सर्वसाधारणमा आईपीओ जारी गरेको कम्पनीले गत वर्षनै ५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव अघि सारेको थियो ।
त्यस अवधिमा नियमक निकाय बीमा समितिको निर्देशनमा स्थगित गरेको उक्त प्रस्ताव हालसम्म पनि अन्योल रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब रहेको छ ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोषमा रू. ११ करोड ८० लाख र बीमा कोषमा रू. १३ करोड ५३ लाख रहेको छ । यस अवधिसम्म कम्पनीले रू. ७९ करोड २१ लाख कुल बीमाशुल्क आर्जन गरेको छ भने रू. ३५ करोड ८ लाख कुल दाबी भुक्तानी गरेको छ ।